सोल- दक्षिण कोरिया र उत्तर कोरियाले छुट्टिएर बस्न बाध्य भएका कोरियालीहरूलाई पुनः गराउन दुवै देशका अधिकारी तयार भएका छन्। आगामी अगस्टमा उनीहरूबीच पुनर्मिलन गराउने सहमति शुक्रबार भएको हो।
कोरिया युद्धपछि छुट्टिएका आफन्तहरूको पुनर्मिलनका लागि गत सन् २०१५ देखि नै विभिन्न प्रयास हुदै आएको थियो। सन् १९५० देखि १९५३ सम्म भएको दुई कोरियाको युद्धपछि लाखौं कोरियालीका आफन्तहरु छुट्टाछुट्टै बस्न बाध्य भएका थिए। उनीहरुलाई आवतजावत गर्नदेखि कुनै सञ्चार सम्पर्क गर्न समेत दिइएको थिएन।
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनबीच गत अप्रिलमा भएको शिखर वार्तापछि पुनर्मिलनको वातावरण बन्न थालेको हो। दुई कोरियाका उच्च अधिकारीबी शुक्रबार उत्तर कोरियाको माउन्ट कुमगाङ रिसोर्टमा आयोजित बैठकमा औपचारिक समझदारी भएको हो ।
दक्षिण कोरियाको एकता मन्त्रालयले आउँदो अगस्ट २० देखि २६ तारिखसम्म दुवै तर्फबाट पुनर्मिलन गराउनेहरूको छनौट गरिने जनाएको छ।
दक्षिण कोरियाको रेडक्रस कार्यालयले ५७ हजार जनालाई पुनर्मिलन गराउन आवश्यक रहेको जनाएको छ। उनीहरूमध्ये अधिकांश ७० वर्षभन्दा बढी उमेरका रहेका छन्।रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।