हेटौँडा– नेपाली कांग्रेसको ‘मिनी महासमिति’ बैठक अर्थात् जिल्ला सभापतिहरुको भेला मंगलबारदेखि प्रदेश ३ को राजधानी हेटौँडामा जारी छ। आजदेखि जिल्ला सभापतिहरुले विधान संशोधनका विषयमा आफ्ना धारणाहरु प्रस्तुत गर्दैछन्। भेलाले दिएको सुझावका आधारमा महासमिति बैठकले विधानलाई अनुमोदन गर्नेछ।
‘शिथिल’ कांग्रेसको लागि हेटौंडा भेलाले कस्तो सन्देश दिनेछ? त्यसले कांग्रेसको भविष्य निर्धारण गर्ला? कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेलामा उपस्थित केही सभापतिहरुको भेलाप्रतिको अपेक्षाः
'संगठन व्यवस्थित र थप एकत्रित हुने अपेक्षा छ'
–सुरेन्द्रराज आचार्य, कपिलवस्तु जिल्ला सभापति
नेपाली कांग्रेसलाई ऊर्जा दिनको लागि नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेला भइरहेको छ। यस भेलापछि नेपाली कांग्रेसको संगठन व्यवस्थित र थप एकत्रित हुने अपेक्षा गरेको छु।
आगामी दिनमा सत्ता बाहिर रहेको कांग्रेसलाई कसरी प्रतिस्पर्धी बनाउने भन्ने चुनौती हामीमाझ छ। मुलुक संघीयतामा गइसकेको छ। हाम्रो संगठन भने संघीयताको ढाँचा अनुरूपको हुन सकेको छैन। विधानको अभावमा संघीयता अनुसार कमिटी निर्माण हुन सकेको छैन। अहिलेको सम्मेलनमा विधान संशोधनको विषयमा व्यापक कुराहरू उठाउँछौँ। केन्द्रले नयाँ संरचना अनुसार संगठन निर्माणको प्रक्रिया छिटो सुरू गरोस् भन्ने हामी जिल्ला सभापतिहरुको चाहना हो। पार्टीलाई मजबूत र संगठित बनाएर अघि बढाउनका लागि हामी आ–आफ्नो राय व्यक्त गर्छौं।
यसबाहेक पार्टीका केही आन्तरिक कुराहरु पनि छन्। पार्टीका केही कुरा सुधार गर्नुपर्ने राय पनि राख्नेछौं। केन्द्रलाई सुझाव, सल्लाह दिएर पार्टीलाई उचाइमा पुर्याउन भेला सहयोगी बन्नेछ।
'पार्टी सदस्यता तिन प्रकारले वितरण गरिनुपर्छ'
–हरी बोहरा, कञ्चनपुर जिल्ला सभापति
नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला केन्द्रीय नेतृत्वको आलोचना भइरहेको समयमा चलिरहेको छ। भेलापछि कांग्रेसका कार्यकर्तालाई देशभरी नै कांग्रेस जागेको सन्देश जानेछ। यसै भेलाबाट कांग्रेस भित्र कुनै पनि विवाद छैन भन्ने सकरात्मक सन्देश पनि प्रवाह हुनेछ।
विशेषगरि कांग्रेसको क्रियाशील सदस्य र विभागहरुको बारेमा छलफल गरिने छ। महाधिवेशनमा चुनाव लड्नको लागि बनेको विधानलाई संशोधन गरेर नेपाली कांग्रेसको असल कार्यकर्ताले क्रियाशिल सदस्यता पाउनुपर्ने गरी विधान संशोधन गर्नुपर्ने छ।
कञ्चनपुर कांग्रेसको तर्फबाट मेरो धारणा के छ भने सदस्यता तीन किसिमको हुनुपर्छ भन्ने छ। साधारण, क्रियाशिल र विशेष सदस्यता हुनुपर्छ। विशेष सदस्यले मात्रै महाधिवेशनमा भाग लिन पाओस् भन्ने कञ्चनपुर कांग्रेसको भनाइ छ।
'नेतृत्व तह पनि क्षेत्रबाट निर्वाचित भएर महाधिवेसन प्रतिनीधि बन्नुपर्छ'
–किरण कोइराला, बाँके सभापति
हाम्रो मुल उद्देश्य के छ भने पार्टीलाई ‘करेक्सन’ गर्नुपर्यो। पार्टी पुरानो परम्परामा हिँड्यो। नेतृत्व वर्गलाई हामी जे गर्दैछौँ त्यही ठीक हो भन्ने लागेको छ। तल्लो तह देखिको शक्तिको कारणले कुर्चीमा बस्न पाएको नेतृत्वले बिर्सिएको छ।
सबै जिल्ला सभापतिहरूले के सोचिरहेका छौं भने नेतृत्व तल्लो तहदेखि नै क्षेत्रीय प्रतिनिधि भएर आउनुपर्छ। ‘ग्रास रुट’मा नगइकन सिधै महाधिवेशन प्रतिनिधि बन्ने काम रोकिनुपर्छ। क्षेत्रीय प्रतिनिधि भएर छनोट भए मात्रै तलको संगठनप्रति नेतृत्वको ख्याल हुन्छ।
पार्टीमा प्रशिक्षण चलाउनु पर्छ। सातै प्रदेशबाट एउटै धारणा बनाई भेलामा पेश गर्ने हाम्रो सोच छ। सातै प्रदेशको एउटै धारणा बन्यो भने केन्द्रले तदअनुरूप विधान बनाउन बाध्य हुन्छ।
हामीले प्रस्तुत गरेको धारणा लागू नहोला की भन्ने चिन्ता पनि छ। भेलाको लागि भेला भयो भने सभापतिहरुको भेलाको प्रभावकारिता हुँदैन। कार्यकर्तालाई के आशा छ भने भेलाले ठोस निर्णय गरि काम गर्न ऊर्जा आओस्। अहिले त सबै सेलाएका छन्। फर्कने बेलामा ऊर्जा सहित फर्कन्छौं भन्ने आशा छ। केन्द्रीय नेताहरुको भरोसा अहिले टुटेको छ।
'नेतृत्वले पार्टी सखाप पारेको कार्यकर्ताको चिन्ता छ'
–लिला बोखिम, ताप्लेजुङ, सभापति
कार्यकर्तामा निराशा छ। पार्टी नेतृत्वले नेपाली कांग्रेसलाई सिध्याउन लागेको कार्यकर्ताले चिन्ता व्यक्त गर्छन्। सभापतिहरुको भेलामा आउनु अघि स्थानीय तहका ४ गाउँपालिका पुगेको थिएँ। संघीयता आइसकेपछि स्थानीय कमिटीहरु नै छैनन्।
हेटौंडाबाट फर्किंदा नेपाली कांग्रेस बलियो भएको सन्देश लिएर जाने अपेक्षा गरेकी छु। गुट–उपगुटले कांग्रेस कमजोर हुँदै गएको छ। संघीयता अनुसारको विधानले पार्टीलाई मजबूत बनाउने सहभागी सबै सभापतिहरुको विश्वास छ।
'जिल्ला सभापतिहरुको भूमिकालाई कमजोर पार्न हुँदैन'
–जगदिश्वर नरसिंह केसी, नुवाकोट सभापति
हाम्रो सिद्धान्त ठिक भएपनि आचरण जनमुखी भएन। आम मतदाता सामु बढीभन्दा बढी जोडिनुपर्ने पार्टी संगठनको संरचना बन्नुपर्नेमा जनतासँग टाढिने अवस्था बनेको छ। नेपाली कांग्रेसले आगामी पाँच वर्षमा गर्ने सामाजिक आन्दोलनका कार्यक्रम पहिचान गर्नुपर्छ। कांग्रेसमा पुनर्जागरण अभियानको आवश्यकता रहेको छ। पार्टीको अवाच्छित गुट–उपगुटलाई रोक्नुपर्नेमा कतिपय सभापतिहरु नै गुट सञ्चालन गरिरहनु भएको छ।
विधान संसोधन, गुटको अन्त्य, निर्वाचनको समिक्षामा सभापतिहरुको भेला केन्द्रीत हुने छ। टिकट वितरणका समयमा सभापतिहरुको भूमिकालाई नजरअन्दाज गरिएको थियो। त्यसबारेमा पनि धारणाहरु आउनेछन्। राष्ट्रिय भेलापश्चात् बलियो र जुझारु कांग्रेस बनेर फर्कनेछौँ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।