समूह ‘ए’
इजिप्ट भर्सेस रसिया
समय – असार ५, राति ११ः४५ बजे
काठमाडौं– रसिया र इजिप्ट दोस्रो चरणको पहिलो खेलमा आज राति प्रतिस्पर्धा गर्दैछन्। समूह ‘ए’ को पहिलो खेलमा आयोजक रसियाले साउदी अरेबियामाथि ५–० को फराकिलो अन्तरले जित हात पारेको थियो।
यता इजिप्ट भने उरुग्वेसँग १–० गोलले पराजित भएको थियो। रसियाका लागि इजिप्ट विरुद्धको खेल दोस्रो चरणमा पुग्न निर्णायक बन्न सक्छ। अन्तिम खेलमा बलियो मानिएको उरुग्वेसँग भिड्नुअघि इजिप्टमाथि जित हात पारे रसियाको दोस्रो चरणमा स्थान पक्का जस्तै बन्नेछ।
यता इजिप्टका लागि रसियासँग ‘गर या मर’को स्थिति हुनेछ। हारले इजिप्टको यात्रा समूह चरणमै समाप्त हुन सक्छ। चोटबाट मुक्त हुँदै फरवार्ड मोहमद सलाह मैदान उत्रिने भएकाले इजिप्टले धेरै आशा गर्न सक्छ।
उरुग्वे विरुद्धको खेलमा इजिप्टले राम्रो खेलेको थियो। अन्तिम समयमा गोल खाँदा हार बेहोर्न बाध्य इजिप्ट टिममा सलाहको आगमनले सकारात्मक प्रभाव पार्नेछ।
रसियाले पहिलो खेलमा जितको अपेक्षा गरेपनि फराकिलो अन्तरको नजिताको आशा भने गरेको थिएन। तर पनि रसियन खेलाडीले आराम गरेका छैनन्। किनकी साउदी विरुद्ध जित हात पार्नु र इजिप्ट विरुद्ध खेल्नु फरक भएको रसियन खेलाडीले बुझेका छन्। अर्कोतर्फ इजिप्टका सलाहलाई रोक्न आयोजक तयार हुनु पर्ने देखिन्छ।
उरुग्वेसँग पराजित भएपछि इजिप्टको अब एउटै विकल्प बाँकी छ, रसियालाई हराएर अंक हासिल गर्ने। त्यसका लागि इजिप्टले सबै तयारी गरिसकेको छ भने प्रशिक्षकले आयोजकलाई दबाव दिन सक्ने टिम छनोट गर्नेछन्।
सम्भावित टिम
रसियाः इगोर अकिनफीभ, मारियो फर्नान्डेज, इल्या कुटेपोभ, सेर्जी इगनासेभिच, युरो जिर्कोभ, रवम जोब्निन, युरी गाजिन्की, डलेर कुजिइएभ, अलेक्जेन्डर गोलोभिन, डेनिस चेरीसेभ र फगोर स्मोलोभ।
इजिप्टः मोहमद इल सेनावे, अलि गाबर, अमेद हेगाजी, अहमेद फाथी, मोहमद अब्दे, टारेक हमेद, मोहमद इल नेरी, मोहम ट्रेजेगुइट, अब्दुला सइद, मार्वान मोहसेन र मोहमद सलाह।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।