विराटनगर– मोरङस्थित अरिहन्त कार्टुन फ्याक्ट्रीको गोदाममा आगलागी भएको छ।
मोरङको बुढीगंगा गाउँपालिका–३ मा रहेको अरिहन्त कार्टुन फ्याक्ट्रीको एक गोदाममा गएराति करिब १० बजेबाट सल्किएको आगो आज बिहान करिब ६ बजेतिर नियन्त्रणमा लिइएको हो।
आगलागीबाट गोदाममा राखिएको मेसिन, कच्चा पदार्थ र तयारी सामानहरु जलेर नष्ट भएको फ्याक्ट्रीका निर्देशक पंकजकुमार लुनियाले जानकारी दिए। फ्याक्ट्री हंशराज जैन, पारश लुनिया र गिरिस लुनियाको स्वामित्वमा रहेको थियो। सो फ्याक्ट्रीको गोदाममा लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो।
आगो नियन्त्रणका लागि पूर्वाञ्चलस्थित दमक, धरान, इटहरी, विराटनगरलगायतका दमकल प्रयोग गरिएको थियो।
विद्युत चुहावट भई आगलागी भएको हुनसक्ने आशंका गरिएको छ। आगो फैलिन नदिन उच्च सतर्कता अपनाइएको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए। उनले फ्याक्ट्रीमा आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकि रहेको बताए।
आगलागीबाट सो फ्याक्ट्रीको ६ वटा गोदाम प्रभावित भएको छ। फ्याक्ट्रीबाट चाउचाउ, वियर, जुसलगायत प्याकेजिङका कार्टूनहरु उत्पादन हुने गर्दछ। आगलागीबाट फ्याक्ट्री परिसरमै रहेको महालक्ष्मी वायर एण्ड केबल इन्डष्ट्रिज भने सुरक्षित रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।