काठमाडौं– ऐतिहासिक तथा पुरातात्विक महत्वको काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाले ५० लाख अनुदान सहायता उपलब्ध गराएको छ।
महानगरका मेयर विद्यासुन्दर शाक्यले मंगलबार एक कार्यक्रममा काष्ठमण्डप पुनर्निर्माण समितिलाई अनुदान सहायता स्वरुप ५० लाखको चेक हस्तान्तरण गरे। सो क्रममा मेयर शाक्यले काष्ठमण्डप पुनर्निर्माणको काममा कहीँ कतै पनि अवरोध आउन नहुनेतर्फ सचेत गराए। उनले २ वर्षभित्रै पुनर्निर्माणको काम सक्न पनि समितिको ध्यानाकर्षण गराए।
महानगरको गत जेठ २४ गते बसेको बैठकले काष्ठमण्डप पुनर्निर्माणका लागि ५० लाख अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको थियो।
काष्ठमण्डपलाई पुरानै शैली र संरचना अनुसार निर्माण गर्ने समझदारी गरिएको छ। समितिले काठमाडौं महानगरपालिकासँग भएको सहमति अनुसार काष्ठमण्डपको पुनर्निर्माण कार्य ३ वर्षभित्र सम्पन्न गर्नुपर्नेछ।
समितिले काष्ठमण्डपको पुनर्निर्माणका लागि आर्थिक उपसमितिका साथै विज्ञहरु र सल्लाहकार समेत रहेको विभिन्न उपसमिति गठन गरी आफ्नो कामलाई यसअघि नै अगाडि बढाइसकेको छ। स्थानीयको सहभागितामा पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको काष्ठमण्डपको पुनर्निर्माण तोकिएको समयअघि नै पूरा गर्ने प्रतिबद्धता समितिले व्यक्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।