काठमाडौं- नेपाली कांग्रेसका संस्थापक तथा पहिलो नेपाली फिल्म 'राजा हरिश्चन्द्रका' निर्देशक डिबी परिहार (परियार) को संस्मरणमा आधारित पुस्तक 'फ्रम इन्डियाज फ्रिडम टु नेपाल्स डेमोक्रेसी' सार्वजनिक भएको छ।
अध्येता शंकर तिवारीले सम्पादन गरेको पुस्तकको नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, कांग्रेस केन्द्रीय सदस्य जीवन परियार, फिल्म निर्माता/निर्देशक यादव खरेल लगायतले शनिबार काठमाडौंमा आयोजित पुस्तक प्रदर्शनीस्थलमा विमोचन गरे।
पुस्तकमाथि टिप्पणी गर्दै कांग्रेस उपसभापति निधिले कांग्रेसको संस्थापकको हिसाबले पनि नेपाली कांग्रेसका साथीहरुले डिबी परियारलाई 'स्यालुट' गर्नुपर्ने बताए। 'कांग्रेस स्थापनापछि बनारस, कलकत्ता र दिल्लीमा च्याप्टर बनेको थियो। बनारसमा कृष्णप्रसाद भट्टराई हुनुहुन्थ्यो, कलकत्तामा डिबी परियार,' निधिले भने, 'अधिनायकवादप्रति र ब्रिटिस साम्राज्यवादप्रति विद्रोह गर्नुपर्छ र नेपाल-भारतले नै आजादी पाउनुपर्छ भन्ने विचारमा उहाँ सधैं अग्रसर हुनुहुन्थ्यो।'
सुवासचन्द्र बोस नजरबन्दमा छँदा ६ वर्षको उमेरमै रोटी पुर्याउने र चिठी आदानप्रदान गर्ने परियारको आँटी स्वाभावबारे पुस्तकमा चर्चा गरिएको उनले बताए। 'स्वतन्त्रताका लागि सुवासचन्द्र र गान्धीको विचारसँग जोडिनुपर्छ भन्ने चेत बाल्यकालमै विकसित भएको रहेछ,' उनले भने। नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेसकै संस्थापकका रुपमा चिनिएका परियारले नेपाल र भारतमा बिताएको राजनीतिक, सामाजिक जीवनका धेरै तथ्य पुस्तकले उजागर गरेको भन्दै उनले सम्पादक तिवारीको प्रशंसा गरे।
लेखक तथा पत्रकारका रुपमा रिपोर्टिङ सम्पादन गर्दा पनि विद्वानहरुले सम्पादक पद नदिएको प्रसंग र भारतीय लेखक भोला चटर्जीलाई आफ्नो गुनासोसहित लेखेको लामो चिठी समावेश गरेकाले पुस्तक तथ्यपरक बन्न गएको निधिले बताए। 'यो किताब नआएको भए परियारका बारे यति धेरै जानकारी पाउने थिइन,' उनले भने, 'भावी पुस्तालाई शंकरजीले महत्वपूर्ण सम्पत्ति दिनुभएको छ।'
अहिले पब्लिक पोलिसी पाठशालाले अंग्रेजीमा छापेको पुस्तकलाई नेपालीमा अनुवाद गर्न पनि निधिले आग्रह गरे।
यस्तै, फिल्म निर्माता/निर्देशक यादव खरेलले फिल्म 'राजा हरिश्चन्द्र'बारेको बहस र विवादलाई ठूलो रुपमा लिन नहुने भन्दै यही नै पहिलो नेपाली फिल्म भएको प्रस्ट पारे। 'पहिलो नेपाली फिल्म आमा भनेर धेरैले भन्ने गरेका छन्। तर राजा हरिश्चन्द्रभन्दा आमा धेरै पछि बनेको हो,' उनले भने, 'लक्ष्मीनाथ शर्माको किताबले पनि यसलाई पुष्टि गर्छ।'
तत्कालीन शाही नेपाली चलचित्र संस्थानको आफू अध्यक्ष हुँदा राजा हरिश्चन्द्र फिल्मबारे अध्ययन गर्दा डब गरेको नपाएको उनले बताए। 'यसको पोस्टरमा डिबीको नाम नहुँदा कतिपयले उनको फिल्म नभएको र पछि नेपालीमा डबिङ गरेको पनि भन्ने गरेका छन् तर त्यस्तो होइन।'
मर्न लागेको इतिहास खोतलेर तिवारीले प्रशंसनीय काम गरेको भन्दै खरेलले थपे, 'जसरी भानुभक्तलाई मोतीरामले चिनाएका थिए, डिबी परियारलाई शंकर तिवारीले उसैगरी सबैको सामु चिनाउने काम गर्नुभएको छ।'
अर्का वक्ता कांग्रेस केन्द्रीय सदस्य जीवन परियारले २००४ सालमै कलकत्ताबाट काठमाडौं आएर परियारले कांग्रेसको पर्चा छाडेको प्रसंगबाट पनि राणाशासन हटाउन उनी कति सक्रिय थिए भनेर पुष्टि हुने बताए। सम्पादकले धेरै खोज अनुसन्धाबाट परियारबारे नयाँ तथ्यहरु प्रस्तुत गरेको उनको भनाइ थियो।
गान्धी दर्शन अध्ययनका लागि भारत गएका बेला भोला चटर्जीलाई पढेपछि नै डिबी परियारसम्म पुगेको तिवारीले रचनागर्भ सुनाए। 'बिपी कि गणेशमान पहिले काठमाडौं जाने भनेर छलफल हुँदा २००४ सालमा १४ वर्षको उमेरमा डिबी परियार आउनुभयो,' उनले भने, 'सानैदेखि उहाँ क्रान्तिकारी स्वाभावका हुनुहुँदो रहेछ भन्ने यसले पनि बताउँछ।' देवव्रत परियार पूरा नाम रहेका उनले आफ्नो थर परिवर्तन गरेर कतिपय ठाउँमा डिबी परिहार पनि लेखेका छन्।
आफूले २००४ सालदेखि उनका समकालीन साथीहरुसँग कुरा गरेर सामग्री तयार गरेको भन्दै तिवारीले २०४१ फागुनमा सुरु गरी २०४२ बैसाखमा पूरा गरेर चटर्जीलाई पठाएको लामो चिठीबाट पनि त्यसबेलाको निरासा, व्यावहारिक समस्यालाई चित्रण गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।