एजेन्सी– बलिउड सुपरस्टार सलमान खान अब फिल्म वितरकका रुपमा समेत काम गर्ने भएका छन्। सलमानले फिल्म रेस ३ को प्रमोसनल अन्तर्वार्तामा यस्तो खुलासा गरेका हुन्।
सन् २०१७ मा सलमानको फिल्म ट्युबलाइट फ्लप बनेको थियो। फिल्म फ्लप बनेपछि फिल्मको वितरणको जिम्मा लिएका वितरकहरुले सलमान समक्ष लगानी रकम फिर्ता मागेका थिए। उक्त समय सलमानले पनि वितरकहरुलाई ५० प्रतिशत रकम फिर्ता दिलाएका थिए।
यही कुराको स्मरण गर्दै सलमानले आफू पनि वितरक बन्न लागेको खुलासा गरेका हुन्। फिल्म रेस ३ मा आफ्नै लगानी रहेको र आफ्नो लगानी भएको फिल्मको वितरण कार्य पनि किन आफै नगर्ने भन्ने सोचले वितरणमा हात हाल्न लागेको बताएका छन्।
उनले आफ्नो फिल्म फ्लप हुँदा घरसम्म रकम फिर्ता माग्न आउने वितरकहरुसँग दोहोर्याएर काम नगर्ने समेत बताएका छन्।
उनले उक्त वितरकहरुप्रति आक्रोश व्यक्त गर्दै भनेका छन्, ‘अन्य १५ फिल्महरुले उत्कृष्ट व्यापार गरे र एक फिल्म फ्लप भयो, तर एउटा फिल्म फ्लप हुँदैमा घरैसम्म पैसा फिर्ता माग्न आउने। व्यापारमा यस्तो पनि तरिका हुन्छ? त्यसैले मैले आफै वितरण गरेँ भने फिल्म फ्लप नै भए पनि पैसा फिर्ता दिनु पर्दैन।’
उनको फिल्म रेस ३ यही जुन १५ बाट प्रदर्शनमा आउँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।