नुवाकोट- नुवाकोटमा जारी प्रथम नुवाकोट गोल्डकप प्रतियोगिताअन्तर्गत आइतबारको खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लबलाई शून्यका विरुद्ध एक गोलअन्तरले पराजित गर्दै पोखरा सेमिफाइनलमा प्रवेश गरेको छ।
नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको खेल मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा पोखराले बाजी मारेको हो। पोखराका लागि खेलको तेस्रो मिनेटमा मानबहादुर तामाङले गरेको गोल नै जितका लागि निर्णायक रह्यो।
दोस्रो हाफमा निकै राम्रो खेलेको सशस्त्रले पोखरालाई दबाबमा राखे पनि गोल गर्न सकेन।
खेलमा निर्णायक गोल गरेका तामाङ म्यान अफ दि म्याच घोषित भए। उनले साकुरा नेपालका तर्फबाट १० हजार रुपैयाँ हात पारे। पोखराले अब फाइनल प्रवेशका लागि नेपाल पुलिस क्लब र रुपन्देही ११ बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
जिल्ला खेलकुद विकास समिति नुवाकोट र नुवाकोट फुटवल संघले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगितामा प्रथम हुने टोलीलाई ५ लाख रुपैयाँ र दोस्रो हुने टोलीलाई ३ लाख रुपैयाँ प्रदान गरिने नुवाकोट फुटबल संघले जनाएको छ। प्रतियोगितामा १० टिमको सहभागिता छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।