बुटवल– रुपन्देहीको तिलोत्तमा नगरपालिका आधुनिक गौशाला व्यवस्थापनमा जुटेको छ। आधुनिक गौशाला निर्माण तथा व्यवस्थापनका लागि भन्दै नगरपालिकाले आइतबार सरोकारवालाहरुसँग छलफल गरेको हो।
छलफलमा गौशालाको व्यवस्थापनमा अन्तर्राष्ट्रिय कृष्ण भावना मृत संघ(इस्कोन) सँग सहकार्य गर्न सरोकारवालाहरु सकारात्मक देखिएका छन्। छलफलमा सहभागी राजनीतिक दलका प्रतिनिधि, गौशाला व्यवस्थापन समिति र वन उपभोक्ता समूहका पदाधिकारीहरु गौशाला व्यवस्थापनको जिम्मा इस्कोनलाई दिन सकारात्मक भएका हुन्।
गौशालालाई अहिलेकै अवस्थामा धेरै समय चलाउन नसकिने निश्कर्ष निकाल्दै छलफलका सहभागीहरुले इस्कोनसँगको सहकार्यका लागि आवश्यक प्रक्रिया अघि बढाउन नगरपालिकालाई सुझाव दिएका छन्। इस्कोनले गौशाला व्यवस्थापनसँगै वैदिक शिक्षा, स्वास्थ्यका कार्यक्रमहरु समेत सँगसँगै सञ्चालन गर्ने प्रस्ताव अघि सार्दै थप जग्गा माग गरेको छ।
इस्कोनले शुक्रबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधि, राजनीतिक दल, गौशाला व्यवस्थापन समिति, वन उपभोक्ता समूहलगायतका सरोकारवाला संघ–संस्थाका प्रमुखहरुलाई गौशालाको आधुनिक व्यवस्थापनसँगै गर्न चाहेको कार्यक्रमका बारेमा जानकारी गराएको थियो। इस्कोनको प्रस्ताव सकारात्मक लागेपछि नगरपालिकाले सरोकारवालाहरुसँग छलफल गरेको हो।
आइतबारको छलफलमा नगरप्रमुख वासुदेव घिमिरे, उप–प्रमुख जागेश्वरी चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले इस्कोनले राखेको प्रस्तावका बारेमा सरोकारवालाहरुलाई जानकारी गराएका थिए। छलफलपश्चात् गौशाला व्यवस्थापन समिति र वन उपभोक्ता समूहको नेतृत्वले आ–आफ्नो कार्यसमितिमा यसबारे आवश्यक निर्णय गरी पुनः अर्को चरणको छलफलमा जुट्ने बताएका छन्।
तिलोत्तमा गौशाला शंकरनगर र करहिया सामुदायिक वन क्षेत्रमा पर्दछ। ४ बिगाहा क्षेत्रफल रहको गौशालामा हाल १ सय ६० गाई÷गोरु रहेका छन्। नियमित आर्थिक स्रोत अभावका कारण गौशाला व्यवस्थित हुन सकेको छैन भने गौशाला बाहिर रहेका छाडा चौपायाको पनि पूर्ण व्यवस्थापन हुन सकेको छैन।
छलफलमा सहभागी गौशाला व्यवस्थापन समितिका अध्यक्ष यमबहादुर खत्रीले आधुनिक र व्यवस्थित रुपमा गौशालालाई अघि बढाउने जिम्मेवारी इस्कोनलाई दिन समिति तयार रहेको बताए।
नेपाल कम्युनिष्ट पार्टीका नेता यज्ञ गैरेले सामुदाियक वनको अवस्था नबिग्रिने र जनताको अधिकतम हितमा हुनेगरी गौशाला सञ्चालनको जिम्मा इस्कोनलाई दिन सकिने तर्क गरे। अर्का नेता लक्ष्मण खनालले गौशाला व्यवस्थापनको काम पनि स्थानीय बासिन्दाकै हितका लागि हुने भएकाले वनको जग्गा दिने कुरामा अलमल गर्न नहुने बताए।
यस्तै नेपाली कांग्रेसका नगरसभापति हरिलाल पाण्डेले गौशाला बन्द नगर्ने हो भने सञ्चालनको जिम्मा इस्कोनलाई दिइनुको विकल्प नरहेको प्रष्टाए।
करहिया सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष खेमप्रसाद गौतमले गौशालाको आधुनिक व्यवस्थापनका लागि आवश्यक थप जग्गा दुवै वनबाट बराबर छुट्याइनु पर्नेमा जोड दिए। शंकरनगर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष राम गिरीले वनको भौगोलिक अवस्था हेरेर यस सम्बन्धमा निर्णय गर्न सकिने उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।