काठमाडौ- लामो समयदेखि रेडियो पत्रकारितामा संलग्न पत्रकार लक्ष्मी लम्सालको ‘नि हाउ! नमस्ते!’ बजारमा आएको छ।
पत्रकारद्वय तीर्थ कोइराला, पवन आचार्य र महिला अधिकारकर्मी अमृता लम्सालले पुस्तकको विमोचन गर्दै टिप्पणी गरेका थिए।
पुस्तकमा लेखकले चीन बसाइका क्रममा अनुभव गरेको चिनियाँ जीवनशैली, बद्लिँदो चीनको विकासक्रम, नेपाल–चीन सम्बन्धको इतिहास र भविष्यमा सम्बन्ध विस्तारका आयामबारे चर्चा गरेका छन्।
चीनले अघि सारेको ‘वन बेल्ट वन रोड’ अभियानबाट नेपाल लगायत विश्वलाई हुन सक्ने फाइदा, चिनियाँ रेलको विवेचना, नेपालप्रतिको चिनियाँ जनताको अवधारणा, चीनको गरिबी निवारणका सूत्र, शक्तिशाली बन्दै गइरहेका चीनका राष्ट्राध्यक्ष सी चिन फिङको पारिवारिक जीवनका बारेमा पनि लम्सालले उल्लेख गरेका छन्।
नेपाल–चीन सम्बन्ध युगौँ पुरानो हुनाका साथै अन्तर्देशीय सम्बन्ध जोड्नमा योगदान गरेका ऐतिहासिक पात्र मञ्जुश्री, स्रङ्गचन गम्पो, भृकुटी, अरनिको, चिनियाँ तथा नेपाली यात्री, नेपालका तत्कालीन राजाको चिनियाँ नेता माओत्सेतुङ, चाउएन लाइ, च्याङ च मिन लगायतको प्रसंग जोड्दै लेखकले ऐतिहासिक सम्बन्धलाई वर्तमान युगसम्म जोड्न खोजेका छन्।
६ वर्षदेखि चीनको राजधानी बेइजिङमा रहेर रेडियो पत्रकारिता गर्दै आएका लेखकले आफ्नो त्यहाँ बस्दाको अनुभव पुस्तकमा मिहिन ढंगले उतारेका छन्।
पुस्तकलाई बुलबुल पब्लिकेसनले निकालेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।