काठमाडौं-नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुमा कुनै लोभ नभएको बताएका छन्।
पार्टी एकीकरणपछि पार्टीका कार्यालय पनि व्यवस्थापनका लागि पेरिसडाँडास्थित माओवादी केन्द्रको पार्टी कार्यालय पुगेका प्रधानमन्त्री ओलीले आफूहरुले लोभका लागि कुनै काम नगर्ने बताए। 'देशले हामीलाई जुन अभिभारा दिएको छ, त्यो अभिभारा एकदम निष्ठाका साथ पूरा गर्छौं,' ओलीले भने, 'अब भूतपूर्वभन्दा माथि फोटो टाँसिने होइन।'
एकीकरणबारे गरिने अनेक प्रकारका टीका-टिप्पणीले कुनै अर्थ नलाग्ने उनले बताए।
ओलीले भने, 'अलिअघि सम्म कसरी एकता हुन्छ, यो सब कार्यकर्ता अलमल्याउने मेलो हो भन्नेहरुको हिजोदेखि अलि भाषा फेरिएको छ। हिजोदेखि प्रचण्ड र केपी ओली एकैठाउँ मिलेर बस्न सक्छन्? एकता त भयो तर टिकाउन सक्नुपर्यो नि? भन्न थालेका छन्।'
पेरिसडाँडाको अवलोकन गर्नुअघि दुवै अध्यक्ष र नेताहरुले धुम्बाराही स्थित एमालेको पार्टी कार्यालय अवलोकन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।