सुर्खेत- कर्णाली प्रिमियर लिग (केपिएल) टि–२० क्रिकेट प्रतियोगितामा धनगढी क्रिकेट क्लबले लगातार दोस्रो जित हात पारेको छ। आज भएको आफ्नो दोस्रो खेलमा धनगढीले रोयल राइजिङ क्लबलाई ४९ रनले पराजित गर्दै दोस्रो जित दर्ता गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले अलआउट हुँदै एक सय ६१ रन जोडेको थियो। उसका लागि ओपनर सुनिल धमलाले २५, विपीन रावलले २३, लोकेश बमले ३८ र कप्तान भुवन कार्कीले २६ रनको योगदान दिए। बलिङतर्फ रोयल राइजिङका विजय विष्टले ४ ओभरमा ३० रन खर्चेर महत्वपूर्ण ४ विकेट लिन सफल भए। त्यस्तै दिवान पुन र चन्द्र बिसीले समान २/२ तथा प्रकाश जैसीले एक विकेट लिए।
एक सय ६२ रनको लक्ष्य पछ्याएको रोयल राइजिङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय १२ रन मात्र बनाउन सक्यो। उसका लागि प्रकाश जैसीले सर्वाधिक ६२ रन बनाए। यो प्रतियोगिताको दोस्रो अर्धशतक हो। यसअघि मध्यपश्चिम क्रिकेट क्लबका सुवेन्दु पाण्डेले हिजो अर्धशतक पूरा गरेका थिए।
प्रकाशबाहेक अन्य ब्याटसम्यानले उल्लेख्य प्रदर्शन गर्न नसक्दा आफ्नो पहिलो खेलमा रोयल राइजिङ पराजित हुन पुग्यो। उसका विजय विष्टले १५ र राजु थापाले १३ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्।
बलिङतर्फ धनगढीका पवन कार्की र महेश अधिकारीले २/२ तथा सुनिल धमला र भुवन कार्कीले एक/एक विकेट लिए। खेलको म्यान अफ दि म्याच धनगढीका सुनिल धमला भए। उनले २५ रन बनाउनुका साथै एक विकेट लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।