काठमाडौं- सन्दीप लामिछाने क्लबस्तरीय क्रिकेटमा संसारकै ठूलो प्रतिस्पर्धा इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने पहिलो नेपाली बने। आइपिएलमा समावेश मात्र भएनन् डेब्यु खेलमै विश्वभरिबाट प्रशंसासमेत कमाए।
विश्वका चर्चित खेलाडी विराट कोहली तथा एबी डिभिल्लर्सलाई समेत हैरान बनाउने गरी बलिङ गरे उनले। त्यसको केही दिनमै सन्दीपले विश्व क्रिकेटमा अर्को महत्वपूर्ण अवसर पाएका छन्। आइसिसीले उनलाई विश्वका स्टार खेलाडीहरुको टिममा राखेको छ।
वेष्ट इन्डिजविरुद्ध हुन लागेको एक खेलमा आइसिसी विश्व ११ टिममा उनी परेका छन्। जसमा विश्वका स्टार खेलाडीहरु मात्र समावेश छन्।
‘क्रिकेटको घर’ मानिने लर्डस्मा आगामी जेठ १७ गते हुने खेलको इंगल्यान्डका कप्तान इयोन मोर्गनले कप्तानी गर्नेछन्। जसमा भारतका दिनेश कार्थिक र हार्दिक पाण्डेय, पाकिस्तानका साहिद अफ्रिदी र सोयब मल्लिक, अफगानिस्तानका रसिद खान, बंगलादेशका तमिम इक्बाल, श्रीलंकाका थिसरा परेरा, न्यूजिल्यान्डका मिचेल म्याकलेनघान र लुक राँची जस्ता विश्व क्रिकेटमा चर्चित खेलाडीहरु समावेश छन्।
वेष्ट इन्डिजको क्यारेबियनमा आँधीबाट भत्किएको क्रिकेट रंगशाला निर्माणका लागि सहयोग उपलब्ध गराउने उद्देश्यले आइसिसीले वेष्ट इन्डिजको टिमसँग विश्वका चर्चित खेलाडीहरुको टिमबीच प्रतिस्पर्धा गराउन लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।