विराटनगर- विराटनगरस्थित भारतीय राजदूतावासको सम्पर्क कार्यालयनजिक बम विस्फोट गराएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोरङको बेलबारी नगरपालिका–४ बस्ने ४२ वर्षीय युगेन भन्ने उदय राई र ताप्लेजुङको थुकिमा–७ बस्ने ३४ वर्षीय भीम लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ। दुवै जनालाई गत आइतबार प्रहरीले पक्राउ गरेका हुन्।
बैसाख ३ गते राति ८:१५ बजे समयमा विराटनगर–१३ स्थित सो कार्यालयको पश्चिमतर्फको खुल्ला चौरमा उनीहरुले बम विस्फोट गराएका थिए।
विस्फोटनबाट कार्यालयको पर्खालमा सामान्य क्षति भएको थियो। साथै सो विस्फोटन भएको स्थानको नजिकमा रहेको देवकान्त झाको घरको झ्यालको सिसाको तोडफोडमा समेत संलग्न रहेको अनुसन्धानबाट खुल्न आएको प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी गराए। पक्राउ परेका दुवै जनाको जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।