काठमाडौं– राष्ट्रिय क्रिकेट टिमका ओपनर अनिलकुमार साहले सिंगापुरमा संचालन हुने इलाइट प्लेयर सिरिज २०१८ खेल्ने भएका छन्। साह एसजी क्रिमसन टिममा आवद्ध भएका नेपाल क्रिकेट संघ (क्यान) की पूर्व सिइओ भावना घिमिरेले जनाएकी छिन्।
टी–२० सिरिज आगामी चैत १८ देखि २२ गतेसम्म संचालन हुनेछ। प्रतियोगितामा अनिल आवद्ध क्रिमसनसहित एसजी क्रेससेन्ट र एसजी स्टार्सले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता सिंगापुर क्रिकेट संघले आयोजना गर्न लागेको हो। प्रतियोगिताको यो दोस्रो संस्करण हो।
प्रतियोगिताका सिंगापुरका युवा क्रिकेटरलाई एक्पोजर दिन आयोजन गर्न लागिएको हो। तीन वटै टिममा अनुभवी खेलाडी र सिंगापुरका यू–१९ खेलाडी समावेश हुनेछन्। प्रतियोगितामा जिम्बावे, वेस्ट इन्डिज, थाइल्यान्ड, मलेसिया र इन्डोनेसियाका खेलाडीले पनि खेल्ने बताइएको छ।
इलाइट प्लेयर सिरिज २०१८ को खेल तालिका
एक वर्षमा अनिलको फड्को
यू–१९ टिममा रहदा मध्यक्रमबाट खेलेका उनी पछिल्लो समय ओपनिङ गर्छन्। डिभिजन–२ अनिलले पहिलो पटक राष्ट्रिय टिमको ओपनिङको मौका पाएका थिए। लगत्तै भएको विश्वकप छनोटमा पनि अनिलले केहि खेलमा मौका पाए। गत भदौमा भएको एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिताबाट उनी चर्चामा आएका थिए। उनले थाइल्यान्ड विरुद्ध ९१ रन प्रहार गर्दै सबैको ध्यान तानेका थिए। त्यस लगत्तै भएको एसिसी यू–१९ एसिया कपमा पनि उनले प्रभावशाली प्रदर्शन गरेका थिए। एसिया कपमा उनले अफगानिस्तान विरुद्ध अर्धशतक प्रहार गरेका थिए। एसिया कपमा गरेको प्रदर्शनको आधारमा अनिललाई सिनियर टिमको बन्द प्रशिक्षणमा मौका दिइएको थियो।
आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएई विरुद्ध खेलका लागि अनिल वैकल्पिक खेलाडीमा परेका थिए। वैकल्पिक खेलाडीमा परे पनि उनी युएई भ्रमणमा गएका थिए। युएईसँग खेल्नुअघि अमेरिकासँग भएको अभ्यास खेलमा अनिलले राष्ट्रिय टिममा डेब्यु गरे। तर, उक्त खेलमा अनिल शून्य रनमा आउट हुन पुगे।
युएई विरुद्ध दोस्रो खेलमा भने उनी नियमित टिममै परे। दीपेन्द्रसिंह ऐरी अभ्यासका क्रममा घाइते भएपछि अनिललाई युएई विरुद्धको दोस्रो राष्ट्रिय टिममा स्थान दिइएको थियो। तर, उनी मैदान उत्रन भने पाएनन्।
यसरी सुरु भयो अनिलको क्रिकेट करिअर
बारा कलैयाका साह स्कुल जीवनदेखि नै राम्रो ब्याटिङ गर्थे। उनी कलैयाको बाल एकता इंग्लिस बोर्डिङ स्कुलका विद्यार्थी हुन्। स्कुल क्रिकेटमै उनले ब्याटिङमा राम्रो प्रतिभा देखाएको बाराका सिनियर प्लेयर सुदीप चौधरी बताउँछन्।
‘स्कुलस्तरीय क्रिकेटदेखि नै अनिलले आफूसँग ब्याटिङ गर्ने राम्रो कला भएको प्रमाणित गरिसकेका थिए’, चौधरी सम्झन्छन्, ‘उनी आक्रामक ब्याटिङ गर्छन्। विकेटकिपिङ पनि उनको सोख हो।’
तत्कालीन समयमा साहका लागि जिल्लाको टिममा पर्नु ठूलो कुरा थियो। किनकि क्रिकेटको उर्वरभूमि बारामा सिनियर खेलाडीको कमी थिएन।
६८ सालको जिल्लास्तरीय प्रतियोगिताका लागि बारा जिल्ला क्रिकेट टिमका ओपनर घाइते भए। पर्सा विरुद्ध महत्वपूर्ण खेलमा अन्तिम समय प्रारम्भिक ब्याट्सम्यान टिममा उपलब्ध हुन नसकेपछि चौधरीलाई तत्काल खेलाडी खोज्नुपर्ने बाध्यता आइलाग्यो। यतिबेला साहले आफूलाई प्रारम्भिक ब्याट्सम्यानको भूमिकामा खेलाउन कप्तान चौधरीसँग अनुरोध गरे। चौधरीले पनि साहको अनुरोध सहर्ष स्वीकार गरे।
'ओपनिङ गरेको पहिलो खेलमै उनले अर्धशतक प्रहार गरे', चौधरीले सुनाए। पहिलो खेलमै प्रभावशाली प्रदर्शन गरेका साहलाई जिल्लाको टिममा पर्न गाह्रो भएन। जिल्ला र क्षेत्रको यू–१९ टोलीबाट नियमित राम्रो प्रदर्शन गरेपछि साहले गत वर्ष आयोजना भएको एभरेस्ट प्रिमियर लिग (इपिएल)मा कान्तिपुर गोर्खाजबाट खेल्ने मौका पाए। इपिएलमा सिनियर टिमका खेलाडीसँग खेलेका साहलाई यू–१९ टिमको बन्द प्रशिक्षणमा बोलाइयो।
गत वर्ष श्रीलंकामा भएको यू–१९ एसिया कपबाट साहले युवा टिमको जर्सी लगाउने मौका पाएका थिए। साहले गत बैशाखमा भएको धनगढी प्रिमियर लिग (डिपिएल)मा विराटनगर किंग्सबाट खेले। त्यस क्रममा विराटनगरको विकेटकिपिङ तथा मध्यक्रमको ब्याटिङ सम्हालेका साहले प्रभावशाली प्रदर्शन गर्न सकेनन्।
यहिबीचमा साह विभागीय टोली सशस्त्र प्रहरी बलको क्रिकेट टोलीमा आबद्ध भए। डिपिएल लगत्तै उनले प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगितामा मध्यमाञ्चल विरुद्ध सर्वाधिक रन प्रहार गरेका थिए। मध्यमाञ्चल विरुद्ध नटआउट ७८ रन जोडेर साहले राष्ट्रिय क्रिकेटमा पहिलो पटक अर्धशतक बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।