काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा क्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउने बताएका छन्।
नेपाल इञ्जिनियरिङ एसोसिएसनको १५औं राष्ट्रिय सम्मेलनलाई बुधबार सम्बोधन गर्दै ऊर्जामन्त्री पुनले पेट्रोलियम पदार्थ र विद्युत् आयातको क्षेत्रमा राज्यले सवा खर्ब बराबरको आयात गरिरहेको बताउँदै त्यसलाई प्रतिस्थापन गर्ने आफ्नो योजना रहेको बताए।
‘ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाउने मेरो संकल्प हो’, मन्त्री पुनले भने, ‘त्यसका लागि हामीले १० वर्षमा १० हजार मेगावाट उत्पादन गर्नुपर्ने हुन्छ।’ त्यसका लागि आयोजना निर्माणको कामलाई तीव्र रुपमा अघि बढाउने उनले बताए।
दक्ष जनशक्तिको व्यवस्थापन र रोजगारी सिर्जनाका लागि पनि सरकारले छिटै नयाँ योजना ल्याउने उनले बताए।
मन्त्री पुनले प्रधानमन्त्री केपी शर्मा ओली र देशको राजनीतिक नेतृत्वले देश निर्माणका लागि संकल्प गरेको जानकारी दिँदै त्यसका लागि ऊर्जा मन्त्रालयले सबैभन्दा बढी योगदान गर्ने बताए। उनले देश विकास र समृद्धिको चरणमा प्रवेश गरिसकेको दाबी गर्दै त्यसका लागि उपलब्ध प्राकृतिक स्रोत-साधनको उपयोग गरिने बताए।
सिँचाइमन्त्री पुनले कृषिमा आधुनिकीकरण गर्ने र उत्पादन वृद्धि गरेर देशलाई छिटै दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्ने सरकारको संकल्प पूरा गर्ने दिशामा आफूहरु अघि बढिरहेको बताए।
विकास र समृद्धिको सपना पूरा गर्न दक्ष इञ्जिनियरहरुको ठूलो भूमिका हुने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।