आस्ताना– इरान, रुस र टर्कीका विदेशमन्त्रीहरुबीच सिरियाको विषयलाई लिएर काजकिस्तानको राजधानी आस्तानामा आज त्रिदेशीय वार्ता हुने भएको छ।
मस्को र तेहरानको समर्थन रहेको सिरियाली सरकारले दमासकसको बाहिरी इलाकामा अवस्थित पूर्वी गुटामा हवाई कारबाही सुरु गरेको एक महिनापछि यो छलफल हुन लागेको हो।
सिरियाको राजधानी दमासकसको उपनगरको रुपमा रहेको गुटा सहरको पूर्वी भागमा जारी रहेको भयावह मानवीय अवस्था नै यस छलफलको प्रमुख एजेन्डा रहेको बताइएको छ।
छलफलमा तीन देशका विदेशमन्त्रीहरु इरानका मोहमद जाभेद, रुसका सेर्गेइ लाभरोभ र टर्कीका मेभ्लुट चागुसोङ्लुको सहभागीता रहेको जनाइएको छ।
रुसको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा त्यहाँको स्थलगत अवस्था विचारणीय भएको र वार्ता नै सफलता र कठिनाइको सामनाका लागि उत्तम उपाय रहेको बताइएको छ।
विदेशमन्त्री स्तरीय छलफलले इस्ताबुलमा आगामी अप्रिल ४ तारिखमा हुने तीन राष्ट्रका राष्ट्रपतिको वार्ताको लागि आधार बनाउने अनुमान गरिएको छ।
काजकिस्तानको विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार अपरान्हबाट ३ देशका विदेश मन्त्रीहरुको वार्ता सुरु हुने पुष्टि गरेका छन्।
सिरियामा सन् २०११ को मार्च १५ बाट त्यहाँका राष्ट्रपति बसर अल असादको विरोधमा सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो।
गृहयुद्धमा परी सो समयदेखि हालसम्म ३ लाख ४० हजार भन्दा बढी व्यक्तिको मृत्यु भईसकेको छ।
पछिल्ला साताहरुमा पूर्वी गुटामा भएको हवाई कारबाहीमा करिब १ हजार २ सय ६० व्यक्तिको मृत्यु भइसकेको छ। मृतकहरुमध्ये बालबालिका पनि धेरै संख्यामा रहेको युनिसेफले बताएको छ।
राष्ट्रसंघीय अधिकारीहरुकाअनुसार मारिनेमा ५ जनामा १ जना बालबालिका रहेका छन्।
पूर्वी गुटामा गत फेबु्रअरी १८ बाट विद्रोहीलक्षित बमबारीमा परी बालबालिकासहित ठुलो संख्यामा सर्वसाधारण मारिएका छन्।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले विद्रोहीको बलियो प्रभाव रहेको पूर्वी गुटा सहरमा खाद्य पदार्थलगायतका अत्यावश्यक सामाग्रीको कमी रहेकोले सो क्षेत्रलाई पृथ्वीकै सबैभन्दा ठूलो नर्कको संज्ञा दिएका थिए।
सिरियाका राष्ट्रपति बसर अल असाद समर्थित सुरक्षा दलले भने पूर्वी गुटाको ७० प्रतिशत इलाका नियन्त्रणमा आएको र २० हजार सर्वसाधारण विद्रोहिको समूहबाट स्वतन्त्र भएका जनाकारी दिएको छ। सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले पनि सो जानकारी दिएको छ।
काजगिस्तानाले सन् २०१७ को जनवरीबाट सिरियाको विषयलाई लिएर धेरै पटक वार्ताको आतिथ्य गर्दै आएको छ।
यसमा इरान, रुस र टर्कीका उच्चस्तरीय अधिकारी, सिरियाली सरकार र विद्रोहीका प्रतिनिधिहरु समेत सहभागी हुदै आएका छन्।
संयुक्त राष्ट्रसंघ तथा अरु विदेशी समुदायले समेत सिरियामा शान्तिको स्थापनाका लागि गरेका प्रयासहरु सार्थक हुन सकिरहेका छैनन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।