लोक कलाकारिताको धार : भुत्ते कि तिख्खर

Nepal Live

दोहोरी गीतलाई माया गर्ने श्रोताको हैसियतले सबै कलाकारलाई बराबर सम्मान गर्दछु। लोक दोहोरी गीतको संरक्षणमा जुटेका कलाकारहरुप्रति पनि उस्तै उच्च सम्मान र दृष्टिकोण छ। मैले कहिल्यै पनि कलाकारलाई उनको सिर्जना या प्रस्तुतिको हिसाबले या पहिरन हेरेर आलोचनार समर्थन गर्ने गरेको छैन। म त्यही लेख्छु, जुन कलाकारको सिर्जना हेर्दा या सुन्दा मेरो अन्तस्करणमा तरंगित हुन्छ।

कलाकारिता पेसा मात्र होइन। साधना र तपस्या पनि हो। मुख्य रुपले साधनापछि मात्र संघर्षको चरणमा प्रवेश गरेको देख्न पाइन्छ। वर्षौं साधना गरेको कलाकारसमेत दैनिक गुजाराको संघर्षसँग जुध्न परिरहेको ज्वलन्त उदारण हामीसमक्ष छन्।
कलाकारिता प्रकृति प्रदत्त गुण हो। प्रकृतिले प्रदान गरेको खुबीलाई अझै तिखार्न कलाकारिताले मद्दत पुर्याउँछ। जसलाई प्रकृतिले दिएकै छैन उसले सिक्दैमा या कलाकारितामा ज्ञान हासिल गर्दैमा राम्रो कलाकार बन्न सक्दैन। प्रकृतिले आफूमा कुन किसिमको कलाकारिता प्रदान गरेर पठाएको हो, त्यो चिनेर आफ्नो मार्ग तय गर्नु कलाकारको धर्म हो। 

त्यसैले होला विविध किसिमका कलाकार छन्, हाम्रो समाजमा। यसभित्र लोक कलाकारिताका पनि विविध रङ र रुप देख्न सकिन्छ। यो ‘परम्परागत कलाकारिता शैली’ हो, जुन परिवर्तन हुन चाहँदैन। पश्चिमाहरु लोक ९फोल्क० लाई समयानुकूल परिवर्तन हुन नचाहेको पुरातनवादी कलाकारिताको धारको रुपमा  विश्लेषण गर्दछन्।

नेपालमा पनि लोक कलाकारिता डोर्याउने केही धार छन्। तिनको छोटो चर्चा गर्छु।

यथास्थितिवादी धार

यो धारमा संस्थागत पदाधिकारीहरु तथा पुराना स्रष्टाहरुको समूह छ। कसैले फरक किसिमको सिर्जना बजारमा ल्यायो भने उनीहरुलाई रुच्दैन। नयाँ पुस्ताका कलाकारको पहिरनप्रति पनि उनीहरुको आपत्ति रहन्छ। लोकगीतलाई परम्परागत रुपमै संरक्षण गर्नुपर्छ भन्ने उनीहरुको ध्येय हो। उनीहरु आफूले गाएको गीतले परम्परागत ढाँचा या स्वरुपको संरक्षण गर्यो या गरेन भन्नेतर्फ सोच्दैनन्। ड्रमसेट, गिटार, भ्वाइलिन जस्ता आधुनिक वाद्यवादन प्रयोग गरेर आफ्ना गीत बजारमा ल्याउछन् र आफ्नै गीतलाई मौलिक परम्परागत गीत भनेर दाबी गर्छन्। 

यो धार संस्थागत पनि भएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यसको उदाहरण हो।

परिवर्तनशील धार

लोक र दोहोरी गीतप्रति अगाध आस्था भएकाहरुले यो धारलाई प्रतिनिधित्व गरिरहेका छन्। प्रकृतिले पनि लोकगीतकै सुरताल र तरिका प्रदान गरेर पठाएका, सिकेर पनि आधुनिक या पप गाउन नसक्ने तर परम्परागत लोकभाकालाई केही फरक पाराले प्रस्तुत गर्न चाहने एक चुलबुले धार छ, नेपाली लोक कलाकारिता क्षेत्रमा। ती नयाँ सोचका कलाकार पुरातनवादी धारका कलाकारलाई अग्रजको रुपमा सम्मान गर्न पछि हट्दैनन्। उनीहरुकै लामो संगतले कलाकारितामा स्थापित भएका पनि छन्। तीमध्धे केही कलाकार विद्रोही बनेर निस्कन्छन् र आधुनिक पहिरन लगाउनेदेखि लिएर दोहोरी गीतको स्वरुपसमेत बंग्याइदिन्छन्। 

परिवर्तनवादी धार

यस्तो धार समात्ने कलाकारहरु आफूलाई ‘लोक कलाकार’को रुपमा चिनाउँदैनन्। आधुनिक या पप धारको कलाकार भनिनुमा गौरव गर्छन् उनीहरु। सिनेमामा संगीत दिने संगीतकारहरु जसले लोक संगीतलाई आधार बनाउँछन् र सधैं चर्चामा रहिरहन्छन्। हुनलाई तिनीहरु पनि लोक कलाकार नै हुन्। तर मौलिक  अब्बल सिर्जना गर्न नसक्नुको दुष्परिणाम लोकगीतलाई ठाउँठाउँ भाँचभुच र तोडमोड गरेर आधुनिक स्वरुप र स्वाद प्रदान गर्ने चलखेल गर्दछन्।

लोक कलाकारिता क्षेत्रमा देखिएका यी तीन धारमध्ये पहिलो धार अरुको आलोचना र समर्थन गर्ने एकाधिकार आफूमा मात्र निहित रहेको सोच्दछ। त्यो धारमा आस्था राख्नेको ठाडो समर्थन गर्दछ र फरक काम गर्नेको विरोध। 
तेस्रो धारका कलाकार लोक संगीतमा आफ्नो सरोकार नरहेको, फ्लेवर मात्र रहेको र आफू आधुनिक कलाकार भएको प्रमाणित गराउन लागिपरेका देखिन्छन्। पुरातन या यथास्थितिवादी धारका कलाकारहरुले उनीहरुको विरोध गर्नै सक्दैनन्। त्यसैले पनि यिनीहरु आलोचनाको सिकार भइरहनु पर्दैन। 

सबैभन्दा बढी आलोचना र विरोधको सामना परिवर्तनशील धारका कलाकारले गरिरहेका हुन्छन्। परम्परागत ढाँचा छाडिनसकेको र नयाँपन नसमातिसकेको यो धार पूर्ण रुपमा परिवर्तित पनि हुँदैन। गीत दोहोरी गाउँछ तर पहिरन आधुनिक लगाउँछ। भाका पुरानै टिप्छ तर प्रस्तुतीकरण नयाँ समात्न खोज्छ। 

यो धारको ज्वलन्त उदाहरण ज्योति मगर हुन्। प्रकाश कटुवाल, श्रीदेवी देवकोटा हुँदै यस्तो धार समातेर आलोचनाको सिकार हुनेमध्ये अहिले प्रकाश सपुत पनि चर्चाको विषय बनेका छन्। उनले ल्याएको ुदोहोरी ब्याटलु गीतले एक किसिमको तरंग सिर्जना गरेको छ। प्रकाशको दोहोरी ब्याटलप्रति परम्परावादी लोक सर्जकले पनि मौनता साँधेका छन्। 

मेरो विचारमा प्रकाशको दोहोरी ब्याटल सामाजिक विकासक्रमसँगै जन्मिएको संक्रमित सिर्जना हो।

प्रकाश सपुतको दोहोरी ब्याटललाई मौन समर्थन गरिरहेका प्रतिष्ठान पदाधिकारीहरु कुनै गीतको शब्द दुइअर्थी भयो भनेर रेकर्डिङ रोक्न स्टुडियो पुग्छन् या पुग्दैनन  ? कुनै गायिकाको पहिरन छोटो भयो भनेर बहिस्कारको नीति अपनाउँछन् या अपनाउँदैनन् ?

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार