पछिल्लो सातालाई नेपाली क्रिकेटप्रेमी, खेलाडी, प्रशिक्षक सबैले लामो समय याद गर्नेछन्। हामी (नामिबियामा) राम्रो क्रिकेट खेल्न सफल भयौं। हामीले पहिलेदेखि भन्दै आएका थियौं, हाम्रा खेलाडीमा क्षमता छ। त्यो प्रमाणित भएको छ।
टिम समन्वय राम्रो भयो। हरेक दिन एउटा खेलाडी ‘म्याच विनर’ बनेर निस्किए। सबै खेलाडी टिमलाई जिताउन एकदमै उत्साहित, अनुशासित र प्रतिबद्ध थिए। जसले गर्दा हामी विश्वकप छनोटमा पुगेका छौं। अब हाम्रो लक्ष्य विश्वकप खेल्ने सपना (पूरा गर्नु) हो। छनोटमा पुग्दा एकदमै खुसी छौं।
नेपाल क्रिकेट युवा खेलाडीले भरिएको टिम हो। चाहिएको बेला (हाम्रा) युवा खेलाडीले राम्रो प्रदर्शन गरे। प्रतियोगितामा सबै खेलाडीको योगदान उत्तिकै थियो। यो पटक ‘जुनियर प्लेयर’ ले झन् (राम्रो) प्रदर्शन गरेका छन्। यो नेपाली क्रिकेटका लागि शुभ संकेत हो। जुन लय हामीले समातेका छौं, त्यसलाई निरन्तरता दिँदै आगामी दिनमा अझ राम्रो क्रिकेट खेलेर नेपाललाई माथि पुर्याउनुपर्नेछ।
क्यानडा विरूद्धको खेल हारिसकेको सोचेका थियौं। किनकि हामी क्रिकेटमा जितको जुन एउटा बिन्दु हुन्छ, त्यसबाट पछि परिसकेका थियौं। तर पनि हामीसँग सन्दीप(लामिछाने) र करण (केसी) बाँकी थिए। त्यसअघि सन्दीप र वसन्तले पनि यसैगरी खेल जिताएकाले आशा भने मरेको थिएन। केन्यासँग पनि त्यस्तै भएको थियो। क्यानडा विरूद्ध ५१ रन र १ विकेट बाँकी रहँदा गाह्रो छ जस्तो लागेको थियो। तर, विस्तारै रन बन्न थाल्यो। ३० रनभन्दा कम चाहिएपछि जितिन्छ कि भन्ने आशा पलायो। हामीले धेरै मिहिनेत र परिश्रम गरेका थियौं। भाग्यले पनि साथ दियो। वर्षौ मिहिनेतको फलस्वरुप करणले खेल्न सफल भए। जुन प्रशंसायोग्य छ।
व्यक्तिगत रुपमा गरेको प्रदर्शन टिममा जोडिएपछि खेल जितिने हो। छनोट नभएको भए व्यक्तिगत प्रदर्शन खेर जान्थ्यो। खेल हो, सधैं सबैको राम्रो प्रदर्शन हुन्छ भन्ने छैन। टिमको रुपमा सबैको उत्तिकै योगदान छ।
तीन-चार दिनको ब्रेकपछि फेरि हामी एकदिवसीय छनोटका लागि आफ्नो तयारी सुरु गर्नेछौं। पछिल्लो सयम निरन्तर क्रिकेट खेलिरहेका छौं। त्यसैले खेलाडीले आफ्नो ‘फर्म’ लाई यथावत् राख्छन् भन्नेमा विश्वस्त छु। जिम्बावेमा नयाँ चुनौती र नयाँ ठाउँ छ। त्यहाँ हामी अझ राम्रो प्रदर्शन गर्ने प्रयासमा छौं।
नेपाली क्रिकेटलाई खेलाडी र प्रशिक्षकले जुन तरिकाले जोगाइरहेका छन्, अब हाम्रो लागि ठूलो चुनौती भनेको क्रिकेट संघको विवादलाई सक्दो चाँडै सुल्झाउनैपर्छ। क्रिकेट विवादलाई सुल्झाउने हो भने नेपाली क्रिकेटले अझ राम्रो नतिजा ल्याउन सक्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।