काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधानअनुसार चल्न नसक्दा कमजोर भएको बताएका छन्।
शंखमूलमा रहेका पाँचवटा टोलसुधार समितिले आज हनुमानमार्गमा संयुक्त रुपमा आयोजना गरेको ‘बधाई तथा सम्मान कार्यक्रम’मा उनले भने –“प्रजातन्त्रका लागि लडेको पार्टी प्रजातान्त्रिक पद्दतिअनुसार चल्न नसक्दा कमजोर भएको हो।”
“अब पार्टीलाई जनताको लोकप्रिय पार्टी बनाउनुपर्छ, त्यसका लागि म लड्नेछु,”– नेता सिंहले भने।
पूर्वमहामन्त्री सिंहले निर्वाचन भएको दुईवर्ष बित्दा पनि पार्टीको केन्द्रीय समिति, पदाधिकारी र विभागले पूर्णता नपाउनु दुःखद कुरा भएको बताउँदै जनताको जनादेशअनुसार काँग्रेस जिम्मेवार प्रतिपक्षमा बस्ने स्पष्ट पारे।
“हामी संसद्मा राम्रो काम गर्नेलाई सहयोग र नराम्रो काम गर्नेलाई खबरदारी गर्छौँ,”– उजले भने।
काठमाडौँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेता सिंहले आफ्नो क्षेत्रका समस्यालाई संसदमा राख्नका लागि मतदाताले बेलाबेलामा जनप्रतिनिधीको खबरदारी गर्नुपर्ने बताउँदै राष्ट्रिय गौरवका योजना निर्माणमा सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।