प्रसंग १ : नेपाल सरकारको शाखा अधिकृत रहेका एक व्यक्तिलाई डिभी चिट्ठा पर्यो। उनी दुई वर्षअघि खुसीसाथ सपरिवार अमेरिका आए। अमेरिका टेक्नेबित्तिकै सीधै सरकारी सेवामा प्रवेश पाइने भ्रममा रहेका ती व्यक्तिको आशामा जब तुषारापात भयो, त्यो दिनदेखि उनी अमेरिकी सरकारलाई संसारकै सबैभन्दा बेइमान सरकारको उपमा दिन्छन्।
नौलो मान्छे भेट्नेबित्तिकै नेपालको सरकारी सेवामा रहँदा टिप्पणी उठाएकोदेखि कार्यालय समयमा दिनभरि घाम तापेर बसेको सगर्व सुनाउनु उनको विशेषता हो। उनलाई आफ्नो बकम्फुसे गफ सुन्ने कसैलाई समय र चासो छ, छैन भन्ने मेसो नभएको हो भएर पनि बुझपचाएका हुन्, त्यो अरुलाई थाहा हुने कुरै भएन। उनको यस्तो प्रवृत्तिका कारण मान्छेहरु उनलाई देख्नेबित्तिकै टाढैबाट तर्किने गरेका छन्। यसमा उनलाई केही हेक्का नै छैन।
प्रसंग २ : एमालेको विद्यार्थी संगठनबाट राजनीति (?) गरेको दाबी गर्ने एक व्यक्ति पर्यटक भीसामा अमेरिका आएर लुकेर बसेका छन्। आफूलाई माओवादीले नेपालमा टिक्न नदिएर अमेरिका आउनुपरेको उनको दाबी नै विश्वास गर्न लायक छैन। किनकि नेपालबाट लुक्दै र भाग्दै अमेरिका आउनु भनेको असम्भव र असाध्यै जोखिमको काम हो।
उनी आबद्ध पार्टी र माओवादी मिलेर चुनाव लड्ने र लगभग दुवै पार्टी एकता नजिक पुगेको अवस्थामा फर्केर नेपाल जाँदा उनलाई ज्यानको जोखिम हुनु नपर्ने हो। कम्युनिस्टको 'क' सम्म सुन्न नचाहने र गैरकानुनी मानिने अमेरिकामा कसैले आफूलाई म कम्युनिस्ट हुँ भन्छ भने त्यो आत्मघाती मात्र हुन्छ। किनकि हामी नेपालबाट आउँदा भीसा लिने क्रममै फारम भर्दा 'म आजसम्म कुनै पनि कम्युनिस्ट पार्टीको सदस्य बनेको छैन र पार्टीलाई चन्दा पनि दिएको छैन' भनेर लेखेको ठाउँमा टिक लगाएर आउनुपर्छ।
अर्को उदेकलाग्दो कुरा, नेपालमा रहुन्जेल 'अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद मूर्दावाद'को नारा लगाएका यी कथित विद्यार्थी नेता त्यही साम्राज्यवादी मुलुकमा आएर विस्तारवादी भारतीय मूलको व्यापारीको लुगा धुने ठाउँमा मजदुरी गरिरहेका छन्। उनलाई यस्तो कुरा बतायो भने पहिलेका कुरा सबै बिर्सिसकेको तर्क भन्दै आफ्नो बचाउ गर्छन्।
प्रसंग ३ : दुईवर्षे मास्टर्सको पढाइ ब्याक पेपर दिँदै पाँच वर्षमा पूरा गरेर इतिहासमा डिग्री गरेका र काठमाडौंको सामान्य प्लस टुमा पढाएका एक व्यक्तिलाई अमेरिकाको कलेजमा अध्यापन गर्न नपाएकोमा निकै ठूलो चित्त दुखाइ छ। हुन त यो चित्त दुखाइ उनको व्यक्तिगत मामिला हो र उनी दिनभरि चित्त दुखाएर बस्न पनि स्वतन्त्र छन्। उनले हासिल गरेजति शैक्षिक योग्यता यहाँ औंठाछाप जत्तिकै हो। आफूमा भएको ज्ञान त कसैले खोस्न सक्ने कुरा होइन। तर, उनले यताको कलेजमा त के प्राइमरी स्कुलमा समेत पढाउन पाउँदैनन्। उनी यो वास्तविकता स्विकार्न तयार छैनन्। स्विकार्न नसक्नु भनेको आफैं दु:खी हुनु मात्र हो।
यी माथिका तीन प्रसंगले के प्रस्ट हुन्छ भने, धेरैजसो व्यक्तिहरु अमेरिका आउँदा सही जानकारी लिँदैनन् वा जानकारी हुँदाहुँदै पनि अति आत्मविश्वासका कारण कुनै पूर्वतयारीबिना नै आउँछन्। कुनै पनि देशमा बसोबास गर्ने तयारीमा रहेको मानिसले त्यस देशको नियम र काइदा-कानुन बुझ्नुपर्छ। देश अनुसारको भेष गर्नुपर्छ।
तर, हामी अधिकांश नेपालीको साझा समस्या के हो भने, हामी आफ्नै मूल्यांकन र बुझाइलाई मात्र सही सम्झन्छौं। त्यसैलाई मात्र लिएर अगाडि बढ्न खोज्छौं। यो व्यावहारिक होइन। अव्यावहारिक कार्यशैली अँगालेर जीवनमा सफल हुन सकिन्न।
अमेरिका आउँदा सबैले पूर्वतयारी गरेर र कुनै सीप सिकेर आउँदा राम्रो हुन्छ। म नेपालमा यस्तो थिएँ र उस्तो थिएँ भनेर बडप्पन साबित गर्नुको यहाँ कुनै तुक हुँदैन। आफूमा भएको ज्ञान कसैले चोरेर लैजाने कुरा भएन र क्षमता भएको मान्छे यहाँ रंकबाट राजा बन्न अर्थात् छिटै प्रगति गर्न सक्छ।
अवसर नै अवसरको खानी भएको यो देशमा आएर यहाँको नियम-कानुनको बर्खिलाप नगरी सबैले आफूलाई अब्बल प्रमाणित गर्न सक्छन्। तर, यसका लागि हात नै चल्नुपर्छ, मुख मात्र चलेर केही हुँदैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।