वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मङ्गलबार भएको दुई कोरियाबीचको उच्चस्तरीय वार्ताले ती दुई देशको सम्बन्ध सुधारका क्षेत्रमा ऊर्जा दिएको बताएका छन्।
यसबाट सकारात्मक फाइदा लिँदै अगाडि बढ्न र आगामी दिनमा सौहार्द रुपमा वार्ताको माध्यमबाटै सबै समस्याको समाधान गर्ने मार्गमा लाग्न पनि उनले आग्रह गरे। लामो समयदेखि शत्रुतापूर्ण सम्बन्ध रहेका उत्तर र दक्षिण कोरियाबीच दुई वर्षयता मङ्गलबार पहिलो पटक उच्चस्तरीय औपचारिक वार्ता भएको हो।
यो वार्तापछि वातावरण निर्माण भएकोले सम्बन्ध सुधारका लागि थप केही गर्नुपर्नेमा दक्षिण कोरियाली राष्ट्रपति इनलाई पनि राष्ट्रपति ट्रम्पले आग्रह गरेका हुन्।
मङ्गलबारको वार्तापछि उत्तर कोरियाले दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिक खेलमा आफ्ना खेलाडी र प्रतिनिधिहरू पठाउने भएको जनाएको छ।
ह्वाइट हाउसमा आयोजना गरिएको नर्वेजियन प्रधानमन्त्रीसहितको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले भने, 'सो वार्तामा धेरै सकारात्मक कुराकानी भएका छन् र आगामी दिनका लागि पनि सो वार्तामा नयाँ विषयवस्तुहरुले प्रवेश पाएका छन्।'
कोरियाली प्रायद्वीपमा जारी रहेको द्वन्द्वको समाधानका लागि शान्तिपूर्ण समाधान आवश्यक रहेको र शान्तिवार्ता नै यसको विकल्प भएको ट्रम्पको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।