जनकपुर- संघीय समाजवादी फोरमको प्रदेश २ को अध्यक्षमा प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव निर्वाचित भएका छन्।
सोमबार अबेर राति सम्पन्न मतगणनामा मन्त्री यादवले १ सय ८४ मत ल्याएर विजयी भएका हुन्। उनका निकटम प्रतिद्धन्द्धी रेणु यादवले १ सय ४७ मत प्राप्त गरिन्।
सिरहाको लहानमा सम्पन्न अधिवेशनको क्रममा भएको मतदानबाट अबेर राति विजयी यादवलाई प्रदेश २ को लागि अध्यक्ष पदमा निर्वाचित घोषित गरिएको हाे। सत्तारुढ संघीय समाजवादी फोरम नेपालको प्रदेश २ अध्यक्षका लागि ३ जना प्रतिष्पर्धामा उत्रिएका थिए।
शनिवार अबेर राति सार्वजनिक गरिएको अन्तिम नामावलीअनुसार अध्यक्ष पदमा रेणु यादव, विजय कुमार यादव र अशोक यादवले उम्मेदवारी दिएका थिए।
पार्टीको नयाँ विधानअनुसार प्रदेशको ५१ सदस्यीय समितिमध्ये ४१ जनाका लागि निर्वाचन भएको थियो। निर्वाचन समितिका अनुसार २ सय जनाले प्रदेश सदस्यमा उम्मेदवारी दर्ता गराएका थिए। विजयी सदस्यहरुको नामावली तथा अन्य पदाधिकारीको नामावली आउन बाँकी छ।
अध्यक्ष र सदस्यको निर्वाचन भएपछि समितिले १० जना मनोनित गर्ने समेतबाट ३ जना उपाध्यक्ष, १ जना महासचिव, १ जना सचिव र १ जना कोषाध्यक्ष चयन गर्नेछ। पार्टी विधानले एक व्यक्ति एक पदको व्यवस्था गरेको छ। प्रदेशमा रहने नेताहरु केन्द्रीय समितिमा जान नपाउने प्रदेश मुख्यसचिव शम्भु झाले जनाए।
प्रदेश समितिको निर्वाचनमा ४ सय ५ जना मतदाता थिए। आइतबार बिहान ८ बजेदेखि मतदान सुरु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।