केही नेपाली निजी अस्पतालका कोठा जर्मनीको भन्दा पनि महंगो रहेछ

नेपाल लाइभ | २०७४ भदौ १३ मंगलबार | Tuesday, August 29, 2017 १९:४१:०० मा प्रकाशित

जर्मनी र नेपालमा मुटुको उपचारमा के फरक पाउनुभयो ?

उपचारको कुरा हेर्ने हो भने नेपाल र जर्मनीमा धेरै कुरा फरक छन् । मुटुको मात्र नभई समग्र उपचार प्रणाली नै फरक छ । जर्मनीमा नयाँ प्रविधिदेखि लिएर उपचार पद्दति पनि चुस्त र आधुनिक छ । नेपालमा विस्तारै सेवा विस्तार हुँदै गएको छ । अन्य अस्पतालको तुलनामा गंगालाल अस्पतालको गुणस्तर राम्रो रहेछ । जर्मनीमा कृत्रिम मुटुसमेत ट्रान्सप्लान्ट हुन्छ भने नेपालमा यस्तो सुविधा छैन । मुख्य कुरा प्रविधि र मुटुको उपचारको समग्र पुर्वाधारको तयारी नेपालमा हुन बाँकी नै छ ।

भनेपछि मुटु उपचारका लागि नेपालका अस्पतालमा समग्र संरचनाको विकास सन्तोषजनक छैन ?

त्यति धेरै नराम्रो पनि छैन । धेरै अस्पतालको तुलनामा गंगालालको संरचना र बनावट राम्रो लाग्यो । मैले गंगालालमा आएर पाँच जनाको शल्यक्रिया पनि गरिसकेको छु । समग्रमा भन्नुपर्दा गंगालालको संरचना नेपाली स्ट्यान्डर्डअनुसार राम्रो मान्न सकिन्छ ।

मुटुको उपचार कतिको मंहगो छ ?

मुटुको उपचार महंगो नै हुन्छ । जर्मनीमा त बिमाले सबैलाई उपचारमा सहयोग पुु्‍याइरहेको छ । तर नेपालमा बिमाको व्यवस्था नै शुरु नभएकाले यहाँ अझ गाह्रो छ । जर्मनीमा कृत्रिम मुटु राख्न दुई लाख रुपियाँभन्दा बढी पर्छ । तर बिमाका कारणले सहज भएको छ । अन्य उपचारमा पनि बिमाले नै धेरै कभर गर्छ । तर यहाँ नेपालमा कसैलाई मुटुरोग लाग्यो भने घरबार नै बेच्नुपर्ने अवस्था आउने देखिन्छ । त्यसकारण सरकारले र आमनागरिकले पनि पूर्वसावधानीतिर जानु उपयुक्त हुन्छ।

यहाँका केही निजी अस्पतालका कोठा त जर्मनीको भन्दा पनि महंगो रहेछ । जर्मनीमा चौबिसै घण्टा नर्सिङ केयर खानासहित एक सय ५० युरो भए पूग्छ । तर यहाँ १५ देखि २० हजारसम्म लिन्छन् । तर त्यो रकममा पछि डाक्टरको राउन्ड भनेर फेरि अरु रकम पनि जोडिन्छ । २४ घण्टा पनि सेवा दिएको हुन्न अनि खाना पनि समावेस हुन्न । तर जर्मनीमा यस्तो छैन ।

मुटुको रोगलाई समग्रमा हेर्दा नेपाल र जर्मनीमा कस्ता रोग बढी देखिने रैछन् ?

वास्तवमा नेपाल र जर्मनीमा देखिने मुटुरोगमा पनि फरक छ । नेपालमा मुटुरोग देखिएका ८० प्रतिशतमा ¥युमेटिक हर्ट डिजिज छ । तर जर्मनीमा यो रोग शुन्यजस्तो नै छ । जर्मनीमा यो रोग केही व्यक्तिमा देखिएपनि तिनीहरु जर्मन नभई टर्कीबाट आएकामा भेटिएको छ । उमेरका कारण देखिने मुटुरोग भने जर्मनीमा धेरै छ ।

जर्मनीमा स्वास्थ्य बिमाको अवस्था कस्तो छ ?

वास्तवमा जर्मनीमा बिमाकै कारण उपचार सेवा सहज बनेको छ । शतप्रतिशत जनसंख्यामा नै बिमाको पहुँच छ । रोजगारीमा लाग्नेबित्तिकै जर्मनको १५ प्रतिशत रकम बिमामा जम्मा हुन्छ । बिमामा जम्मा हुने रकममध्ये ८ प्रतिशत कामदारको तलबबाट र ७ प्रतिशत रोजगारदाताले हालिदिन्छ । जर्मनीमा त्यो रकम उपचारका लागि पर्याप्त हुन्छ । जर्मनीमा अर्धसरकारी बिमा कम्पनी छन् । बिमाकै रकमले अस्पताल चलेका छन् ।

नेपालमा स्वास्थ्य बिमा शुरु कसरी गर्न सकिएला ?

नेपालमा स्वास्थ्य बिमा कार्यक्रम शुरु गर्ने भनिएको त धेरै वर्ष भैसकेको छ । डा. उपेन्द्र देवकोटा स्वास्थ्य मन्त्री हुँदा पनि यो कुरा उठेको थियो । तर हालसम्म पनि सरकारले बिमा कार्यक्रम ल्याउन सकेको रहेनछ । बिमाको कार्यक्रम नेपालमा एकैपटक सबैतिर लागु गर्न गाह्रो छ । तर विस्तारै गर्न सकिन्छ । चरणबद्ध रुपमा सरकारले यो कार्यक्रम लागु गर्नुपर्छ । जर्मनीमा पनि विभिन्न चरणमा गरेर सत प्रतिशत बिमा हुन सफल भएको हो । नेपालमा सरकारले पहिलो चरणमा सरकारी कर्मचारीबाट नै बिमा शुरु गर्न सक्छ ।

जर्मनीमा निजी अस्पतालको अवस्था कस्तो छ त ?

जर्मनीमा निजी अस्पताल निकै कम छन् । निजी क्लिनिक खोल्न सरकार र बिमासँग सहमति लिनुपर्छ । बिमाले त्यो क्षेत्रको जनसंख्या हेर्छ र आवश्यकता देखियो भने सहमती दिन्छ, नत्र दिँदैन । बिमाले सहमती नदिएपनि निजी क्लिनिक खोल्न त मिल्छ तर त्यस्ता संस्थामा बिमाले रकम दिँदैन । व्यक्ति आफैँले तिर्नुपर्ने हुन्छ । तर धेरैजसोको रोजाई सरकारी अस्पताल नै हुनेगर्छ ।

नेपालको स्वास्थ्य उपचार पद्दति समग्रमा कस्तो पाउनुभयो ?

नेपालको त पूरै सिस्टम नै गलत लाग्छ । १५ वर्ष मुनिका र ७५ वर्षमाथिका मुटुका बिरामीलाई निःशुल्क भल्भ दिने कार्यक्रम छ । तर आमसर्वसाधारणलाई चाँहि केही छैन । उनीहरुलाई खोइ त उपचार सेवा ? अनि अर्को कुरा प्रहरी, सरकारी कर्मचारी, आर्मी तथा धनी वर्गलाई छुट्टाछुट्टै उपचार सेवा छ । तर मध्यम र गरिबलाई छैन । खास वर्गलाई सहज रुपमा दिनुपर्ने उपचार सेवा नै छैन नेपालमा । त्यस्ता परिवारलाई उपचारमा सहज पहुँच दिलाउने उपयुक्त विकल्प नै बिमा हो । त्यसकारण नेपालले बिमाको कार्यक्रम तत्काल सुरु गर्नुपर्ने देखिन्छ ।

अस्पतालहरुको व्यवस्थापन कस्तो छ नेपालको ?

यहाँका अस्पतालको व्यवस्थापनमा पनि मलाई चित्त बुझेको छैन । बिरामी हेर्नुपर्ने क्लिनिकल डाक्टरलाई प्रशासनको जिम्मा दिइएको छ । यो सरासर गलत कुरा हो । डाक्टरको संख्या नै कम भएको अवस्थामा झन प्रशासनिक कामको जिम्मा दिनु राम्रो होइन । अस्पतालका निर्देशक डाक्टर भएर हुन्न । हेल्थ म्यानेजमेन्टमा डिग्रि गरेको व्यक्ति हुनुपर्छ । डाक्टरले उपचारात्मक सेवा छाडेर प्रसासनतिर हेर्दा थप समस्या आउँछ ।