नानीदेखि लागेको बानी छुटाउन साह्रै गाह्रो हुने रहेछ। जति छुटाउन खोजेपनि नहुने। कार्यक्रम स्थलमा पुग्दा १५ मिनेट ढिलै भएको थियो। त्यहीँमाथि भवनको हल पत्ता नलागेर एकछिन त विश्वविद्यालयको चक्कर लगाइयो।
बेइजिङ फरेन ल्यांग्वेज स्टडिजमा नेपाली दूतावासले गत मार्च २५ मा ‘नेपाल चाइना रिलेसन’ नामक कार्यक्रमको आयोजना गरेको थियो। ‘नेपाल भ्रमण वर्ष-२०२० मा सबै चिनियाँलाई स्वागत छ’, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले कार्यक्रममा आफ्नो प्रस्तुति अघि बढाए।
कार्यक्रममा चिनियाँ र नेपाली युवायुवतीजम्मा भएका थिए। कार्यक्रममा उनले नेपाल र चीनको सम्बन्ध वर्षौं पुरानो भएको, अरनिको र भृकुटीले गर्दा नेपालको नाम चम्काएको जस्ता कुराहरू भन्न छुटाएनन्।चिनियाँहरूलाई नेपालको बारेमा बुझाउन, नेपाल कस्तो देश हो भन्ने बुझाउन, नेपालको संस्कृति देखाउन नेपाल सम्बन्धित फोटोहरू कार्यक्रमहलको वरिपरि सजाइएका पनि थिए।
नेपाल र चीनबीच सन् १९५५ मा दौत्य सम्बन्ध स्थापना भएको थियो। नेपाल-चीन सम्बन्धमा मन्जुश्री, स्रङचङ गम्पो र भृकुटी, अरनिको र कुब्लाखाँन आदिदेखि लिएर नेपालका पूर्व राजा तथा प्रधानमन्त्रीहरूसँगका भेटघाट भ्रमणहरू इतिहासका प्रमाण हुन्।
चीन र नेपालको सम्बन्ध सदियौं पुरानो हो। भृकुटीले तिब्बतका राजा गम्पोसँग विवाह गरेपछि अझै प्रगाढ भयो। उतिखेर पनि नेपाल नुनदेखि सुनसम्म तिब्बतसँग नै भर पर्नुपर्थ्यो। भृकुटी बौद्ध धर्ममा आस्था राख्ने हुनाले बिहेपछि उनले दक्ष नेवारी कालिगडहरूलाई तिब्बत लगेर बुद्धमूर्तिहरू बनाउन लगाइन्। हाल तिब्बतको पोतला दरबारमा उनका पालामा निर्मित मूर्तिहरू संग्रहित छ।चीनका मञ्जुश्रीले पनि चोभारको पानी निकास गरी काठमान्डौंमा बस्ती बसालेको किम्वदन्ती अझै पनि सुन्न सकिन्छ। यसबाट पनि नेपाल र चीनको सम्बन्धको गहिराइ नाप्न सकिन्छ।

कतिपय चिनियाँ नेताहरूले नेपालको भ्रमण गरेका छन् र नेपालका राजा र प्रधानमन्त्रीले पनि चीन भ्रमण गरेका छन्। चीनका प्रणेता माओत्सेतुङले ‘मेरो मित्र नेपाल र नेपाली जनता चिनियाँका मित्र हुन्’ भनेका थिए।
कार्यक्रममा चीनका लागि नेपाली राजदूतले च्वीयुङक्यानस्थित ग्रेटवालमा रहेको नेपाली रन्जना लिपिको फोटो, चीनमा भेटघाट गरेका नेपाली नेताहरूको तस्बिर प्रस्तुत गरे। चीनमा भएका नेपाली कालीगडले बनाएका सम्पदाहरूको पनि चर्चा गरे। यस्तो कार्यक्रममा आयोजना गरेकोमा चिनियाँ विद्यार्थीहरू खुसी व्यक्त गर्दै नेपालबारे अझै जान्न उत्सुक भए।

नेपाल विश्वमा पर्यटनका लागि उपयुक्त १० देशमध्ये एक हो। नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। यहाँ विश्वकै ठूला-ठूला हिमालहरू अवस्थित छन्। पर्वतारोहण र साहसिक पर्यटन र वातावरणीय पर्यटन मुख्य आकर्षण हो। गौतम बुद्धको जन्मठाउँ लुम्बिनी विश्व सम्पदा सूचीमा पनि संगृहीत छ, जहाँ बौद्ध धर्मावलम्बीहरू आउने गर्दछन्।
सरकारले ‘नेपाल भ्रमण वर्ष’को तयारीका लागि विभिन्न कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ। आउँदो २०२० मा २० लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्य बोकेको छ। यसअघि पनि सन् १९९८ मा ५ लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्यसहित ‘भिजिट नेपाल’ र सन् २०११ मा १० लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखेर ‘नेपाल टुरिजम इयर’ मनाएको थियो।
नेपाल सरकारले २०२० मा २ वटा अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र लुम्बिनीमा बनाउने र ३३०-२०० को हाराहारीमा पर्यटक बस राख्ने योजना बनाएको छ।
नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१८ मा १.२ मिलियन पर्यटकले नेपाल भ्रमण गरेका थिए। त्यसमध्ये ५ लाख चिनियाँ पर्यटक थिए।नेपाल आउने अधिकांश पर्यटकमध्ये छिमेकी देश भारत र चीन रहेका छन्।सन् २०१७ को तुलनामा सन् २०१८ मा चिनियाँ पर्यटक ३५.३५ प्रतिशतका दरले वृद्धि भएको थियो।

हुन त अन्य देशमा रहेका नेपाली दूतावासहरूले आ-आफ्नै तरिकाले नेपालको पर्यटनको प्रवर्द्धन गरिरहेका होलान्। चिनियाँ पर्यटक बढाउन र नेपाल चिनाउन बेइजिङस्थित नेपाली दूतावासले सक्दो प्रयास गरिरहेको छ। २ वर्षदेखि फरेन ल्यांग्वेज स्टडिज युनिभर्सिटीमा नेपाली भाषाको अध्ययन अध्यापन भइरहेको छ। राजदूतको प्रस्तुतिपछि उत्साहित भएका नेपाली भाषा अध्ययनरत चिनियाँ विद्यार्थीहरूले आस्था तामाङ मास्केको ‘घामको सानो टुक्रा’ गीत पनि गाएर सुनाइदिए।
कार्यक्रममा नेपालको संस्कृति झल्काउन कुमारी नृत्य, तामाङ सेलो र मारूनी नाच देखाइएको थियो। दूतावासका मिनिस्टर सुशील लम्सालले नेपाली नृत्यको मौलिकता तथा सांस्कृतिक इतिहासबारेमा पनि जानकारी दिए।
नेपालमा जति धेरै पर्यटन बढाउन सक्यो उति नै देशको अर्थतन्त्र समृद्ध हुन्छ। तर, पर्यटक बढाउन औपचारिक कार्यक्रम मात्रैको आयोजना पर्याप्त होइन। पर्यटकहरूको सुविधाका लागि कतिको प्रयास गरिएको छ? उनीहरूको प्रतिक्रिया बुझ्नु र सोही अनुरूप सुधार गर्दै जानु पनि जरूरी कुरा हो। नेपाल गएका केही चिनियाँ पर्यटकहरूको गुनासामा प्रमुख त यातायातको असुविधा नै थियो।

जबसम्म पर्यटकको सुविधा र सुरक्षालाई ध्यानमा राखिँदैन तबसम्म नेपालको पर्यटकीय छाप राम्रो बस्दैन। पर्यटकमा राम्रो सन्देश गयो भने यस्ता कार्यक्रम नगरीकनै नेपाली पर्यटनको विज्ञापन हुँदै जानेछ।
चिनियाँ पर्यटकप्रति जतिसक्दो सकारात्मक प्रभाव पार्न सकियो भने यसले आगामी दिनमा पनि धनी बन्दै गएका चिनियाँ पर्यटकको ठूलो हिस्सा नेपालमा भित्र्याउन सकिनेछ। अनि प्रधानमन्त्री केपी शर्मा ओलीले भनेजस्तै पर्यटन क्षेत्रबाट देशको आय दोब्बर बनाउन सकिनेछ।
'नेपाल भ्रमण वर्ष, २०२०' लाई सफल बनाउन सरोकारवाला सबै निकायहरू लागेमा भ्रमण वर्ष सफल हुनेछ र प्रधानमन्त्रीकै शब्दमा झन्डै १० लाख नेपालीले रोजगारी पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।