चीनमा फेसबुक, ट्विटर, भाइबर जस्ता सामाजिक सञ्जाल प्रतिबन्धित भएपछि चिनियाँमाझ वीच्याट लोकप्रिय छ। चीन आउने जो कोही विदेशीले पनि यसको प्रयोग गर्दछन्। यसबाट पैसाको कारोबार पनि सजिलैसँग गर्न सकिन्छ।
यही वीच्याटमा एउटा भिडियो भाइरल भयो।
भिडियोमा देखिएअनुसार ४/५ जना पश्चिमाहरू चिनियाँ रेस्टुरेन्टमा जान्छन्। एउटा ठूलो गोलो घुम्ने टेबलमा वेटरले खानेकुरा भरिएका प्लेटहरू क्रमशः ल्याउँदै राखिदिन्छ। प्रत्येक प्लेटमा फरकफरक खानेकुरा हुन्छन्। टेबुल घुम्दै खानेकुरा जो जसको अघिल्तिर पुग्छ, उनीहरूले त्यही त्यही प्लेट उठाएर आफ्नो अघिल्तिर राख्छन्। प्लेटमा सिंगो माछा पर्नेले माछा मात्रै खाइरहेको हुन्छ, भात हुनेले भात मात्रै र तोफूको कराई पर्नेले चाहिँ तोफू मात्रै खाइरहेको देखिन्छ। उनीहरूलाई चिनियाँ परम्परा अनुसार सबै जना वरिपरि बसेर खानेकुरा बाँडीचुँडी खाने शैलीबारे जानकारी थिएन। शायद पश्चिमाहरूमा बाँडीचुँडी अर्थात् सेयरिङको परम्परा नभएको पो हो कि? तर चिनियाँ होटलले आफ्नै खाने परम्परा अनुरूप खानेकुरा ल्याएर टक्र्याइदियो।
चिनियाँ संस्कृतिमा नयाँ पाहुनालाई खाना खान निम्त्याउने चलन छ। त्यसैले म बेइजिङ आउनेबित्तिकै चिनियाँ आफन्तले खाना खान निमन्त्रणा दिए। होटलभित्र एउटा ठूलो गोलो टेबलमा तोफू, यौछाइ, कुङपाउ चितिङ, भात, सुप र सुन्तलाको जुस राखिएको थियो। अगाडि कचौरा, गिलास र चपस्टिक पनि थियो।

खाना खानेबेला उनै चिनियाँ आफन्तले चपस्टिकले तान्दै सबै खाना पालैपालो आफूले पनि खाँदै र मलाई पनि त्यही चपस्टिकले थप्दै गरिरहेकी थिइन्। उनको चपस्टिकबाट मेरो प्लेटमा खानेकुरा पर्ने बित्तिकै मलाई कस्तो कस्तो लाग्न थालिहाल्यो। नखानु पनि कसरी? भयो, पुग्यो भनेर छोड्ने हिम्मत पनि भएन। दिगमिग भइरहे पनि संकोचका कारण खाइरहेँ। भित्र पेटमा भने हुन्डरी नै मच्चिन थालिसकेको थियो। बान्ता नै आउला जस्तो भयो तर पनि अरूको अगाडि इज्जत त जोगाउनुपर्यो। त्यसमाथि कुनै पनि चिनियाँको निम्तोमा पहिलोपटक खान गएकी म। एउटै प्लेटबाट यसरी खानुपर्ला भन्ने अगाडि नै थाहा हुँदो हो त सायद निम्ता नै बहिस्कार गर्ने थिएँ होला।
मलाई अरूको जुठो खान मन लाग्दैन तर चीनमा आएदेखि चिनियाँहरूसँग खान जाँदा यसरी जुठोको सिकार भइन्छ नै। चिनियाँहरू गाईगोरू, गधा, भ्यागुता, सर्प, सुँगुरको मासु बढी रूचाउँछन्। आफ्नै अगाडि एउटै चपस्टिकले ती मासु खाएको थाहा पाएर पनि घिन नमानीकन कसरी खान सक्नु? मासु नखानेले पनि ती लसपस भएका खानेकुरा अन्जानवश खाइरहेकै हुन्छ।
एक जना भारतीय मित्र अनामिका साकाहारी हुन्। आफू कतै घुम्न गएको बेला एउटै टेबलमा चिनियाँसँग खानु पर्ने भएकाले आफ्नै घरबाट खानेकुरा प्याक गरेर हिँड्नुपर्ने बाध्यता छ। मासु नभएको खाना पर्खियो भने त भोकै पर्ने सम्भावना हुन्छ।
चीनमा एकैसाथ एउटै भाँडोबाट खानेकुरा खायो भने एक-अर्कालाई बुझ्न सक्ने र भावनात्मक सम्बन्धको विकास हुन्छ भन्ने मान्यता छ। यो चीनको परम्परागत चलन हो। हाम्रोतिर पनि जुठो खानाले माया बढ्छ भन्ने भनाइ त छ। त्यसैले त बिहेमा बेहुलाको जुठो बेहुलीलाई खान लगाइन्छ। कुनै रीतिरिवाज त चिनियाँ र नेपालीको पनि मिल्दोजुल्दो हुँदो रहेछ।

चीनमा समानताको वकालत गर्नका लागि हुनुपर्छ, सबै जनाले सहभोज गर्ने गरेको। नयाँ पुस्ता परिवर्तनकामी भए पनि चीनको पुरानो पुस्तामा भने उही रूढिवाढी परम्पराको अवशेष बाँकी नै छ। कुनैकुनै प्रान्तमा घरमा पाहुना आउँदा पुरूषहरू पाहुनासँग बसेर खाने र घरका महिलाहरू उनीहरूले खाएर उठेपछि खाने चलन बाँकी नै छ।
चिनियाँ खाना संसारमै प्रसिद्ध छ। यहाँ प्रान्तैपिच्छे खानाको विशेषता छ। चिनियाँ खाना पश्चिमा खानाभन्दा भिन्दै स्वादको छ। यहाँको खानाका धेरै परिकार र स्वाद पाइन्छ। चिनियाँहरू खानाको पारखी हुने भएकाले यहाँ धेरै खानाको आविष्कार भएको हो। खानाको पारखीहरू चीन आउँदा जिब्रो फटकारी थरीथरीका स्वाद चाख्ने गर्दछन्।
चीनको खानाले सांस्कृतिक परम्परा पनि बोकेको छ। चिनियाँको एउटा भान्सामा अनेकन पाककलाहरू झल्किएको देख्न सकिन्छ। खानाको निर्माण र विकासको लागि विशेष क्षेत्रको गुण, हावापानी, रीतिरिवाज, शैलीको संयोजनको हुनुपर्दछ।

आज संसारका जुन कुनामा चिनियाँहरू पुगेका छन्, उनीहरूले आफ्नो देशको खानपान, कला संस्कृतिलाई फैलाइरहेका छन्।
चीनको बसाइ अझै लम्बियो भने कति चिनियाँको जुठो खानुपर्ने होला! सम्झेरै दिक्क लाग्छ। जुठो खाने परम्पराले मात्र एकताको भावनाको विकास होला र? त्यसमा स्वच्छता रोगव्याधीका कुरा पनि जोड्नुपर्छ होला नि। हाम्रो समाजमा सानाठूला, जातपात भनेर भेदभाव गरिन्छ र जुठो खानु खुवाउनुलाई गम्भीर विषय ठानिन्छ। अझ श्रीमतीको जुठो खायो भने श्रीमानको आयु घट्छ भन्छन् समाजमा। आर्थिक विकास र सुखद् जीवनसँगै चिनियाँहरूको औसत आयु नै बढिरहेको छ भने जुठो खानाले आयु घट्छ भन्ने कुरा नै झुटो हुन सक्छ।
नेपालमा जुठोको जति मान्यता छ, पश्चिमा र चीनमा पनि रहेनछ सायद। त्यसैले त उनीहरूको शब्दकोशमा ‘जुठो’ भन्ने शब्द नै रहेनछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।