काठमाडौं– सहिद शुक्रराज शास्त्री नेपाली प्रजातान्त्रिक इतिहासका महानायक हुन्। २००७ सालको क्रान्तिमा दिएको बलिदानबाटै उनलाई सबैले चिन्दै आएका छन्।
तर, शुक्रराज गीतकार पनि हुन्। गीतकारका रुपमा पनि उनले आफूलाई उत्तिकै युगद्रष्टा प्रस्तुत गरेका थिए।
उनका गीतका शब्दमा त्यो कालखण्डताका पनि नारीप्रतिको सम्मान झल्कन्छ।
गीतको शब्दले भन्छ–
‘न घरलाई घर कहिन्छ,
नारी नै दरबार हो’
त्यसैगरी यो गीतलाई स्वर दिने अर्की नेपाली ऐतिहासिक पात्र हुन्, पहिलो नेपाली गायिका मेलवादेवी। चन्द्रशमशेरको दरबारमा गायिकाको रुपमा सेवारत मेलवादेवीका भोगाइ अहिले पनि दन्त्य कथा जस्तै नेपाली समाजले सुन्दै आएको छ।
संगीतकर्मीहरूका अनुसार त्यो बेलाको गायकीका हिसाबले मेलवादेवीलाई दक्षिण एसियाकै स्तरमा राखेर तुलना गर्न सकिन्छ।
ओखलढुंगाको रुम्जाटारबाट आएकी मेलवादेवीले संगीतको साधना गर्दागर्दै कालान्तरमा शास्त्रीय स्वरलाई मिलाएर गाउनसक्ने अद्भूत कला विकास गरेकी थिइन्।
उनको रेकर्ड भएका गीतहरू मध्येमा ‘सवारी मेरो रेलैमा’ बढी चर्चित छ। अर्को गीत हो– ‘न घरलाई घर कहिन्छ।’ रेकर्ड भइसकेता पनि हिजोआज दुर्लभ भइसकेको शुक्रराज शास्त्री र मेलवादेवीको यो गीतलाई पलेँटी श्रृंखलाले अब आम श्रोताहरूको निम्ति युट्युबमा राखेको छ।
यस गीतलाई गत महिनाको पलेंटी श्रृंखलामा गायिका मीनाले गाएकी थिइन्।
गायक तथा संगीतकार आभासका अनुसार उक्त अवसरमा मिनाले गाएको सबै जसो महान गायिकाहरूका गीतलाई क्रमशः युट्युबमा सार्वजनिक गर्ने योजना पलेँटी श्रृंखलाले राखेको छ।
झण्डै १३ वर्षदेखि चल्दै आएको पलेँटी बीचमा केही समय बन्द भएपछि गत महिना यता पुन: निरन्तरता पाउन थालेको छ। गएको महिना यसले नेपालका महिला स्वरहरूको सम्मानमा आफूलाई प्रस्तुत गरेको थियो।
यसपाला भने अंग्रेजी महिनाको अन्तिम साता अर्थात् यही साता तीन दिनसम्मै पलेँटीले यसकै संयोजक गायक आभाषको गायन यात्रालाई प्रस्तुत गर्ने भएको छ।
पलेँटीमा सिट सुरक्षित गर्न चाहनेहरूका निम्ति थुप्रै डट कमले अनलाइनबाटै टिकट वितरणको बन्दोबस्त मिलाएको छ।
त्यसैगरी टेलिफोनबाट बुकिङ गर्नेहरूलाई घरमै टिकट पठाइदिने व्यवस्था गरिएको संयोजक आभाष बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।