शनिबारको दिन छ। म राजधानीको एउटा हलमा फिल्म ‘खाग’ हेरिरहेको छु। चितवनको जंगलमा संरक्षित एकसिंगे गैंडाजति मान्छे पनि हलमा छैनौं। कुर्सीहरु एक्लाएक्लै छन्, जंगलका सुनसान रुखहरु जस्तै। हामी दर्शक गैंडा जस्तै अर्थात् एकदमै कम। कुर्सी जति- हामी उति हुनुपर्थ्यो। यथार्थ महसुस गरेर मन त्यसैत्यसै अमिलो भयो। आफैंलाई थामियो र आफैंलाई प्रश्न गरियो, ‘मनोज पण्डितले निर्देशन गरेको कुन फिल्ममा धेरै दर्शक देखेको छस्?’
फिल्म ‘छायाँ’ यस्तै अल्पदर्शकका साथ हेरेकै हो। ‘बधशाला’ हेर्न कौन्सा भिड उर्लेको थियो र? ‘दासढुंगा’मा अलिकति मान्छे थिए। त्यो फिल्म बनाएकोमा आफूलाई पछुतो रहेको उनले केही दिनअघि मात्रै नेपाल लाइभसँग बताएका थिए।
‘खाग’ फिल्म चल्नुअघि हलको पर्दामा देखाइरहेका केही नेपाली फिल्मका विज्ञापन हेर्न थालेँ। प्रेमकथामा आधारित फिल्मका पात्रको ‘डायलग डेलिभरी’ले अघिल्लो दिन हेरेको हिन्दी फिल्म ‘टोटल धमाल’ले भन्दा बढी हँसायो। एउटा नमिठो कल्पना गरेँ, ‘म यसैगरी शनिबारको दिन यो फिल्म हेर्न आएँ भने टिकट नपाउन पनि सक्छु।’
मनोजका फिल्मले सधैं कुनै न कुनै सामाजिक मुद्दा बोक्ने गर्छन्। आम मान्छेका कथा उनको रुचिका विषय हुन्। म अहिले त्यही एउटा आम मान्छे तर समाजको नायकमाथि बनेको फिल्म हेर्न आइपुगेको छु। केही वर्षअघि नै देखेको थिएँ, कमलजंग कुँवरद्वारा लिखित संस्मरण ‘गैंडालाई चार वर्ष’। तर, पढ्नैपर्ने किताबको सूचीमा नाम राखेर पढ्न पाएको थिइनँ। त्यसैमाथि मनोजले फिल्म बनाइदिए, किताब पर्दामै हेर्न आज आइपुगेँ।
फिल्म सुरु भयो। गैंडा जोगाउन संघर्ष गर्ने मान्छेको कथा फिल्ममा हेरेँ। ‘खाग’ नेपालमा सकसपूर्ण रुपमा जीवन जोगाइरहेको लोपोन्मुख जनावर संरक्षणको कथा रहेछ। सामाजिक उत्तरदायित्वको कथा रहेछ। र, त्योभन्दा बढी इमानदारिताको कथा रहेछ।
मनोज त्यस्ता फिल्मकर्मी हुन्, जसको फिल्मको आर्थिक हिसाबकिताबमा रुचि छैन। तर, सामाजिक हिसाबकिताब भने खोजिरहन्छन्। त्यो भनेको फिल्मले समाजमा बहस सिर्जना गर्यो कि गरेन?
मनोज व्यक्तिगत स्वार्थभन्दा माथि उठेर दायित्व निर्वाह गर्ने मानिसहरुको कथा भन्छन्। फिल्मको अन्तिममा भनिन्छ, ‘तपाईं इमानदार हुनुहुन्छ, यो तपाईंको कथा हो।’
अधिकांश सुटिङ चितवन, हेटौंडा र नवलपरासीमा गरिएको रहेछ। निकुञ्ज वरिपरि गरिएको सुटिङमा उनले मोलेका जोखिम दृश्यमा स्पष्ट देखिन्छन्। मनोजको मेहनत झल्किन्छ।

मनोज फिल्म बनाउने क्रममा पात्रभित्र प्रवेश गर्छन्। यसमा पनि उनले आफ्नो त्यो स्वभाव कायम राखेका छन्। यो फिल्म ‘बनाउँछु’ भन्दा बनिहाल्ने खालको होइन। नेपाली फिल्म क्षेत्रको रिपोर्टिङ अनुभवले के बताउँछ भने ‘कालो धन सेतो बनाउन’, ‘रामरमाइलो गर्न’ र नाफा खोज्न मात्रै आइपुग्छन् निमार्ताहरु। यस्ता फिल्मका लागि कसरी निर्माता खाजे होलान् उनले? कसरी खोज्छन् होला उनी? कुनै दिन यी प्रश्न सोध्नेछु उनलाई।
मनोजका फिल्मले आर्थिक उन्नति गर्दैनन्। त्यसो भए के गर्छन् त? मनोजको एउटै सिद्धान्त छ– फिल्मले सधैं ‘राजनीति’ गर्नुपर्छ।
मैले बुझेअनुसार अहिलेका नेताले गरिरहेको राजनीति होइन। समाजलाई रुपान्तरण गर्न फिल्मले सघाउनुपर्छ। उनी आफ्नो फिल्म समाजसँग जोड्न चाहन्छन्। शक्ति संरचनासँग हस्तक्षेप गर्न चाहन्छन्। शक्तिले सधैं कमजोर पक्षलाई दबाउने र थिच्ने काम गर्छ। उनी फिल्मका माध्यमबाट सधैं प्रतिवादमा उत्रिन्छन्।
फिल्म निर्माणका क्रममा राजनीतिक दबाब पनि खेप्नुपरेको अनुभव उनी सञ्चारमाध्यम र साथीभाइलाई सुनाइरहन्छन्। ‘ग्रेटर नेपाल’ निर्माण ताकाका घटना उनले सुनाइरहने मध्येको एक हो। उनले भनेका छन्, ‘ग्रेटर नेपाल’ बनाएपछि मलाई एउटा राष्ट्रिय पुरस्कार दिइने घोषणा भयो। अघिल्लो दिन अवार्डस्वरुप २ लाख रुपैयाँको चेक बुझे। तर, भोलिपल्ट नाम अर्कैको आयो।’
सामाजिक विषयमाथि फिल्म बनाउन नछाड्नेहरु ‘एकसिंगे गैंडा’ जस्तै हुन्। फिल्ममा हलबाट निस्किदै गर्दा लाग्यो, ‘यिनीहरुलाई जोगाउनुपर्छ।’
कारण यही फिल्म थियो। भारतीय दूतावासको चित्त दुखाएर मनोजलाई खुसी पार्न नेताहरुले चाहेनन्। पुरस्कार मात्रै खोसियो तर प्रत्यक्ष दबाब दिने आँट भने कसैले नगरेको उनी सुनाउँछन्।
पण्डित त्यस्ता फिल्मकर्मी हुन्, जसको फिल्मको आर्थिक हिसाबकिताबमा रुचि छैन। तर, सामाजिक हिसाबकिताब भने खोजिरहन्छन्। त्यो भनेको फिल्मले समाजमा बहस सिर्जना गर्यो कि गरेन?
नेपाली फिल्मको इतिहासक्रममाथि पनि उनी प्रश्न गरिरहन्छन्। उनलाई लाग्छ, ‘नेपाली फिल्म निर्माण कहिल्यै पनि सही बाटोमा रहेन। फिल्ममा भाषा मात्र हाम्रो भयो। सोच, कथा र प्रणाली नै अरुको कपी गरेका छौं।’
धेरै नेपाली फिल्मकर्मीहरु सस्तो लोकप्रियता र अनेक स्वार्थको पछि कुदिरहेका छन्। यस्तो अवस्थामा पनि सामाजिक विषयमाथि फिल्म बनाउन नछाड्नेहरु ‘एकसिंगे गैंडा’ जस्तै हुन्। फिल्ममा हलबाट निस्किदै गर्दा लाग्यो, ‘यिनीहरुलाई जोगाउनुपर्छ।’
तर, यस्ता सोच भएका फिल्मकर्मीहरुलाई जोगाउनु अहिलेको समयमा गैंडाको खाग जोगाउनुभन्दा मुस्किल छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।