काठमाडौं- नेपालको पूँजीबजार निकै संवेदनशील छ। लगानीकर्ता होस् वा नियामक नै किन नहोस्, स–साना कुराले पनि पूँजीबजारमा ठूलै असर पारेको हुन्छ। तर यो कुराको राम्रै ज्ञान भएका र बजार ‘फ्याक्टर’का राम्रो जानकारी भएका लगानीकर्ता नै आफैं उत्तेजित भएर बजार अस्थिर हुने परिस्थिति सिर्जना गर्न लागि परेका छन्।
पूँजीबजारमा नयाँ विषय प्रवेश हुने बित्तिकै त्यसको विरोध गरेर बजार अस्थिर बनाउन लगानीकर्ता नै बढी जिम्मेवार देखिन थालेका छन्।
केही समयअघि लगानीकर्ताले पूँजीबजार सुधारका लागि भन्दै १० बुँदे माग राखेर अनसन नै सुरु गरे। आमरण अनसन बसेका लगानीकर्ता दबाब समूहले ४ दिनपछि अनसन तोडे। सरकारले आफूहरूलाई राजनीतिक दृष्टिले हेरेको भन्दै आफूहरूले अनसन तोड्नु परेको उनीहरूको भनाइ थियो।
अनसन सुरु गर्दा उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको थियो, ‘हामीपूँजी बजार सुधार, विस्तार र आम लगानीकर्ताको लगानी सुरक्षाको माग राख्दै अनसन बसेका हौं।'
तर अनसन तोड्दै गर्दा सीमित लगानीकर्ता भित्रको कुण्ठा उनीहरु बाटै पोखियो। ४ दिनसम्म बसेको आमरण अनसन तोड्दैगर्दा सार्वजनिक गरिएको विज्ञप्तिमा जुन कुरा उल्लेख छ, त्यो वास्तवमै आन्तरिक कुण्ठा झल्किएको छ भन्ने बुझ्न गाह्रो छैन।
लगानीकर्ता दबाब समूहले अनसन तोड्ने बेला जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले हामीले अघि सारेका १४ बुँदे माग बेवास्ता गरी उल्टै शेयरको मूल्य घटाउन अनसन बसेको, नेता बन्न अनसन बसेको, कांग्रेस, राप्रपा र राजपाका कार्यकर्ता अनसन बसेको जस्ता अनर्गल प्रचार भएका कारण हामीले अनसन तोड्नु पर्यो।’
आन्दोलनका लागि तम्सिने र बेलाबेला चुनौती दिइरहने कार्यमा सीमित लगानीकर्ताका अनुहारमात्र बारम्बार किन दोहोरिन्छन? यो प्रश्नको उत्तर उनीहरुकै विज्ञप्तिले छरपस्ट पारेको छ।
केही समयअघि ब्रोकर कम्पनीहरूले पनि यस्तै नाटक मञ्चन गरे, व्यक्तिविशेषलाई लक्षित गर्दै। नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले धितोपत्र दलाल व्यवसायीहरुप्रति लक्षित गर्दै कपोलकल्पित र भ्रमपूर्ण कुरा बोलेको भन्दै त्यसको सार्वजनिक विरोध गरे। कार्कीको शैलीप्रति असन्तुष्टि जनाउँदै नसच्चिए उनीविरुद्ध आन्दोलनमा जानेसम्मको धोषणा लगानीकर्ताका समूहले गरे।
अहिले फेरी लगानीकर्ता दवाब समूहले आन्दोलनको घोषणा गरेको छ। आफ्ना माग सरकार तथा नियमनकारी निकायले बेवास्था गरेको भन्दै ८ दिने आन्दोलनको घोषणा गरेको छ। दबाब समूहले यो आन्दोलनलाई पूँजीबजार सुधारका लागि निर्णायक आन्दोलन भएको उल्लेख गरेको छ।
तर, मागको फेरिहस्त हेर्ने हो भने पछिल्लो समय लगानीकर्ताहरू बजार सुधार गर्नेतर्फभन्दा पनि व्यक्ति विशेषलाई निशाना साँध्न लक्षित हुन थालेको देखिन्छ।
लगानीकर्ता समूहका निशानाको केन्द्रमा छन् अर्थमन्त्री डा. युवराज खतिवडा र धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की। उनीहरुकै शब्दमा यी दूई व्यक्ति पूँजीबजार घटाउन लागिपरेका र लगानीकर्ताका सबैभन्दा ठुला शत्रु हुन्।
सामान्य शर्तका लागि असामान्य आन्दोलन
शेयर लगानीकर्ता दबाब समूहले पछिल्लो पटक फागुन २७ गते सार्वजनिक गरेको आन्दोलनका कार्यक्रमहरु हेर्दा असामान्य लाग्छन्। उनीहरुले घोषणा गरेको आन्दोलन कार्यक्रमअनुसार चैत ९ गते पुँजीबजार विरोधी अर्थमन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई आग्रह गर्ने, १० गते बोर्डका अध्यक्ष र कार्यकारी निर्देशकको घर घेराउ गर्ने, ११ गते नेप्सेका अध्यक्ष र कार्यकारीको घर घेराउ गर्ने, १२ गते सिंहदरबार क्षेत्रमा कालो बेलुन उडाउने, १३ गते बोर्डमा तालाबन्दी गर्ने, १४ गते लगानी सम्मेलनमा आउने विदेशी पाहुनालाई नेपालको पूँजीबजारको बारेमा अवगत गराउन विवरणपत्र बुझाउने, १५ गते विदेशी पाहुनासँग छलफल गर्ने र १६ गते प्रधानमन्त्री र अर्थमन्त्री जाने सार्वजनिक कार्यक्रममा विरोध प्रदर्शन गर्ने रहेका छन्।

आफ्ना केही माग सम्बोधन भएको स्वीकार गरेको लगानीकर्ता दबाब समूहले बाँकी माग पूरा गर्न आन्दोलनमा नै किन जानु पर्यो? सबै माग एकैचोटि पूरा गर्न नियामकलाई पनि व्यवहारिक कठिनाई हुनसक्छ। आजको भोलि नै नतिजा खोज्नु कति उपयुक्त होला?
स्थायी लेखा नंम्बर (पान)देखि किन अत्तालिए लगानीकर्ताका समूह?
बैशाख १ गतेदेखि पूँजीबजारका लगानीकर्ताका लागि स्थायी लेखा नम्बर अनिवार्य गर्ने सरकारको निर्णयलाई लगानीकर्ताले सिधा चुनौती दिएका छन्। दबाब समूहले स्थायी लेखा नंम्बरको औचित्य पुष्टि नभएको भन्दै त्यसलाई स्वेच्छिक बनाउनुपर्ने माग राखेको छ। पानका विषयमा लगानीकर्तामा अझै द्विवधा छ। तर सरकारले लगाएको नियमलाई नै मान्दैनौं भन्न सुहाउँदैन कि?
पान लागू गर्दा सरकारका पक्षबाट पनि केही कमजोरी पक्कै भएका छन्। जस्तो कि पान किन आवस्यक छ भन्ने कुरामा नै लगानीकर्ता अन्यौलमा छन्। यो बुझाउने काम सरकार र नियामक निकायको हो। सरकार र नियामक निकायले नै स्पष्ट गरिदिनुपर्छ।
लगानीकर्तालाई त्यसका बारेमा बुझाउनुपर्छ। उपयोगिता नबुझाईदिँदा समस्या देखिएको हो। सरकारले पानको कुरा ल्यायो तर लागू गर्न सकेन। यसको समीक्षा गर्न सरकार चुकेकै हो।
लामो समयदेखि पूँजीबजार सूचक नेप्से १ हजार १ सय देखि १ हजार ३ सयको हाराहारीमा रुमल्लिरहेको छ। सामान्यतया माग र आपूर्तिको सिद्धान्तमा आधारित नेप्से बजारमा बेलाबेला सरकार र नियामक निकायले उठाएका कदमबाट प्रभावित भई अस्थिर हुने गरेको छ।
पूँजीबजारसँग सम्बन्धित जुनसुकै क्षेत्रले गरेका निर्णयहरुले बजारमा असर गर्छ। निरन्तर ओरालो लाग्दै आएको नेप्सेका विषयले पछिल्लो समय लगानीकर्ता नै बढी उत्तेजित हुने गरेका छन्। त्यसको असर पनि पूँजीबजारमा नै पर्ने देखिएको छ, नकारात्मक। यसकारण संवेदनशील बजारको प्रकृति लगानीकर्ताले पनि बुझ्ने कि?
यो पनिः
लगानीकर्ताको आवरणमा राजनीति, समर्थनमा पुगे दलका नेता
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।