'सर, २ बजेको फ्लाइट छ, तपाईं कहाँ हो? छिटाे गर्नुस् है'
ताप्लेजुङ हेलिकाेप्टर दुर्घटनामा दिवंगत भएकाहरुकाे शव ताप्लेजुङकै सुकेटार विमानस्थलबाट काठमाडाैंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा झारिँदै गरेकाे श्रव्यदृश्य सामग्री फेसबुकमार्फत लाइभ गरिरहेकाे अवस्थामा सहकर्मी विमर्श कँडेलले मलाई फाेन गरी सावधान गराए।
'म फेसबुक लाइभमा छु सर, १० मिनेटमा आइहाल्छु, गेट बाहिर पर्खिंदै गर्नुहोस् है', मैले उहाँकाे शंका निवारण गर्ने प्रयास गरें।
देशका उच्च ओहोदाका व्यक्ति मन्त्री रवीन्द्र अधिकारीसँगै अन्य ६ जनाको शव सेनाको हेलिकोप्टरबाट निकाल्दै शववाहनमा राखिँदै थियो। नेपाली सेना, नेपाल प्रहरी, हवाई प्रदायक संस्थाका कर्मचारीहरु शव व्यवस्थापनमा सघाइरहेका थिए भने त्यहाँ उपस्थित विशिष्ट व्यक्तित्व, आफन्त तथा शुभचिन्तकहरु भने साेही विक्षिप्त दृश्य हेर्दै विलापको भाव पोखिरहेकाे भान हुन्थ्यो।
केहीबेरमा शववाहनहरु ७ वटै शव लिएर पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जतर्फ हुइँकिए। घडीमा १ बजेर ३५ मिनेट गइसकेकाे थियाे। म हतारिँदै विमानस्थलको आन्तरिक टर्मिलन भवनकाे गेटतर्फ लम्किए।

‘बुद्ध एयर’को टिकट बुक भइसकेपनि टिकट मसँग थिएन। सेक्युरिटी चेकिङमा पुग्नु अगावै गेटमै एक प्रहरी अफिसरले सोधे कहाँ जाने?
'पोखरा', जवाफ फर्काएँ।
अरु यात्रुलाई सम्झाइरहेका उनी इशारा गर्दै मेराे पनि टिकट माग्दै थिए। म हतारिँदै '२ बजेको फ्लाइट थियाे तर, साथी भित्र गइसकेको र टिकट पनि उहाँसँगै रहेकाे' प्रस्ट्याइरहेको थिएँ।
मोबाइलमा डिजिटल टिकट बोकेर भित्रबाट विमर्श आइपुगे र टिकट देखाए।
मेराे हताराे यतिबेलासम्म शान्त भइसकेकाे थियाे।
सेक्युरिटी जाँचका लागि क्यामेरा, ल्यापटप सहितको झोला एक्सरे मेसिनमा राखें यसअघि नै सेक्युरिटी चेक गराई भित्र छिरेका मित्र विमर्श पनि पुन: चेकिङमा सामेल हुनुपर्ने भयाे।
'यसअघि नै जाँच भइसकेकाे छ। दुई पटक किन?'
जाँचमा खटिएका प्रहरी भन्दैथिए- 'जतिपटक बाहिर जानुहुन्छ त्यतिपटक चेकिङ हुन्छ।'
बुद्ध एयरको काउन्टरमा पुगेका हामीलाई त्यहाँ रहेका कर्मचारीले २ वटा ‘बोर्डिङ पास’ थमाइदिए। झाेलामा 'बोर्डिङ पास'काे ट्याग पनि लगाइदिए।
'तपाईंको फ्लाइट २ बजेको रहेछ, तर, मैले सवा १ बजेकै फ्लाइटमा सारिदिएकाे छु है। १ नम्बर गेटबाट प्रस्थान गर्नुहोला।', उनले सुझाए।
कर्मचारीकाे भनाइ सुन्नेबित्तिकै मलाई हेक्का भइसकेकाे थियाे कि विमान ताेकिएकाे समयमा उड्नेछैन। अघिल्लाे फ्लाइटमै हाम्राे टिकट मर्ज गरिदिएकाे अवस्थामा डिले भएकाे थाहा पाउन कुनै मुश्किल परेन।
गेट नम्बर १ मा पुग्याैं। सिमराकाे फ्लाइट लामाे समयदेखि किन डिले भइरहेकाे छ भनि यात्रुहरु ताकेता गरिरहेका थिए। सुरुमा हामी पनि अलमलमा पर्याैं। कतै यी सबै यात्रु पाेखरा जाने त हाेइनन्। केही अघि बढेपछि एक कर्मचारी हामी माझमा आए र कहाँकाे भनि साेधे?

पाेखरा हाे भनेपछि उनले हामीलाई भित्र पस्ने अनुमति दिए। अलमलमै परेकी जस्ताे लाग्ने एक युवती पनि हामीपश्चात् धावनमार्गतिर लाग्ने बसतर्फ अघि बढिन्। १० मिनेटपछि मात्र बस गुड्यो।
बुद्ध एयरकाे 'एटिआर ७२' विमान धावन मार्गमा तयारी अवस्थामा थियाे। बसकाे गेट त खाेलियाे तर झर्ने अनुमति दिइएन। विमान नजिकै क्रु मेम्बर सवार एक भ्यान आएर रोकियो। जसमा सवार थिए विमानका क्याप्टेन मनिस बस्नेत एन्ड कम्पनी।
सवा १ बजेको फ्लाइट भनेर हतारिँदै विमानस्थल छिरेको म सवा २ सम्म पनि विमान भित्र छिर्न पाएकै थिइनँ। मनमा हतारो थियो र बैचैनी पनि। धापनमार्गकाे चहलपहल नियाल्न थालें। अन्तरिक उडानका अन्य विमानहरुको आवतजावतको आवाजले बेला-बेला ध्यान खिचिरहेकाे तानिरहेकाे थियो।
यतिकैमा उनै क्याप्टेन बस्नेत ‘एटिआर ७२’ को पंखा हातले घुमाउँदै विमानको चारैतिर नियाल्न थाले। कस्तो प्रकारको चेकजाँच हाे याे? मनमा प्रश्न उठ्यो।
'प्राविधिक परीक्षण हुनुपर्छ', विमर्श र म मुखामुख गर्दै फिँस्स हास्याैं। बसकाे ढाेकानेर उभिएका हामी चालककाे निर्देशन पाउसाथ विमानतर्फ अघि बढ्याैं। विमान चढ्नुअघि केही सेल्फी खिच्याैं। यसलाई केही अरुले पनि सिकाे गरे। प्राय: सामाजिक सञ्जालका भित्ताहरुमा यात्राका क्रममा अरुले पोस्ट्याउने सेल्फिमोडका विम्बहरुले मलाई झक्झक्याउनु पनि स्वभाविकै थियो।
केही राेमाञ्चक अनुभव र केही अपसोस, विमान उड्नुअघि नै मन कताकता उडिसकेकाे थियाे। किनकी हवाई यात्रा मेरा लागि राेमाञ्चाक अनुभव थियाे सायद कम यात्राकाे अनुभव बटुलेकाे भएर पनि हाेला। तर, जुनकर्म र उद्देश्यका लागि हिडेको थिँए, त्यो भने पक्कै मन रमाउने खालकाे थिएन।
नमस्कार!

एयर हाेस्टेसकाे आवाज सुनेपछि झस्किएँ। उसाे त मलाई याे प्रकृया नियमित हाे भन्ने थाहा नभएकाे हाेइन।
स्नेही आवाज अनि शरीरभरि छरेकाे अत्तरको बासनाले मेरो ध्यान भंग गरिदियाे। सिट नम्बर ‘११ ए’ र ‘११ बी’ मा गएर बस्याैं।
यात्रु चढ्नेक्रम अझै सकिएको थिएन। 'बिहान हिउँ परेर कपडा बढी लगाएर आइयाे, अहिले भने गर्मी भयाे, एसी चलाउँ न?', हामीभन्दा २ सिट अघि बसेका एक युवाले भने। केही यात्रु पत्रिका पढ्नमा व्यस्त भए। कोही भने किन ‘डिले’ भएकाे भन्दै प्रश्न गरिरहेका थिए। हामी दुबैले भने यी सब दृश्य नियालिरहेका थियाैं।
विमान चढेकाे पनि १५ भन्दा बढी समय भइसकेकाे थियाे। अझै कति समय लाग्ने हो भन्दै हामी खासखुस गरिरहेका थियौं।
त्यतिकैमा गल्याङमल्याङ आवाज सुनियाे। के रहेछ भनेर फर्केर हेर्दा ७/८ जनाको टोली एकै पटक विमानमा छिर्दै थिए। एक वृद्धलाई पिठ्युँमा बोकेर हामी भएतिर आउँदै थिए एक व्यक्ति। पछिपछि केही महिलाहरु अर्की भावविह्वल एक महिलालाई सम्हालिरहेका थिए। पिडा, वेदना र भावविह्वल अनुहार तथा हुँक्क-हुँक्कको हृदायविदारक कर्कस आवाज, विमानभित्रकाे माहाेल एकाएक शान्त बन्याे। सन्नाटा छायो।
त्याे कर्कस आवाज खासमा अरु कसैको नभएर उनै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीका बुवा इन्द्र प्रसाद अधिकारी र आमा लक्ष्मी अधिकारीकाे रहेछ। उनीहरुकाे बारेमा विमर्शले भनेपछि मात्रै थाहा पाएँ केहीबेरमा।
बिहीबार दिवंगत मन्त्री अधिकारीकाे शव शुक्रबार गृहनगर पोखरा ल्याइने भएपछि उनीहरु हामी सवार विमानमै गृहनगर फर्किन लागेका रहेछन्। संयोगले हाम्रो उद्देश्य र साेसँग जाेडिएका प्रमुख पात्रलाई एउटै फ्लाइट जुरेको रहेछ। रिपाेर्टिङका लागि पाेखराका मित्रहरु त्रुपक, अमृत सुवेदी, विकास मगरलगायतका मित्रलाई कल गरिरहेका विमर्श र मेरा लागि हाम्राे उद्देश्य प्राप्तिमा थप सहजता आएकाे महसुस भयाे।

मन्त्री अधिकारीका बुबाआमालाई हामीभन्दा ४ सिट अगाडि दुबैतर्फ राखिएकाे थियाे। उहाँहरुकाे साथमा एक-एक जना सहयाेगी बसेर आड दिइरहेका थिए। सायद परिवारका सदस्य हुनुपर्छ।
अघिसम्म विमान किन डिले भनेर प्रश्न गरिरहेकाे म यतिबेला भने अझै भएकाे भएपनि हुने भन्नेसम्मकाे मनस्थितिमा पुगेँ।
करीब २ः५५ को समयमा विमान चल्न सुरु गर्याे र धावन मार्गमा केही अघि बढेपछि फ्लाइटका लागि पालाे क्युमा बस्याे। यसबीचमा एयरहोस्टेसहरु यात्रुलाई सुरक्षा कसरी अपलाउने भन्ने सुझाउँदै थिए।
भलै विमानमा सार्वजनिक सवारीमा जस्तै लाउड स्पिकरमा गीत बजाइँदैन। कता-कता मलाई भने लागिरह्याे, यतिबेला सुरक्षा सावधानीका उपाय सुन्नु छैन। बरु एउटै आवाज सुनियाेस्-
मर्ने कसैलाई रहर हुँदैन, तर नमरेकाे प्रहर हुँदैन
भागेर जाउँ कुन ठाउँ जाउँ, मान्छे नमर्ने सहर हुँदैन
(गजल- डा कृष्णहरि बराल, संगीत- गैरे सुरेश स्वर- प्रेम परियार)
अवस्था थियो नै त्यस्तै। मन्त्री अधिकारीका बुबाआमाको पुत्र शोकको भावभंगीमाले न मलाई विमानका गतिविधिमा रस पस्यो, नत धर्ती छाेडेर आकासमा सयर गर्दाकाे उत्साहले नै छोयो। मन एकाेहाेराे हुनथाल्याे। विमर्शसँग पनि संवाद टुट्याे।

अन्य आफन्तका सुन्निएका आँखाका डिलहरुले पारिवारिक विछोडको वेदनालाई विमानभरी एक तमासले हिर्कारह्यो। अघिल्लो दिनको हवाई दुर्घटना र न्युज डेस्ककाे भीड र हतारबीचकै सन्नाटा मनमा याद आइरह्याे। त्यसभन्दा बढी एउटा अजंगकाे प्रश्न मेरा सामू रिंग्न थाल्याे- उडिरहेकाे विमान अचानक खस्दाकाे त्याे निमेषभरकाे समयमा दिवंगत ७ जनाकाे मनमा के खेलिरहेकाे थियाे हाेला?
३ बजेर २ मिनेटको समयमा पालाे आयाे। धावनमार्गमा विमानले गति बढायाे। वरिपरि पार्किङमा राखिएका अन्य विमान हेर्दाहेर्दै 'एटिआर ७२' ले धर्ती छाेड्याे।
२५ मिनेटको समय थाेरै लाग्याे तर, १२ हजार ५ सय फिटको उचाई मेरा लागि थाेरै लागेन। डर र आशंका र राेमाञ्चकता एकैसाथ मनमा दगुर्न थाल्याे।
मेरा आँखा झ्याल बाहिर गए। काठमाडौं सहर बिस्तारै ओझेलिँदै गयाे। कंक्रिटकाे जंगलकाे सट्टा हरियाे वननै नजरमा पर्दैगयाे। आकाशमा कुहिरोका थुम्काहरुमा विमान लुकामारी गर्दैथियाे।
त्याे २५ मिनेट मलाई मिश्रित अनुभव भयाे तर बुवा आमा र अधिकारी परिवारका लागि भने मात्रै गरुँगाे अनुभव भइरहेकाे सहजै अनुमान लगाउन सकिन्थ्याे।
विमान पाेखराकाे आकास हुँदै धर्तीमा ओर्लियाे।
केहीबेर अघिसम्म अँगालाेमा राखेर आड दिइरहेका उनै सहयाेगीले मन्त्री अधिकारीका बुबाआमालाई भावविह्वल अवस्थामै विमान बाहिर निकाले। उभिन गाह्रो भइरहेको थियो, आफन्तहरु साहारा दिइरहेका थिए। हुक्क-हुक्क स्वर सुनिइरहिएकै थियो। यता आफुलाई पनि मन थाम्न हम्मे-हम्मे भइरहेकाे थियो। तर, संकोच नमानी पत्रकारिताको धर्म निभाउन थाल्याै।
निलाे ज्याकेट, हरियाे रङकाे हाइनेक र पाइन्ट लगाएका ईन्द्र प्रसाद र राताे रङकाे पछ्याैरा, कलेजी स्वेटर र साडीमा रहेकी आमा लक्ष्मी अधिकारीलाई विमानस्थलमा तयारी अवस्थामा रखिएका छुट्टाछुट्टै सवारीमा राखियाे र पाेखरा-५, मालेपाटनस्थित आफ्नै निवासतर्फ लगियाे। केहीबेरकाे अलमलपछि हामी पनि उतैतर्फ लाग्याैं।

मालेपाटनस्थित विजुली अफिसअगाडि 'अक्षर मन्टेस्वरी’ जाने दिशा देखाइएकाे गल्लितर्फ हामी अगाडि बढ्याैं। करीब १ सय मिटर दूरी पार गरेपछि बाटाेछेउमा लस्करै पार्किङ गरिएका गाडीहरु, साेकाे व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरी पनि देखिए। मानिसकाे भिडभएतिरै हामी पनि साेझिँयाै। हामीलाई मन्त्री अधिकारीकाे घर चिन्न मुश्किल भइरहेकाे थियाे।
त्यहाँ पुग्दा परिवारजन, आफन्त, नेता कार्यकर्ता र शुभचिन्तकहरु सबै जम्मा भइसकेका थिए, साेकाकुल माहाेल थियाे तर मात्र रवीन्द्र अधिकारी थिएनन्।
त्यसपछि यहाँ क्लिक गर्नुहाेस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।