फडानीदेखि भोटेटार
मेची हाइवे छोडेर फडानी हुँदै होक्सेको धुलाम्मे ग्राभेल सडक तीन किलोमिटर पार गरेपछि पुगिन्छ, होक्से सिरान- भोटेटार।
भोटेहरू बसोबास गर्दैनन् यस क्षेत्रमा। यो बाटो भोट गएको पनि होइन। हुन सक्छ, पहिल्यै कुनै समय लेकबाट भोटेहरू बिखुमा बेच्नचाहिँ पक्कै आए होलान्। जे होस् सत्र सालमा लिम्बुवानबाट कांग्रेस मुभमेन्टका कारण झरेकाहरूले जंगल फाँडेर आवाद गरेको क्षेत्रलाई चाहिँ फडानी भनिन्थ्यो।
'धन्न त्यो आन्दोलनमा झरिएछ। नत्र यो सम्पत्ति, सुख कहाँ पाइन्थ्यो' भनेर ठट्टा गर्छन् कहिलेकाहीँ यहाँका कुमाइहरू।
सत्र सालमा पञ्चायत विरूद्धको छिटफुट घटनामा भयभीत भएर पाँचथर, तेह्रथुम, ताप्लेजुङबाट मानिस झरेर यो ठाउँ फडानी भयो। तीसको दशकतिर पनि सखुवाका बूढा सुकेका रुख हामी देख्थ्यौं। पहाड र सुदूर तराईबाट बसाइँ सरेर बुधबारे, बिर्तामोड, इटहरी, धरान जस्ता राजमार्गसँग जोडिएका सुरक्षित सुविधासम्पन्न सहर आसपास बसोबास गर्ने क्रम माओवादी जनयुद्ध , लिम्बुवान आन्दोलन, मधेस आन्दोलन जस्ता क्षेत्रीय आन्दोलनका विभिन्न कालखण्डमा अझ बढी तीव्र भएको हो।
अहिले पहाडबाट रेमिट्यान्सको प्रभाव र आर्थिक शैक्षिक र स्वास्थ्य सुविधासम्पन्न क्षेत्र खोज्ने कारणले यतातिर बसाइँ सरेका छन्।
सदियौं दलनमा परेका दलितहरू रेमिट्यान्स प्राप्त भएपछि गाउँ छोडेर आधुनिक सहरप्रति प्रेरित भएरै बसाइँ सरेका छ्न्। यसो गर्दा उनीहरूमा दुःख भन्दा ज्यादा उत्साह नै छ। देशले कानुन त बनायो तर लागू गर्ने गैरदलित भए, जो हृदयले लागू गर्न चाहँदैन थिए।
कानुनको सफलता हार्दिकतासँग पनि तालमेल राख्दो रहेछ। अत्यधिक वन पैदावरको निकासी भएर पानीको मुहान सुक्न थाल्यो पहाडमा त्यसरी पनि मानिस बसाइँ सरिरहेका छन्।

सरकार एउटा गतिलो अस्पताल पहाडमा लग्दैन। सुविधाहरू तराईका सहरमा केन्द्रित छन् त्यो समेत एक प्रमुख कारण हो बसाइँसराइको।
नदीहरू बगिरहेका छन्, तल पिँधमा। तर, डाँडामा पानी छैन। मेसिनले पम्प गरेर पानी डाँडामा लाने हो भने पहाडमा बसाइँ रोक्न सकिन्छ।
अम्रिसो, अदुवा, अलैंचीको भारतीय बजार जहिल्यै अनिमियित छ। अलैंची मासियो बरु, रोग निदान भएन। नेपाली कृषि वैज्ञानिकहरूले यसको निदान निकाल्न सकेनन्। सरकारले पनि गतिलो पहल कहिल्यै गरेन। बरु हिमालको फेदमा अन्तर्राष्ट्रिय स्तरको वातावरणीय सम्मेलन गर्यो। तर, अलैंची जोगाउन अन्तर्राष्ट्रिय खोज गरेन।
सहिद राम प्रधान
भोटेटार चोक। जहाँ सहिद राम प्रधानको अर्धकद सालिक उत्तर फर्केर बसिरहेको छ। प्रधानलाई उन्तीस सालमा पञ्चायती शासकका हिमायतीहरूले जुरे शान्तिपुरमा टाटीको टाँढे घरमा बाँसका भाटाले घोचेर हत्या गरेका थिए। तिनै झापा वाम आन्दोलनका स्वतन्त्रता योद्धाको सालिकलाई नमन गरेर हामी अघि बढ्यौं। आजको सत्तासीन नेकपाका वरिष्ठ व्यक्तिहरू त्यही झापा आन्दोलनको प्रडक्ट हुन्।
पछिल्लो कालखण्डमा सामान्य घटनामा मारिएकाहरु पनि सहिद घोषणा गर्नुपर्ने कारणले स्वतन्त्रताका निमित्त सहादत हुने राम प्रधान जस्ता योद्धाहरूको बलिदानप्रति व्यंग्य गरिरहेको छ। माफीसमेत नमाग्ने अटल दृढ चट्टानी पर्खाल जस्तो उनको विचारको बर्खिलाप गरिरहेको छ वर्तमानमा हाम्रो जिद्धीहरू! सम्झन्छु शासकहरूले तिखो भाटाले सुँगुरलाई जस्तो घोचेर मारे। मान्छेको मूल्य सुँगुरजत्तिको पनि महत्वपूर्ण थिएन पञ्चायतकालमा भन्ने प्रमाणित गर्छ त्यस घटनाले। सुँगुर मार्दा अरूको सम्पति नासेकोमा कारबाही हुन्थ्यो तर विचार राख्नेहरूको हत्या हुँदा सोधीखोजी गर्न मनाही थियो। न्यायकानुन भन्ने कुरा सत्ताका पक्षधरलाई मात्र सुलभ थियो। विपक्षीहरू कुत्ताको मौत मारिन्थे। सम्झदाँ आङ सिरिङ्ग हुन्छ। शरीरमा काम ज्वरो आउँछ।
आज हामीले भोगेको यो खुल्ला र उदार लोकतन्त्र तिनै सहिदहरूको जीवन समपर्णले प्राप्त भएकोले हामी नतमस्तक छौं। भोटेटार सहिद राम प्रधान प्रतिष्ठानले देशव्यापी रूपमा चिनिनुपर्ने हो तर खासै त्यत्रो सोचे जस्तो अगाडि आउन सकिरहेको छैन। गतिविधि अपेक्षित रूपमा अगाडि बढ्न सकेन। सुखानी सहिद पार्क र सालबारी सहिद पार्कले गर्दा पनि राम प्रधानको प्रतिष्ठान छायाँमा पर्यो। सहिदलाई सम्मान गर्ने समानताको पनि वर्ग हुँदो रहेछ। जसरी बादीहरूमा देहव्यापारमा पनि वर्ग थियो। अचम्म वर्ग मास्नेहरूमा पनि वर्ग छ। प्रतिष्ठानले जग्गा अधिग्रहण वा खरिद गरेर पार्क बनाउन सक्नुपर्छ। स्थानीय सरकार बुद्धशान्ति गाउँपालिकाले समेत गहिरोसँग चासो राख्नुपर्छ भन्ने सबैको माग रहेको छ।
यो बुद्धशान्ति गाउँपालिकाको अप्राप्य सम्पत्ति हो I पार्टीगत विचारभन्दा माथि उठेर यस्तो ऐतिहासिक सम्पदाको संरक्षण हामीले गर्न सक्नुपर्छ।
बिरिङ खोला र किनार
बिरिङ खोलाबाट उत्पादन हुने गिटी, बालुवा, ढुंगाको कारोबार भोटेटारबाट हुने हुँदा खानीजन्य निकासीको कारणले पनि यो क्षेत्र गुल्जार छ। यहीँबाट निकासी भएका गिट्टी, बालुवा, ढुंगाले पूर्व क्षेत्रमा विकासका पूर्वाधार र सहरहरू स्थापना भयो तर भोटेटार भर्खर चलमलाउँदैछ। दोकानहरू थपिएका छन्। सडकहरू ग्राभेल भएका छन्।
यहीँबाट साधुटार, नामसालिङ, काउँसेटार, कालीटार जाने नयाँ कच्ची सडकहरू खनिएका छन्। त्यस हिसाबले विकास केही तीव्र गतिमा दौडिरहेको छ। हिँड्नेहरू साधन चढिरहेका छन्। गाउँमा चेतना पुगेको छ। राज्यले चुरे संरक्षण नीति ल्याए पनि यस क्षेत्रमा गिटीढुंगा उत्खनन रोकिएन। विदेश नजाने जग्गाजमिन नहुने विपन्न वर्गको जिउने आधार हो खोला बगर।
बिरिङमा स्थानीय प्रजातिको जलचर, माछाहरू अझै पाइन्छन्। पर्यावरणीय दृष्टिकोणले बिरिङ खोलाको छुट्टै महत्व छ। तथापि करेन्ट र विष प्रयोग गरेर माछा मार्ने कारणले माछाको प्रजाति लोपोन्मुख छ।
युवा पुस्ताले उदार व्यवस्थामा अत्याधिक खुलेको बार र रेस्टुरेन्टभित्र छिरेर हिजोका सांस्कृतिक कट्टर सिमानाहरू भत्काए। सांस्कृतिक कट्टरताको डोरी शिक्षाले बिस्तारै मक्काएर छिनाउँछ तर यस्तो कट्टरता वैचारिक आन्दोलनले भने च्वाट्टै छिनाउँछ। फ्रेस हाउसहरू खाद्य पसलभन्दा ज्यादा खुले।
राज्यले खोलामा करेन्ट र विष प्रयोग गर्नेविरूद्ध कडा नियम ल्याउनु आवश्यक छ। पर्यावरण संरक्षण भएन भने कृत्रिम विकासले राज्य सुगन्धविहीन फूल जस्तो मात्र हुन्छ। जलचरको संरक्षण गर्न सक्नु आफैमा पर्यटन र पारिस्थितिक प्रणालीको संरक्षण गर्नु हो I हामीले खोला स्वच्छ राख्नेबितिकै चराहरू आफै संरक्षित हुन्छन्।
अफ्रिकनहरूले समेत वन्यजन्तु जोगाएर संसारलाई छक्क पारेका छन् भने हामीले किन नसक्ने?
भोटेटारमा सामुदायिक वन र बोयर बाख्रापालन
नेपाल सरकारले जंगल जोगाउन सामुदायिक वनको अवधारणा ल्याएपछि यस क्षेत्रमा सामुदायिक वन उपभोक्ता समितिहरू गठन भए। तीनतले सामुदायिक वन उपभोक्ता समिति र हडिया चुली सामुदायिक वन उपभोक्ता समितिले यो वनको तल्लो क्षेत्र संरक्षण र उपभोग गरेका छन्। माथिल्लो क्षेत्र सुन्दर वनले उपभोग गरेको छ।
यही सामुदायिक वनमा कुमार श्रेष्ठ लगायतका युवा व्यवसायी करोडौंको लगानीमा बोयर जातको उन्नत प्रजातिको बाख्रापालनमा जुटेका छन्। स्थानीय ब्रीडसँग क्रस गरेर अझ रैथाने प्रजातिको हाइब्रीड प्रजाति निर्माण गरिरहेका छ्न्। यस क्षेत्रमा पारम्परिक रूपमा बाख्रा पाल्नु पुस्तैनी पेसा नै हो। यसअघि जमुनापारी र स्थानीय प्रजातिको उत्पादन हुन्थ्यो।

बजार सजिलो र सुलभ दोस्रो कारण हो। शनिश्चरे, धुलाबारी जस्ता ऐतिहासिक साप्ताहिक पशुहाट र भारत यस्को प्रमुख बजार हो। पछिल्लो समयमा मासु जात र धर्मभन्दा पौष्टिकताको हिसाबले ग्रहण गरिने अनिवार्य खाद्य पदार्थको रूपमा मार्केट प्रडक्डको रूपमा लञ्च भयो। यो बैसट्ठी-त्रिसट्ठीको जनआन्दोलनपछिको खाद्य उदार समाजशास्त्रीय विचारबाट प्रभावित छ। राजनीतिको प्रभावसत्ता र राजनीतिमा मात्र होइन जीवनको सूक्ष्म पक्षसँग पनि गाँसिएर आउँछ। समाज परिवर्तनको लागि परिवर्तित उदार राजनीतिले कसरी भूमिका निर्वाह गर्छ भन्ने एउटा अन्तरनिहीत सूक्ष्म उदाहरण हो यो। वैदेशिक रोजगारी र तेस्रो विश्वसँग युवाहरूको पहुँचले सबैभन्दा बढी परम्परित विचारमा उलटपुलट ल्यायो।
साँघुरो घेराबाट आफूलाई झिकेर मानिसले मिश्रित समाजको चैतनिक बजारमा सांस्कृतिक घुलन गरे। उदार लोकतन्त्र स्थापनापछि युवाहरु बढी शिक्षित र पठित भए। आफैलाई उत्तरआधुनिक बनाउन मांसआहार, कन्टिनेन्टल फुड र मदिरापान गरे। मदिरापान पुँजीवादको सांस्कृतिक सूचक हो, जो यहाँका धेरै रैथाने आदिवासीहरूमा सांस्कृतिक परम्परा मानिन्छ। युवा पुस्ताले उदार व्यवस्थामा अत्याधिक खुलेको बार र रेस्टुरेन्टभित्र छिरेर हिजोका सांस्कृतिक कट्टर सिमानाहरू भत्काए। सांस्कृतिक कट्टरताको डोरी शिक्षाले बिस्तारै मक्काएर छिनाउँछ तर यस्तो कट्टरता वैचारिक आन्दोलनले भने च्वाट्टै छिनाउँछ। फ्रेस हाउसहरू खाद्य पसलभन्दा ज्यादा खुले। यस्तो उत्तर उपभोक्तावादी बजारको माग थेग्न यिनै चुरे क्षेत्रका बाख्रा फार्महरूले धानिरहेका छ्न्। मासु उत्पादन पनि आत्मनिर्भरताको एक कारक हो। बल्ल बुझ्ने कोसिसमा छ समाज। नत्र सांस्कृतिक कट्टरवादको सिमाना राखेर यस क्षेत्रमा राज्यको उपस्थिति नाम मात्रको थियो।
कुकुरलाई फाँसी
युवाहरूले बाख्रा फार्म सञ्चालन गरे। राज्यले अनुदान दिने पनि भन्यो। तर जंगल पसेका बाख्राहरू प्रत्येक बथानमा दैनिक चार-पाँचका दरले घट्न थाले। कारण खोतल्दै जाँदा गाउँका घरैया कुकुरहरूको समूहले जंगलमै आक्रमण गर्ने, मुटुकलेजो झिकेर खाने र बाँकी छोडिदिने तथ्य पत्ता लाग्यो। महिनौं दिन लाएर कुकुरधनी पत्ता लाग्यो। बिगो तिराउन खोज्दा तिर्न सकेनन्। कुमार श्रेष्ठको बाख्रा पालक समूहले कुकुरलाई पक्डेर बाँसमा झुन्ड्याएर फाँसी दियो। कुकुर आक्रमणकै कारण मदन मगरको डेढ सय बाख्राको फार्म नै बन्द भयो।
खोल्साको जैविक सांस्कृतिक महत्व
बिरिङ खोलालाई देब्रे पारेर एफजेड बाइकमाथि हामी उकालैउकालो हुइँकियौं। एक्स्काभेटरले भर्खरै भुत्ल्याएको बाटो आलै थियो। ट्रयाक्टरले दैनिक जोडजोडसँग खोस्रेर उधिनेकोले उबडखाबडमा बाइक जाकिँदा कृष्ण दाइ मैमाथि खनिउँला जस्तो गर्थे। छेउछेउमा शाखा गल्लीहरू कि खोला झर्ने कि जङ्गल पस्ने थिए। हामी नछोडी बीचबाटो अघि बढ्यौं। धेरै सखुवाको जंगल, अरु करम, लामपाते, साज, बोटधमेरो, चिलाउने, हर्रा, बर्रा, लाटी करम, कुटमिरो, बाँस, भलायो, गुएँलो आदि रुखहरूको बीचबीचबाट हामी गुढिइरह्यौं।
अगाडि-अगाडि धनुकाँडसँग वनझाँक्री र पछिपछि उसको स्वास्नी वनझाँक्रिनी ल्यामल्यामा थुन्से बोकेर लामोलामो झोलिएको स्तन काँधमा अड्याएर सिकार गर्दै हिँड्छे। यो पहाडी आदिवासीय किंवन्तीय आख्यान हो।
यसै जंगलमा पाँच दशकअघिसम्म लाली भन्ने सुगन्धित रूख पाइन्थ्यो। त्यो पूरै लोप भइसक्यो। सायद अहिले हामीले भनेको सुनेको वन तस्करहरूले चोरी निकासी पैठारी गरिरहेको सुगन्धित काठ श्रीखण्ड त्यो नै थियो कि? पाखे माइला जो जिन्दगीभर आरा काटेर जीवन निर्वाह गरे उमेरमै मरे। उनले मलाई बाँच्दै लालीकाठ भित्री चुरेमा थुप्रो काटेर बेचेको कुरा भनेका थिए। सत्तिसाल चाँप कति थियो अहिले झुक्केर देखिन्छ।
खोल्सा र सांस्कृतिक पर्यावरणीय चिन्तन
केहीछिनमा खोल्सामा सयौं वर्षको पानीले चिल्लो परेका ढुंगाहरू हाम्रो नजरमा थिए। बाटोमा ग्याभिन जालीमा ढुंगा भर्ने काम भर्खरै सम्पन्न गरेका रैछन्। कति अपवित्र विचारका मान्छेहरू यस्ता जाली काटेर ढुंगासहित बेच्छन्। कोसी ब्यारेजको स्पोर यस्तै दरिद्र मानसिकताले पनि भत्कियो र मधेस डुबायो I
नाम्सालिङ र भोटेटार जोड्ने पुरानो झोलुंगे पुल काटेर अघि बढ्यौं I एउटा खोल्सामा अर्ग्यानिक ढुंगे दृश्यको तस्बिर लियौं। ढुंगाको चेपचेपबाट बगेको पानी जीवनको प्रतिकात्मक विम्ब जस्तै हो। जिन्दगी कहाँ सोझो जिउन सकिन्छ र? कति फोटोहरू स्थान विशेषको दृश्यमा गजब राम्रो आउँछ।
हाम्रो यस्ता खोल्सासँग प्राचीन समयदेखि किंवदन्तीहरू बाँचेर आएका छन्। अगाडि-अगाडि धनुकाँडसँग वनझाँक्री र पछिपछि उसको स्वास्नी वनझाँक्रिनी ल्यामल्यामा थुन्से बोकेर लामोलामो झोलिएको स्तन काँधमा अड्याएर सिकार गर्दै हिँड्छे। यो पहाडी आदिवासीय किंवन्तीय आख्यान हो। हामी पहिलेपहिले अँध्यारो खोल्सामा एक्लैदुक्लै बिरलै हिड्थ्यौं।
हामीले खोल्साको ढुंगामा प्राकृतिक रूपमा निर्मित सुन्दर अमूर्त चित्रको फोटो लियौं। प्रकृति स्वयं महान् कलाकार हो। खोलामा बगेर आएका काठ, मुढा, जरा प्राकृतिक कलाको नमुना हो। जुन मानवनिर्मित कलाभन्दा अब्बल मानिन्छ।
कलचुँडा, धोबिनी, सिमकुखुरा कोइली जस्ता चराहरूको बासस्थान पनि हो खोल्सा। खोल्सा सधैं पानीले भरीपूर्ण र घामको अप्रत्यक्ष किरण पर्ने हुँदा पाहा प्रजातिका विविध किसिमका भ्यागुता, गंगटा, गडेरा, बुदुना, झिंगे, हिले आदि जलचरहरूको बासस्थान हो। वन्यजन्तुको पिउने पानीको स्रोत हो। उच्च पहाडी खोल्सामा पाइने तितेमाछा त्यस भेगको पहाडी अस्तित्वको खाद्य सांस्कृतिक केन्द्र पनि हो।
तितेमाछा मार्ने ठेक्का लाग्छ। तितेमाछा संकलन गर्ने संस्कृतिले आर्थिक क्षमता र पौष्टिक तत्व निर्माण गर्ने, पाहुनालाई कोसेली उपहार प्रदान गर्ने जस्ता मानवीय क्रियाकलाप तितेमाछासँग गाँसिएका पक्षहरु हुन्I यो जलचर पर्यावरणको विशिष्ट नमुना हो।
उत्तरवर्ती सोचका अभियन्ता भवानी तावा र कवि प्रकाश थाम्सुहाङसँग तितेमाछा अध्ययन भ्रमण गर्ने मेरो योजना मरिगाको छैन। म असाध्यै उत्साही छु नै। युरोपमा सालमोन माछाले चिसो पानीको खोल्सामा अण्डा पार्न फर्केको हजार माइलको उत्तेजित यात्रा दृश्य संसार प्रख्यात छ। हामी तितेमाछाको दृश्यलाई प्रबोधन गरेर सांस्कृतिक पर्यापर्यटनको स्थापना गर्न सक्छौं। उहिले एक मनसम्मको पाहा पहाडको यस्तै खोल्सामा पाइन्थ्यो। त्यसैले मनेपाहा भन्थे।
प्राकृतिक कला
हामीले खोल्साको ढुंगामा प्राकृतिक रूपमा निर्मित सुन्दर अमूर्त चित्रको फोटो लियौं। प्रकृति स्वयं महान् कलाकार हो। खोलामा बगेर आएका काठ, मुढा, जरा प्राकृतिक कलाको नमुना हो। जुन मानवनिर्मित कलाभन्दा अब्बल मानिन्छ।

मैले केही महिनाअघि खारखोलामा कमेरे माउन्टेन हेर्न जाँदा त्यस प्रकारको चार वटा कलाको फोटो लिएर पोस्ट गरेको थिएँ। धेरै चर्चा आयो I एउटा हिँड्दै गरेको गोही जस्तो काठ, अर्को ठ्याक्कै विरूपाक्ष। अर्कोमा चिच्याएर हत्केला आकाश फर्काएर भोभो, वा बचाऊ! बचाऊ! भन्ने आशयको हत्केलाको भाव थियो। यी काष्ठ भावहरू फोटोको खिचाइको एंगल र मुभमा भर पर्छ। साथीहरूले ल्याउनु नि समेत भने। तर ती जरा, काठ बालुवामा गाडिएका हल्लाउनै नसकिने थिए। ती कलात्मक काठको मिनी म्युजियम बनाएर पर्यटकलाई अवलोकन गराएर अर्थ आर्जन गर्न सकिन्छ। यो पर्यापर्यटनको अभिन्न अंग बन्न सक्छ। अस्ति भुरुङ्गा जाँदा मन्दिरअगाडि यस्तै एउटा जरा फालिएको र दाउरा चिर्दै गरेको देख्दा ज्यादै दुःख लाग्यो। प्राकृतिक कला नचिनेपछि हामीले अमूल्य सम्पतिको नष्ट गरिरहेका छौं। विश्व कला बजारमा यस्ता कलाको ठूलो मूल्य छ।
जंगलभित्रको काउसेटार बस्ती
जंगलभित्र अठियाकेराको भीमकाय थाम। बाँसका झ्याङगहरू र भित्तातिर छिटफुट घर। हामीले युट्युबमा हेरेको ब्राजिलियन आदिवासी जस्तै बस्ती। कतै काउसोको ठूलो झ्याङ भेटिएन तर सम्भवत: यहाँ काउसो (चिलाउने रातो झुस भएको कोसा फल्ने लहरा) सुरूमा धेरै थियो होला त्यसैले यो ठाउँको नाम काउसेटार रहन गयो। अलिबेरमा चिटिक्क परेको घर देखियो।
घरपछाडि रक्सीको बाहान अगेनामाथि ताजै थियो I मैले बाइक गल्लीमै रोकेँ। भुइँमा लडिरहेको प्लास्टिकको खोल टिपेर कालो लिँडमाथि होसियारपूर्वक राखेँ ताकि हतारमा कुल्चियो भने फोहोर नलागोस्। कुकुरलाई मान्छेको दिसामुक्त क्षेत्रसँग के चासो। मान्छेले बाटोको डिलमा उभिएर लाज घिन तुर्क्याउन छोडेका छैनन्। स्टेन्डमा सानो च्याप्टो ढुंगा खोजेर राखेँ। माटो कमलो थियो, बाइक लड्न सक्थ्यो। एक जना तरुनी बहिनी घरैमा रहिछिन्। अलि तल अर्को घर I हामीले सोधखोज गर्यौं। हाम्रो बोली सुनेर वा नयाँ मान्छे देखेर तल्लो घरबाट एक जना जवान मान्छे हाम्रो प्रश्नको उत्तर बाटैबाट दिँदै उँभो उक्लिए। खासमा हामीले ऊसँग संवाद गरेकै थिएनौं।
उनी घरमा महिला मात्र भएकोमा आड भरोसाको लागि हामीलाई उपस्थिति जनाइरहेका थिए। उनीहरु तीस सालतिर जुरेबाट बसाइँ आएका यामदाङ राईहरू रहेछन्। यो सानो ठाउँको बसोवासको इतिहास पैंतालीस वर्षको रहेछ I वरिपरि एकदुई झ्याङ केरा, बाँस, आठ–दस बोट सुपारी र जंगलतिर पाखामा अम्रिसो, बाँसहरू थिए।
'कोदोको हो रक्सी?' हामीले सोध्यौं तर खुदीको रहेछ।
महिलाहरु अपरिचित पुरुषसँग खुल्नुको परिणाम तितो पनि हुन सक्छ। त्यो उनले बुझिन्। भूगोल र संस्कृतिको समानताले अपरिचितसित पनि वर्षौं चिरपरिचित जस्तो पार्छ।
चामलको कनिकालाई खुदी भनिन्छ। यो जाँडरक्सी उत्पादनमा प्रयोग हुने पारिभाषिक शब्द हो। नेपालको कोदोको अयला, लोकल रक्सी, सिँजवा संसारको उत्कृष्ट दस पेयमा परेको तथ्यांक समाचारपत्रहरुले प्रकाशन गरेको हामी सबैले पढ्यौं। तथापि यो सिँजवा लोकल रक्सी तिनपाने नेपाली आदिवासी समाजमा हजारौं वर्षदेखि प्रख्यात छ। उहिल्यैदेखि टप वानमा छ। यसकै बलले पुर्खाहरूले भिरालो पाखामा जीवन उमारे। प्राचीन शास्त्रमा मैसासुर जस्ता लडाकुहरूले इन्द्रलाई पराजित गरे। गोर्खालीले अंग्रेज धपायो। लिगलिगकोटमा राजा छान्न सर्वसम्मत लोकतान्त्रिक निर्णय गराउँथ्यो।
जनयुद्धमा माओवादलाई बन्दुकको नालदेखि राज्यको सैनिक क्याम्प परास्त गराउने साहस दियो। रेड लेबल लोकल रक्सीसँगै जन्मिएर अन्तर्राष्ट्रिय ब्राण्ड बन्यो। हाम्रो सिँजवा जातीय सांस्कृतिक कट्टरवादले पेलिएर रक्सी जड्याँहा हुँदै प्रहरीको कारबाहीमा जर्किन नष्ट गर्ने तमासा बन्यो। राज्यले नियमन गर्न जानेन र हामीले हाम्रो उत्पादन अन्तर्राष्ट्रियकरण त कुरै छोडौं राष्ट्रिय मान्यता प्राप्त गर्न पनि सकेन। यसको स्वास्थ्यसँग जस्तोसुकै वैज्ञानिक अर्थ भए पनि यसले पराऐतिहासिक कालदेखि सांस्कृतिक चिन्तन राखिआएको छ। कोदोको रक्सीलाई औद्योगिकरण ब्रान्डिङ गर्नुपर्ने माग खरो बहसमा छ।
हामीले खुदीको लिएनौं।
यहाँको बासिन्दा अतिरिक्त समय बिरिङमा गिटीढुंगा उत्खनन गरेर आयआर्जन गर्ने र पछिल्लो समय वैदेशिक रोजगारमा जाने रहेछन्। जीवन जिउनु कम गाह्रो छैन। तथापि जीवन बाँचिरहेकै छन्। सहरको सुखमा उग्राइरहेको सरकारलाई यो कुरा थाहा हुनुपर्छ I हजार कठिनाइबीच बाँचेर नागरिक भइदिएका छन्।
'केके जनावर पाउँछ?' हामीले सोध्यौं।
भर्खरै बाघले बाख्रा खायो। घाँसदाउरा गर्नेले थोप्ले बाघ देखेको प्रमाण उसले पेस गर्यो।
'थोप्ले त चितुवा पो त,' मैले भनेँ।
'ए, चितुवा रैछ,' उसले स्विकार्यो र थप्यो, 'सानो रतुवा मृग, बँदेल, लुइँचे, मुजुर जत्ति पाइन्छ।'
हामीसँग ती घरकी बुहारी निकै खुलेर बोलिन्।
महिलाहरु अपरिचित पुरुषसँग खुल्नुको परिणाम तितो पनि हुन सक्छ। त्यो उनले बुझिन्। भूगोल र संस्कृतिको समानताले अपरिचितसित पनि वर्षौं चिरपरिचित जस्तो पार्छ। कृष्ण बराल दाइ र रश्मि शेखर केचना पत्रिकाको कभरको लागि एक दशकअघि कचनकवल जाँदा भोकले लखतरान भएपछि नजिकै एक घरमा खानाको लागि अनुरोध गर्दा घरकी बूढीले झन्डै लट्ठी प्रहार गरेको प्रसंग कचनकवलको घुमाइमा भनेका थिए। त्यो सांस्कृतिक रूपमा अविश्वास पनि थियो सायद।
एक किलोमिटर गुडेपछि बाटोमाथि प्राथमिक स्कुल र मुन्तिर काठको भव्य घर देखियो। जुन निकै गुल्जार थियो। दुई बिघाजतिको भिरालो क्षेत्रफलमा सयौं अग्लो सुपारीको दाना झ्याप्प लागेका बोटहरू थिए I पक्की पाइखाना स्नानघर आँगनमा बाँसको घनालाई फुटाएर बनाएको डस्टबिन परिसरमा बाख्रा र सुँगुरको खोर गाईको थला। आँगनभरि कुखुराहरू चरिरहेको दृश्यले ग्रामीण भव्यताको चित्र भन्थ्यो। एउटा घाँटीखुइले च्याँखुरा सिउरमा हल्का फुस्रोबाहेक नङसमेत कालो भएको कुखुरा देखियो। सुनिल तामाङले त्यो अन्तैबाट किनेर ल्याएको चल्ला काढिनसकेको बताए। किन्न खोज्दा मानेनन्। उनी होक्से दुई घन्टा धाएर कक्षा ९ मा पढ्दा रहेछन्।
मैले उहिल्यै 'एन अनसल्भड मिस्ट्री' पढेको सम्झेँ, जहाँ जहाजमा आधा खाना खाइएका प्लेटहरू हुन्छन्। जहाज मानवविहीन हुन्छ। पश्चिममा जुठो भन्ने नै हुँदैन। त्यसैले आधा खाइएको भन्यो। हाम्रोले चैं जुठो प्लेटहरू भन्थ्यो होला I हाम्रो चिन्तन नै छुट्टै किसिमले असमानता र विभेदलाई सुरुदेखि अंगीकार गर्ने खालको।
विद्यालय जाडो छुट्टीमा बन्द रहेको जानकारी सडकको किनारमा रहेको सूचना पाटीमा थियो। सूचना पाटी गजब लाग्यो। सूचना पारदर्शिता।
चार वटा कपुरका बोटहरू गहिरो हरियो भएर विद्यालयअगाडि उभिइरहेका थिए। जुन अघिल्लो हेडसरले रोपेको कुरा सुनिलले सुनाए। कपुर हाम्रो रैथाने बिरूवा होइन। हाम्रो रैथाने जंगलमा कपुर छैन। विद्यालय भवन उत्तरपट्टि सेभेन साइड फुटबल मैदान भर्खरै निर्माण गरेको देखियो। यसले स्थानीय सरकार रोङ गाउँपालिकाको भूमिका काउसेटारको पाँच दशकको दुःख निवारणमा मल्हमपट्टी लगाउँदै गरेको अनूभूत भयो। त्यो फुटबल चौर निर्माण भएपछि त्यी गाउँलेहरू कति बिछट्ट खुसी भए होलान्।
घरमा पानीको धारामा मिटरसमेत जडान थियो, जुन मेरोमा पनि छैन। सभ्यता गाउँमा निरन्तर निर्माणमा छ। धुलेचौरको भुइँको रङ घुर्मैलो रातो आलो माटोको थियो। तब यो भर्खरै निर्माण सम्पन्न भएको बुझिन्थ्यो। बाँसको कमजोर गोलपोष्ट दुवैतिर थिए। कुनै छुट्टै सभ्यतामा प्रवेश गरेँझैं भयो। विश्व विख्यात पेले, मेसीहरु र हाम्रो किरण चेम्जोङ, विमल घर्ती, सन्दीप लामिछाने उत्पादन गर्ने ग्रामीण मैदान… मैले खुसी थाम्नै सकिनँ।

विद्यालयका केही झ्यालहरू खुलै थिए। बेन्च र भुइँमा गाता लगाएका पुस्तकहरू छरपस्ट थिए। हतारमा छोडिएका पुस्तकहरू, मैले उहिल्यै 'एन अनसल्भड मिस्ट्री' पढेको सम्झेँ, जहाँ जहाजमा आधा खाना खाइएका प्लेटहरू हुन्छन्। जहाज मानवविहीन हुन्छ। पश्चिममा जुठो भन्ने नै हुँदैन। त्यसैले आधा खाइएको भन्यो। हाम्रोले चैं जुठो प्लेटहरू भन्थ्यो होला I हाम्रो चिन्तन नै छुट्टै किसिमले असमानता र विभेदलाई सुरुदेखि अंगीकार गर्ने खालको छ। तब न विभेद र छुवाछुतविरुद्ध एक्काइसौं शदीसम्म हाम्रो संघर्ष जीवित छ।
भित्तामा 'सयौं थुँगा फूलका हामी...' राष्ट्रीय गान लेखिएको थियो। रचयिता व्याकुल माइला। त्यो घरको भाइ सुनिल तामाङले भने अनुसार १९ जना विद्यार्थी अध्ययन गर्दा रहेछन्। गाउँमा घर नै औंलामा गन्न सकिने धन्न उन्नाइस विद्यार्थी रैछन्। गाउँसम्म अक्षरहरू ज्ञान बोकेर हिँडिरहेका छन्। विद्यमान विभेद असमानता र अभावमा डढेलो लाओस् ती अक्षरहरूले। प्रावि सकेर दुई घन्टा हिँडेर ज्ञान कहिलेसम्म लिने हो यी अनकन्टार गाउँहरू। थाक्नु हुँदैन। थाकेर हामी यहाँसम्म आइपुगेका होइनौं।
कालीटार ट्रेल र बाइकिङ
जंगलको सामान्य दर्फर्याइएको सडक। दुई जना दिदीहरूले 'बाइक जान्छ, बाटो राम्रै छ, एक ठाउँ चैं अलिक उकालो छ' भनेपछि हामी उकालो लाग्यौं। दिदीहरू अघि लागे, जसलाई हामीले जंगलमै छाड्यौं। पहाडका यस्ता अनकन्टार खोँचहरूमा लाखौं नेपाली प्राकृतिक जिन्दगी बिताइरहेका छन्। म आफैलाई पनि हिँडेर भ्रमण गर्नु गजब लाग्छ।
भोजपुर यात्रामा 'पानीजहाज नचढौं हिडौं। जहाँ हाम्रा पुर्खाले सयौं वर्ष हिँडेर निर्वाह गरे' भनेर प्रसिद्ध कवि श्रवण मुकारुङले जिद्दी गरेका हुन्। तर सानो पानीजहाज चढ्ने लोभले त्यो कोसी किनारको बिछट्ट अर्ग्यानिक अनुभव हामीले छुटायौं। थकथक लागिरहेको छ। पूर्वपश्चिम लोकमार्ग छेउछाउका सहरिया अर्ध सहरियाहरू अहिले हिँड्नै छोडे। त्यहाँ हिड्नु भनेको वाक्मा जानु हो। वा अभर पर्नु, कि अति विपन्न हुनु भन्ने लगभग गलत स्थिति सिर्जना भइसक्यो। अटो र सफारी जस्ता तीनपांग्रे र दुईपांग्रेले गर्दा मान्छे हिँड्नै छाडे।
बाटोमा छोडिएका दिदीहरू मध्ये एक सरिताको आमा र अर्को ठूलेमा पो रहेछन्। टुप्लुक्क आइपुग्दा हेराहेर गरेर मज्जाले हाँस्यौं। सरिताले पुलकित हुँदै मैले कुरा गरिरहने मुनाल सर भनेर चिनाइन्।
पछिल्लो समय बाइक, स्कुटर र अटोको कारण पहाडमा तहल्का छ। भर्खरै पात्लेपानी महोत्सवमा जाँदा पहाडमा अटोको करामत हेरियो, खुसी लाग्यो। मेरै गाउँमा पनि अटोले घरको दैलोमै सुविधा पुर्याइरहेको छ। व्यापार-व्यवसाय गर्न सहज भएको छ। तर बिरिङको तीरैतीर ९ किलोमिटर कालीटारसम्म गाडीको डाम गोहोबाहेक सवारीसाधन देखिएन। अटोको त सातो पनि थिएन। घरीघरी कृष्ण दाइ ओर्लंदै चढ्दै गरेर टुप्पामा पुगियो। कलीटारको मुखैमा फूलले घेरेको एउटा काठको दुईतले घर थियोI करिब आधी वर्ग किमि क्षेत्रफल होला, यो उच्चसमस्थली डाँडाको।
भव्य सुपारी बगान, अम्रिसो, स्प्रिङ कलले पानी छिटिरहेको, टाट्नामा बाख्रा घाँस खाइरहेको। एकजना दाइ बाथरुममा लुगा धोइरहेका थिए।
बोलचाल भयो। तामाङ रहेछन्, जो चालिसको दशकमा गोदकबाट बसाइँ आएका। एक छिनपछि उनको छोरी आइन्, उनी त मेरै विद्यार्थी पो रहिछन्। दुवै आश्वर्यमा पर्यौं। सरिताले आँखीभुइँ उचालिन् र 'मुनाल सर हैन?' भनिन्। कस्तो संयोग मैले त सोचेकै थिइनँ। यस्तै सुखद संयोग प्राप्त हुने घटना परिघटनाले म शिक्षक भएकोमा गर्व गर्छु। चिया पकाएर खुवाइन्। फेरि चाउचाउको पिरो झोल बनाएर मेजमान गरिन्।
बाटोमा छोडिएका दिदीहरू मध्ये एक सरिताको आमा र अर्को ठूलेमा पो रहेछन्। टुप्लुक्क आइपुग्दा हेराहेर गरेर मज्जाले हाँस्यौं। सरिताले पुलकित हुँदै मैले कुरा गरिरहने मुनाल सर भनेर चिनाइन्।
'हाम्रो गाउँमा पनि तपाईंहरू आउनुहुँदो रहेछ, के अचम्म,' भनिरहिन् I ऊभित्र नजाँनिदो अव्यक्त हर्षोल्लास झर्नाको पानीझैं छचल्किरहेको थियो ।
चिटिक्क परेको कार्पेटिङ गरेको भान्सा घर। आलमारी, र्याकमा भाँडाकुडाँ मिलाएर राखेको, ग्यास चुला, भित्तामा सानो रेडियो, जम्बो कोकको बोतल भरीभरी, पहेँलो दाल भित्तैभरि राखेको। बोतलको प्रयोग गजब र सिर्जनात्मक लाग्यो। हामीले सडकको नाली, बारी र खेतभरि फ्याँकेको बोतलको वैकल्पिक प्रयोग प्रशंसनीय थियो। अहिले फ्याँकेको सिसाको बोतलमा बत्ती, मूर्ति, पेन्टिङ राखेर पाँचतारे होटलमा बिक्री गरेको सिर्जनात्मकता चर्चामा छ। गाउँमा पनि नयाँ कुरा हुन्छ नि हैन?
हामी हरियो हलहल बढेको लसुनबारी हेर्दै डाँडा घुम्यौं। सुन्दर सामुदायिक वनको भवन डुल्यौं। कुखुराको हुल वरपर थिए। बाख्राको बथानसँग मानिसहरु घर फिरिरहेका। धेरै चैं युवती र महिलाहरू नै थिए। त्यहाँबाट जापान गएकाहरूले रिनै तिरिनसकेको सरिताले भनिन्। शून्य लागतमा ऊ पनि जान मन गरिरहेकी थिइन्। मैले 'यतै केही गर, बाख्रा नै धेरै पाल्दा हुन्न?' भन्दा, 'सकिँदैन नि। कम गारो छ' भनिन्।
गाउँ एक प्रकारले बेचैन छ। सुविधायुक्त जीवनको होड छ। सबैले रेमिट्यान्स भित्र्याउने सपना बोकेका छन्। गाउँमा विद्यालय छैन। फोन गर्दा एम्बुलेन्स सम्म पुग्दो रहेछI पैसा कमाएर सहर पस्ने उनीहरूको सपना त्यहीँ छोडेर हामी फर्कियौं। मेची राजमार्गबाट पश्चिम देखिने सालबोटे तामाङ बस्तीको डाँडा पूर्व देखिन्थ्यो।
ज्यानमारा सिकार
मुस्ताङमा हिमाल दक्षिणतिर देखिए जस्तै हामीले सधैं मेची राजमार्गबाट पश्चिम हेर्ने सालबोटे तामाङ बस्ती कालीटारबाट पूर्वपट्टि थियो।
'उँभोतिरको अग्लो डाँडा लाप्चाहरूको बस्ती मानाबुङ हो। वरतिर याङ्ग्रे हो, जहाँ मुखिया सुनुवार कुलुङ राई आदिको बाक्लो बस्ती छ,' सरिताले भनिन्।
'बँदेल पाउँछ त?' हामीले सोध्यौं।
'रातिआउँछ। तर तरुल खाएर हैरान,' उनले सुनाइन्।
सधैं कहिल्यै सिकारमा नजाने उसलाई यसपालि कालले कुत्कुत्याएर ल्यायो। सिकारीहरूको गोप्य सल्लाहले आफन्तको बैठक बसी दुई दिनपछि लास कपडै नखोली दबाए। हतारहतार कपूर पनि बनाए। प्रहरी आयो।
पोहोर मात्रै याङ्ग्रेमा सिकार गर्ने दस जना सिकारीहरू ज्यानमारा केसमा जेल गएको घटना सुनाइन्।
घटना यस्तो थियो– अघिल्लो दिन घाइते भएको मृगको भोलिपल्ट सिकार गर्न जाँदा ढुकुवा बन्दुकेले साबिक ठाउँमा घाइते मृग आउँदा गोली हान्छ तर एउटा निहत्था ढुकुवा आवेशमा आएर पक्डिन जान्छ। मृगलाई लाग्ने गोलीले सिकारी मर्छ। त्यसै ज्यान मुद्दामा उनीहरू झापा कारागारमा छन्। सरिताले सविस्तार वर्णन गरिन्I
हाम्रो कालीटार यात्रा सकिएको हप्ता दिनपछि स्थानीय पत्रिकाले 'याङ्ग्रेमा सिकारमा जाँदा एकको मृत्यु' भनेर खबर छाप्यो। खासमा गाउँको आफन्त सात जना मिलेर सिकारमा गएका थिए। जंगलमा सिकार रूँघ्न, ढुक्न चाङ बनाएको रहेछ। चाङको छेउमा सिकारीहरूले नुन ख्वाउने नुन ढिकुरो पनि बनाएको हुन्छ। तीन छर्रा गोलीले चाङको मान्छे छातीमा लागेर ठहरै भयो। सिकार चैं मरेन। चाङमा मर्नेको छोरा एक वर्षअघि घाँस काट्न गएको लडेर चोकेमा अल्झेर मरेको थियो। सधैं कहिल्यै सिकारमा नजाने उसलाई यसपालि कालले कुत्कुत्याएर ल्यायो। सिकारीहरूको गोप्य सल्लाहले आफन्तको बैठक बसी दुई दिनपछि लास कपडै नखोली दबाए। हतारहतार कपूर पनि बनाए। प्रहरी आयो। होइन भनेर पठाए। काजकिरिया गर्दै गर्दाफेरी प्रहरीले छापा मार्यो र गिरफ्तार गर्यो। आलो लास चिहानबाट खनेर निकाली धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पोस्टमार्टमका लागि लग्यो।
अहिले चार जना जेल चलान भए। त्यतैको एक जना गाउँलेले मलाई बेलीविस्तार लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।