बिहानै उठाएर मम्मीले मेरो निन्द्रा खराब गरिदिनुभो। अरे मम्मा, भर्खर ९ त बजेको हो, सुत्न दिनु न अझै एकाध घन्टा। न दैलो पोत्नुछ, न भाडा माझ्नुछ, न चिया पकाएर खुवाएर फेरि भातभान्सामा जोतिनुछ। न पानी भर्न जानुछ, न घाँस काट्न, न त दाउरा लिन नै।
बुहारीलाई बिहानभरि सुत्ने आँट हाम्रो समाजमा अलि नआऊला। समाजले बुहारीलाई धेरैबेर सुतेको राम्रो मान्दैन। मेरो त त्यो हालत पनि छैन अहिलेलाई। अनि छिट्टै उठेर क्यार्नु मैले? पढ्नु?
जोक नगर्नु न मम्मी।
कृषिको विद्यार्थी पो हुँ त म। कृषिका विद्यार्थीले पनि पढ्छन् कहीँ? अरु देशमा पढ्लान्। पढाऊलान् पनि। नेपालमा चाँहि पढ्नै पर्दैन, जाँचको केही दिन अघिबाहेक। कोर्स पढाए पो पढ्नु। पास गरिदिएकै छु खुरुखुरु। पीर नगर्नु न मम्मा।
कृषि क्याम्पसमा स्नातक तह तेस्रो वर्षमा हिँड्दैछु। पढ्दैछु भन्नु भन्दा हिँड्दैछु भन्न उचित लाग्छ मलाई। हिँड्दैछु पनि कसरी भन्नु खै? ११ र १२ कक्षामा विज्ञान पढ्दाको समय, व्यस्तता। होमवर्क, प्राक्टिकल, जाँच, नोटबुक, रातोदिनको मेहनत सम्झँदा त मलाई उताको एक वर्ष यताको तीन वर्ष जस्तो लाग्छ। त्यता समय कसरी चिप्लिएर गयो, कुनै पत्तो नै पाइएन। यता एकएक सेकेन्ड गनेर वर्ष बित्छ। जाँच आउँदाका दुई महिनाबाहेक पूरै बेकामे बनेर। रित्तो, शून्य र उजाड बनेर। अमूल्य समय उपलब्धिविहीन बनेर गइरहेको खल्लो, टर्रो, अमिलो र नमिठो अनुभूत हुन्छ। दुई-चार दिन पढ्यो। भरसक नम्बर कमायो। न पुस्तकालय, न कक्षाकोठा, न व्यावहारिक अभ्यास, न केही न केही। पुराना डायरी र नोट रट्यो। भसक्कै नम्बर कमायो। पढ्ने अमूल्य समय गुमायो। कस्तो दिक्कलाग्दो जिन्दगी।
क्याम्पस राजनीति गर्न खुल्छ। पढाउने गुरुहरुलाई निजी क्याम्पस धाएर यसो फुर्सद निस्केको बेलामा पार्ट टाइम पढाइ हुन्छ। त्यो पढाइचाहि बैकुण्ठ मानन्धरको म्याराथन दौडजस्तै हुन्छ।
वर्षमा म ६ महिना घरमै बस्छु। करिब दुई महिनाचाहिँ कलेजतिर हल्लिएर बित्छ। गर्नुपर्ने काम केही नभएपछि ९ बजेसम्म सुतेर बस्छु अनि मम्मीबाट घर खाने बेला भएकी छोरी... भन्दै कहिलेकाहीँ माया घोलिएको मिठो गाली खान्छु। यत्रो कृषि पढ्दै गरेकी छोरी, बालककालदेखि नै किताबमै घोप्टिएर पढ्ने, खाने छोरी सुतेको मात्रै देखेर आत्तिनुहुन्छ।
घर खाने?! घर खाने भनेको सुन्दा मलाई झनक्क रिस उठ्छ। काम गरेर खाने, पढेर खाने, परेर खाने, गरेर खाने छोरी पो भन्नु। बुहार्तनवाला बुहारी बनेर घर खाने ? घर खाने कुरा छोडिदिऊँ। कृषि पढेर खाने कुरामै ध्यान केन्द्रित गर्न चाहन्छु।
कृषिमा पढाइ होइन, राजनीति असाध्यै डरलाग्दोसँग घुलेको छ। कडा प्रतिस्पर्धामा नाम निकालेर ठूल्ठुला सपना साँचेर कृषि पढ्न क्याम्पस छिरेका विज्ञानका विद्यार्थीहरु भर्ना हुने बेलादेखि नै राजनीतिक खिचातानीको सिकार हुन्छन् र एकाध महिनामै मनबाट माटोको सुवास उडेका वञ्जर प्राणीजस्ता बन्छन्। क्याम्पस छिर्ने बेलामा पार्टीको नाम, देशको प्रधानमन्त्रीको नाम, राजतन्त्र, गणतन्त्र र प्रजातन्त्रको बारेमा समेत भेउ नपाएका मनभरि विज्ञान बोकेर बाँचेका निर्दोष प्राणीहरु एकाध महिनामै अनौठाअनौठा कुरा गर्ने नेतामा परिणत हुन्छन् र कृषिको पढाइ एकादेशको कथा बन्छ। वर्षमा छ महिना घरमा, दुई महिना थोत्रा नोट रटानमा। बाँकी समय राजनीतिमा।
कृषि पढ्ने विद्यार्थीमाझ एउटा भनाइ चर्चित छ- चारवर्षे भ्याकेसन।
हो हामी कृषिमा स्नातक पढ्ने नाममा चारवर्षे बिदा मनाईरहेका छौं, मनाउन विवश छौं। विज्ञानको पढाइ आफैले मात्र पढ्छु भनेर हुँदैन। फिल्डमा व्यावहारिक अभ्यास गर्नुपर्यो। तर त्यो अभ्यास क्याम्पस परिसरभरि पलाएका घाँस वर्षमा एकपटक मज्जाले काट्नुमा सीमित छ भन्दा अन्यथा नहोला। अलिअलि प्राक्टिकल हुँदै नहुने त होइन। तर जति हुनुपर्ने हो, त्यो पटक्कै हुँदैन। न प्राक्टिकल गर्ने सामान छन्, न गुरुहरुलाई प्राक्टिकल गराउने फुर्सद छ। न पढ्नेहरुलाई पढ्ने फुर्सद नै।
म्याराथन स्टाइलमा पढाइ दर्गुछ। पढ्नेले के पढिरहेछु थाहा नभएझैं, पढाउनेले के पढाइरहेछु थाहा नभएझैं अत्यासलाग्दो तरिकाले। १५-२० दिनको कर्मकाण्ड सकिएपछि सेमेस्टर सक्किगो।
क्याम्पस राजनीति गर्न खुल्छ। पढाउने गुरुहरुलाई निजी क्याम्पस धाएर यसो फुर्सद निस्केको बेलामा पार्ट टाइम पढाइ हुन्छ। त्यो पढाइचाहि बैकुण्ठ मानन्धरको म्याराथन दौडजस्तै हुन्छ। कहिलेकाहीँ त बिहान छ बजेदेखि साँझ छ बजेसम्म। पढाएको पढायै। कुदाएको कुदायै। कुन विषय पढिरहेको छु भन्ने भेउसमेत पाइन्नँ। फर्म भर्ने बेलामा विषयको नाम शुद्ध लेख्नुपर्यो नि। त्यतिबेला यस्सो विषयको नामको झल्को पाइन्छ। तर याद हुँदैन। जाँचको अघिल्लो दिनचाहि जाँच दिने विषयको नाम राम्ररी मेसो पाइन्छ। यो हदको दारुण अवस्था अरु कुनै विषयमा छैन होला।
एक सेमेस्टरको पढाइ भनेको लगभग छ महिना। तीन महिना त क्याम्पस पूरै सुनसान रहन्छ। चौथो महिना लागेपछि क्याम्पसको दैलो अलिअलि उघ्रेजस्तो, होस्टेलतिर अलि चहलपहल भएजस्तो, गुरुहरुको पदचाप अलिअलि सुनिएजस्तो हुन्छ। हामी ९-१० बजेसम्म घरमै सुत्ने प्राणीहरु झोलातुम्बा बोकेर बिस्तारै क्याम्पसतिर झर्न थाल्छौं, गुरुहरुको अनुहार देख्न पाइन्छ कि, केही पढ्न पाइन्छ कि, केही सुन्न पाइन्छ कि भनेर।
पाइन्छ। किन नपाइनु? अलिदिन मैले माथि भनेझैं म्याराथन स्टाइलमा पढाइ दर्गुछ। पढ्नेले के पढिरहेछु थाहा नभएझैं, पढाउनेले के पढाइरहेछु थाहा नभएझैं अत्यासलाग्दो तरिकाले। १५-२० दिनको कर्मकाण्ड सकिएपछि सेमेस्टर सक्किगो। त्यही पढाइ पनि पार्टीका र गुटका भेला, बैठक, तालिम, प्रशिक्षण आदि अनेक नाममा हामी विद्यार्थी मिलेर खलबल पारिदिन्छौं। कहिलेकाहीँ अनेक तनाव र उपध्रो हुन्छ हामीमाझ। अनि आधारातमा होस्टलबाट निकालिएर सडकमा पुग्छौं।
केही दिनको अत्यासलाग्दो पढाइपछि सुरु हुन्छ आन्तरिक परिक्षा, प्राक्टिकल, फाइनल परीक्षा र भाइभाको अर्को अत्यासलाग्दो उपक्रम। पढाइ जे जस्तो भए पनि जाँचचाहिँ जाँच जस्तै हुन्छ। कडा र तगडा। पढ्ने कुराचाहिँ 'नाइन्टिन फाउन्टिन'का नोटबुक हुन्छ। त्यही नोटका पुराना डाटालाई नेटमा खोज्दै अपडेट गर्दै जसोतसो रातदिन रटान मारेपछि जाँच राम्रो बन्छ। पढाइको माहोल जति नै भद्रगोल भए पनि थोरै समयमा धेरै पढ्न सक्ने, खट्न सक्ने मेहनती विद्यार्थीका कारण कृषिको रिजल्ट प्राय: सबैको राम्रो आउँछ। मैले पनि जाँचमा चाहिँ सधैं राम्रो गरिरहेकी छु। यति भएपछि गुरुहरु पनि खुसी, अभिभावक पनि खुसी, हामी पनि किचिक्क खुसी। यो खुसीसँग देशको समग्र कृषि विकासको खुसी र कृषकको खुसी र देशको समृद्धिको खुसीचाहिँ दिनदिनै भत्किरहेको अमिलो अनुभूति हुन्छ।
न पढाइ, न लेखाइ। न पढ्ने माहोल, न पढाउने माहोल। न प्राक्टिकल नै। कृषिको पढाइ आकाशे खेतीजस्तै चलिरहेको छ। भर्ना गर्ने बेलामा कडाइ गरिएकाले थोरै पढेर धेरै सजिलै पार लगाउन सक्ने विद्यार्थी भएका कारण नेपालको कृषिको पढाइ राम्रो छ भन्ने भ्रम परिरहेको छ।
कृषिको पढाइ 'वान नाइट फाइट'मा सीमित भइरहेको छ। अर्थात् जाँच दिनुभन्दा एक रातअगाडि जसले जति रट्न, घोट्न, पढ्न र बुझ्न सक्यो उही राम्रो। त्यो रात पढाइको लत्तो चिप्लियो भने बिग्रियो। प्राक्टिकल बडो अचम्मको हुन्छ। न कृषक बुझ्नुछ, न माटो, न बीउबिजन, न बिषादी, न किटाणु। थोत्रा प्राक्टिकलका ढड्डा सारेर सिंगो रात बिताए पनि प्राक्टिकल तयार हुन्छ। प्राक्टिकलका ढड्डा राम्रा बनाउने ज्ञान हामीले ११ र १२ पढ्दा राम्ररी सिक्न पाएका थियौं। त्यही ज्ञान बेचेर राम्रा अक्षर, राम्रा चित्रले ढड्डा भरेर बुझाएपछि प्राक्टिकलको खड्गो टर्छ। अनि भाइभा बेहोर्नुपर्छ लाइन लागेर। लाइन लाग्नेको हालत राहत थाप्नेको जस्तै हुन्छ। भाइभामा सोधिने प्रश्नहरु निकै गह्रुँगा हुन्छन्। तर हामी त्यस्ता सैद्धान्तिक र वैज्ञानिक प्रश्नलाई पनि नेता स्टाइलमा, भाषण स्टाइलमा झेल्न बेस्सरी सिपालु भइसकेका छौं। नेता स्टाइलमा प्राध्यापकसामु भाषण दिएर भाइभा पार लाग्छ। यो हालतमा पढाइ पार लाग्ने भएपछि ९ बजेसम्म नसुतेर भो?
न पढाइ, न लेखाइ। न पढ्ने माहोल, न पढाउने माहोल। न प्राक्टिकल नै। कृषिको पढाइ आकाशे खेतीजस्तै चलिरहेको छ। भर्ना गर्ने बेलामा कडाइ गरिएकाले थोरै पढेर धेरै सजिलै पार लगाउन सक्ने विद्यार्थी भएका कारण नेपालको कृषिको पढाइ राम्रो छ भन्ने भ्रम परिरहेको छ। मौका पाउनासाथ राम्रो उन्नति-प्रगति गर्न सक्ने यो जनशक्तिलाई वर्षभरि रातोदिन पढाइमा घोटाउन सके, जोताउन सके, पुस्तकालयमा अल्झाउन सके, फिल्डमा खटाउन सके, कृषकसँग, मल, बिउबिजन, औजार र उपकरणसँग घुलमिल गराउन सके कृषिको पढाइले नेपालको कृषि विकासमा राम्रो योगदान दिन सक्ने थियो। त्यसो नहुनुमा विद्यार्थी, शिक्षक, अभिभावक, विश्वविद्यालय र राजनीतिक दल सबैको साझा दोष छ। हामी त पढ्ने कुनै मौका नै नपाईकन कृषिविद् बन्ने भयौं। हामी पछाडिका भाइबहिनीको पढाइमा यसरी घुनपुत्ला नलागोस्।
(रेजिना त्रिभुवन विश्वविद्यालयमा कृषि विज्ञान विषयमा स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।