मनु ब्राजाकी...।
'मनु ब्राजाकीको वास्तविक नाम के हो?' मनु ब्राजाकीको वास्तविक नाम चेतमानसिंह भण्डारी हो। कतै फेरि पढ्छु, ब्राजाकीको खास नाम चेतनमान सिंह भण्डारी हो।
म र मेरो पुस्ताले सामान्य ज्ञानका प्रत्येक पुस्तकमा यो प्रश्न पढेरै हुर्किएका हौँ। लोकसेवा तयारीका लागि घरमा दाजुदिदीले किनेका सामान्य ज्ञानका हरेक पुस्तकमा ‘साहित्यकार मनु ब्राजाकीको खास नाम के हो?’ भन्ने प्रश्न अटाएकै हुन्थ्यो।
यसरी मेरो बालशुलभ मष्तिकमा कहिल्यै नभुल्ने गरी एउटा नाम अटेर बस्छ। क्रमशः समयको उकालोमा यो नामसित म पटकपटक ठोकिन पुग्छु। तर, समान्य ज्ञानले सामान्य कुरा ख्यालै गर्दैन। ब्राजाकी सरको नाम त चेतमान पो हो। बित्थामा 'न' जोडेर चेतनमान बनाइदिरहन्छ। म झोक्किरहन्छु।
मेरा ‘वान एण्ड अन्लीे’ मामाश्रीको नाम पनि चेतराज हो। चेतमान वा चेतराज, यस्तो अनौठो स्वरको नाम पनि मेरा लागि बाल्यकालमै प्रेमिल नाम बन्न पुग्छ। आज यो लेख लेख्न बस्दा यी दुवै प्रिय नामहरू भौतिक रुपमा नभएको थाहा पाएर म केहीक्षण सोचमग्न बन्छु। एक्लो महसुस गर्छु।
०००
कथा पढ्न सक्ने र कथा पढ्ने बानी लागेपछि घरमा भएका ‘मधुपर्क’ र ‘समकालीन साहित्य’का पुराना अंकमा पनि म पटकपटक मनु ब्राजाकीलाई भेट्छु। यही क्रममा मैले उनको मास्टरपिस कथा ‘तिम्री स्वास्नी र म’ पढ्न पुग्छु। म कथा बुझ्दिनँ र आफैंसित झोकिन्छु। फेरि पढ्छु फेरि बुझ्दिनँ। आखिर यति सुन्दर कथा बुझ्न मैले उमेरका उन्नाइस वसन्त पार गर्नैपर्यो।
मनु ब्राजाकी र उनको समय मैले देख्ने कुरै भएन। उनको नाति पुस्ताको मैले उनलाई भेट्ने, कुरा गर्ने समयमा ब्राजाकी बिरामी परे। मैले अन्तवार्ता गर्ने वा फिचर लेख्ने बेलामा पनि उनी कहिले अमेरिकातिर रहे। अन्नतः मैले आफ्ना यी विलभ्ड स्टोरी टेलरलाई वान टु वान भेट्न सकिनँ। (र भेट्न नसकेकोमा खुसी नै लागेको छ।) ब्राजाकीको ‘गुरु चेला र माकुराको जालो’ कथा त मैले किताब किन्न गएकै पसलमा बसेर पढिसकेको थिएँ।
एकचोटी त दसैंको नवमीको बेला रुघा लागेर सुतेर बसिरहेको थिएँ। घरमा खसी काट्ने तयारी भरहेको थियो। मचाहिँ कोठाभित्र मनु ब्राजाकीको लामा कथाहरू पढीसक्ने ध्याउन्नमा थिएँ। एक्कासी घरमा मलाई काम नसघाएको आरोप आउँछ। र म कथाको किताब बोकेर बगैँचातिर हिँडिदिन्छु।
त्यो दसैं पनि आखिर त्यसरी नै बित्छ। यसरी कथा पढ्ने मेरो मेरो अभीप्साले मनु ब्राजाकी मेरो लागि सबैभन्दा निकटका कथाकार बन्न पुग्छन्। अनि ब्राजाकी भन्ने लयदार नाममा म आफ्नोपनको महसुस गर्न थाल्छु। साथीभाइ, साहित्य सर्कल जताततै म शानका साथ यो नाम लिएर हिँड्छु।
०००
माथिका सबै घटनाहरू मेरा स्मृति हुन्। धेरै वर्षअघिबाट जोडिँदै जोडिँदै आएका।
एक वर्षअघि–
मैले मनु ब्राजाकी बिरामी भएको बखर थाहा पाएँ। त्यही दिन फेसकबुकबाट उनी पाटन अस्पतालमा रहेको पनि थाहा पाएँ। भोलिपल्ट ब्राजाकी बिरामी भएको खबर मिडियाहरुमा आए। म पनि आफ्नो अफिस पुगेर त्यही खबर फोन गरेर बुझेँ र समाचार लेख्न थालेँ । साहित्यमा रुचि राख्ने मानिसले यो खबर छाप्नुपर्छ भन्ने कर्तव्यले मलाई हिर्काएकोले म जतिसक्दो छिटो समाचार लेख्न थालेँ।
तर, मेरो सेक्सनका हाकिमले आक्रोशको शैलीमा भने, ‘को हो यो ब्राजाकी–स्राजाकी भनेको?’
अहो, यो त छाप्न नहुने समाचार पो रहेछ भनेर म चुप लागिरहेँ।
यो घटना भएको एक महिनापछिको कुरा हो। म त्यो दिन भर्खरै अफिस आइपुगेको मात्रै थिएँ। हाकिम चुपचाप बसिरहेका थिएँ। उनले फेरि गाली गर्ने हुन् कि भनेर म डराएँ। तर, उनले त मलिनो स्वरमा भने, ‘भाइ मनु ब्राजाकी त बितेछन्, सबैले मुख्य समाचारजस्तै बनाएका छन्। हामीले पनि अलि ठूलो समाचार हाल्नुपर्यो रे।’
मृत्युको खबरले मलाई त्यति ठूलो प्रहार गरेन। किनकि, यो अत्प्रत्याशित थिएन। तर, भेट्न जान नपाएकोमा भने मलाई थकथकी लागिरह्यो। मैले त्यो दिन खाना खाएको थिइनँ। बसेर लामो फिचरजस्तो बनाएँ अनि केही कवि मित्रहरू भेट्न भृकुटीमण्डप आएँ। मलाई यो दिन पनि हाकिमको बोली अचम्मकै लागिरह्यो।
ब्राजाकीको मृत्युपछि उनलाई धेरै आत्मीय साथीभाइ, शुभचिन्तक र पाठकले लेखरचना, श्रदाञ्जलीबाट सम्झिरहे। सबै मिडियाले खबरलाई सम्प्रेषित गरे।
पछि मैले त्यो अफिस छाडेँ। ती दाइ उमेरका हाकिमसँग त्यसपछि भेटेको छैन। तर, पनि स्मृतिका पर्दामा कसैले चिनेर होस् वा नचिनेर, चिनेर पनि वास्ता नगर्दै कुनै सृजनशील र प्रज्ञासम्पन्न बिरामी मानिसलाई हेयले बोलेको सम्झेर अँध्यारो महसुस गर्छु। कसैले मर्यादाको सीमा नाघेको देख्दा आफैं प्रताडित हुन्छु।
०००
बाल्यकालदेखि नै अनेका प्रसंगमा जोडिएर आउने उही प्रिय कथाकार मनु ब्राजाकीको पहिलो स्मृतिदिवसमा यो खेस्रा लेखेँ। आखिर स्मृतिका सानासाना हिर्काइले त मानिसको मस्तिष्क गतिशील बन्दोरहेछ।
आदरणीय मनु ब्राजाकीप्रति हार्दिक श्रद्धाञ्जली!
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।