काठमाडौं– कवि जीवन खत्रीको कविता सङ्ग्रह ‘आगोको वर्णमाला’को शनिबार सर्वनाम थिएटरमा लोकार्पण गरिएको छ। कृतिलाई वरिष्ठ कवि तुलसी दिवस, कविहरु मोमिला, बिमल आचार्य, दीपक सापकोटा र कविका पितामाताले संयुक्त रुपमा विमोचन गरेका हुन्।
कार्यक्रमका प्रमुख वक्ताको रुपमा बोल्दै वरिष्ठ कवि दिवसले ‘आगोेको वर्णमाला’ कविता संग्रह राम्रो रहेको बताउँदै कमजोरी सबैमा हुने र त्यही कमजोरी नै कविका विशेषता हुने बताए। कविले तालीका लागि नभई कविताका लागि कविता लेख्नुपर्नेमा उनले जोड दिए।
‘नेपाली कविता निकै कम लेखिएका छन्, तर जीवन खत्रीले साँच्चै पहाडी बिम्बहरू टिपेर नेपाली कविता लेखेका छन्’, उनले थपे, ‘जीवनले कविताका लागि कविता लेखेका छन् र उनी नेपाली साहित्यमा चम्किने तारा हुन्।’
कवि जीवनका कवितामा फूलमा जस्तो कोमलता रहेको तर चट्टानी चोट दिनसक्ने क्षमता भएको दिवसले दाबी गरे।

पुस्तकमाथिको अन्तर्संवादमा जोडिएका पत्रकार÷समिक्षक दीपक सापकोटाले जीवनका कविताहरूमा कोमलता र आमाका बिम्बहरू कलात्मक र गहिरो अर्थका साथ घुलेको बताए। सापकोटाले यस कृतिले जीवनलाई नयाँ उचाई दिने र कविहरूको भीडमा प्रष्ट चिनाउन सक्ने दाबी गरे। भने, ‘कविहरुको भिडमा जीवन टाढैबाट देखिने रातो बिन्दुजस्तो हो।’
समालोचक विमल आचार्यले नेपाली कविता क्षेत्रमा जीवन खत्रीका कविताहरूमा सबै किसिमका स्वरुहरु पाउन सकिने दाबी गरे। भने, ‘कविता पढ्दा उनी प्रगतिवादी कवि हुन भन्नेमा कुनै शंका छैन।’
आचार्यले केही कविताहरुमा अझै तयारी नपुगेको समेत टिप्पणी गरे। ‘कविता लेखनमा जीवनको उपस्थिति बलशाली ढंगबाट आएको छ। केही कविताहरुमा एउटै कुरा दोहोरिएकोजस्तो लागे पनि आधाभन्दा बढी कविता राम्रा छन्।’

कवि मोमिलाले जीवनका कविताहरू सुन्दर र सरल रहेको भएपनि आगोजस्तै रापिलोसमेत भएको धारणा राखिन्। ‘कविता लेख्नु सामान्य कुरा हैन, तर यो कुरा जीवनले मनन गरेर लेखेका छन्, कवि जीवन खत्री यही सङ्ग्रहबाट स्थापित हुनेछन्’, उनको भनाइ थियो।
उनले कविता प्रस्तुत गर्ने शैलीमा जीवन सफल भएको बताइन्। ‘कविताको क्राफ्ट असाध्यै उत्कृष्ट छ, विषयको गहिराईमा प्रवेश गर्ने तरिका पनि राम्रो छ। अझ अन्तरविरोध सहित कविताको इन्डिङ दिने शैलीले जीवन कवि जीवननै भएर बाँच्ने छन्’, मोमिलाले भनिन्।
सबै कविका सबै कविता उत्कृष्ट नहुने जिकिर गर्दै उनले भूपि शेरचनका केही कविताहरु पनि ‘झुर’ भएको टिप्पणी गरिन्। ‘केही कविताका विषय दोहोरिएका हुन् कि भन्ने लाग्यो। केहीमा परिस्कार पनि गर्न सकिन्थ्यो होला,’ मोमिलाले भनिन्, ‘तर, कवि भूपिका पनि सबै कविता राम्रा छैनन्, केही कविता झुर पनि छन्। त्यसकारण जीवनलाई पनि कम आक्न हुन्न।’
अन्तरसंवादकै बीचमा कवि खत्रीले ‘आमाहरुको गन्थन’, ‘नानीबाबुहरु, पात र प्रेम’ गरी दुई कविता वाचन गरेका थिए। पुस्तक यूरेका पब्लिकेसनले बजारमा ल्याएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।