सानो घर, सुखी परिवार। जहाँ कुनै सदस्यलाई ठूलो सपना देख्नुछैन।
सदस्यहरुको प्रेम र सद्भावले इश्र्या र मोहलाई जितेको छ। कसैलाई कसैसँग गुनासो छैन।
परिवारमा जेष्ठ सदस्यको रुपमा एउटी विधवा आमा छिन्। उनीसँग विगतका पीडा त छँदै छन्। तर, ती पीडा सन्तानको खुसीले धुमिल्याएका छन्। उनका दुई छोरा, पौराणिक कथा महाभारतका पात्र राम र लक्ष्मणजस्ता छन्।
हाँसखेल गर्छन्, ठट्टा गर्छन्। तर, दुवै आफ्ना कामप्रति कटिबद्ध छन्।
निम्नमध्यम वर्गीय परिवारमा हुर्किएका दुबै भाइले लेखपढ गरेका छैनन्। तर, व्यवहारिक छन्।
दुबै विवाहित हुन्। दुबै दुलहीको मिल्ती पनि खुब राम्रो छ। परिवारकी एक मात्र बहिनी, जो उनीहरू सबैका निम्ति प्याारी छिन्।

घर सानो भए पनि हृदय ठूलो लिएर सबै मिलिजुली बसेकाले संयुक्त परिवारको सुन्दर दृश्य छ, नाटकमा।
०००
सर्वनाम थियटरमा पुस ६ गतेदेखि मञ्चन भइरहेको नाटक ‘करोट’को एक पारिवारीक दृश्य हो यो। करोटको अर्थ हो ‘कोल्टे फेर्नु’।
समय अस्थिर छ। त्यसैले घटनाहरू घटिरहन्छन्, परिस्थतिहरु बदलिरहन्छन्। यही अनुसार पात्र र उसको स्वभाव, चरित्रमा पनि बदलाब आउन सक्छ। बदलाबकै क्रममा खुसी बदलिन सक्छ, दुःखका घन्टीहरू पनि हृदयमा धड्कनको चालमा बजिरहन सक्छन्। यस्तै परिवर्तित घटना परि–घटनाहरूको सम्मिश्रण हो नाटक ‘करोट’।
नाटकमा बोलीचालीको रुपमा प्रयोग भएको भाषा हो–थारु। तर, कथावस्तु थारु समुदायमा मात्रै सीमित छैन। यसले आम नेपाली समुदायको कथा उठान गरेको छ।
थारु समुदायको संगीत र संस्कृतिले नाटकको सौन्दर्यमा थप शृंगार गरेको छ।
‘अरि मैना एक रंग जोगिया सौ रे रंग बसिया
तिलिरङ तिलिरङ सिर्मल जोग्या बसिया बजैल हो मैना!’
(जोगीको एउटा रङ छ, गेरु। तर, उसले बजाएको बाँसुरीको धुन सय रङको छ। तिलिरङ तिलिरङ सिर्मल जोगीले बाँसुरी बजायो है सखी।)
थारु समुदायमा लोकप्रिय छ मैना गीत। मञ्चमा पात्रहरूबाट मैना गीत गुन्जिरहँदा नाटक आकर्षक लाग्छ।
नाटकको सुरुवात, एउटा गरिब तर खुसीमा बाँचिरहेको निम्न मध्यमवर्गीय परिवारको रमाइलो दैनिकीबाट भएको छ। परिवारको सुख, दुःखमा सबै एक ढिक्का छन्।
समयक्रमसँगै यो सुखी परिवारमा एकाएक बेमेल आउँछ।

मानिसमा उत्पन्न हुने मोह र व्याप्त अन्धविश्वासले दाजुभाइको सम्बन्ध टुक्रिन्छ। सम्बन्ध टुक्र्याउने माध्यम बनिदिन्छ ‘सुन’।
दुई दाजुभाइमा मङ्गर्या जेठो र सुकराम कान्छो छोरा हुन्। जेठाकी दुलहीको नाम गजमोटी हुन्छ। सोन्या कान्छाकी दुलही। गजमोटीको बच्चासमेत भइसकेको हुन्छ।
परिवारमा बेमेलको समय त्यसदिनबाट सुरु हुन्छ, जुन दिन बारीमा काम गरिरहेको अवस्थामा सुकरामकी दुलहीले सुन भेट्टाउँछे। सुनले उसको मनमा डर र मोह दुबै पैदा गराउँछ।
‘सुन भेट्टाए दशा लाग्छ’ भन्ने भनाइ नेपाली समुदायमा प्रचलित छ। तर, डर र मोहको विलखबन्दमा सोन्या परेकी देखिन्छ। उसले सुन लुकाएर घर ल्याउँछे। बेलुकी कोठामा सुकरामलाई सुन देखाउँछे। सुकरामलाई मोह पलाउँछ।
त्यही मोहले सुकरामको स्वभावमा बदलाब आउँछ। ऊ परिवारबाट छुट्टिने प्रयास गर्छ। ऊ एकोहोरिन्छ र एकाएक ठूला–ठूला सपना देख्न थाल्छ। उसको महत्वाकांक्षा बढ्छ।
०००

थारु संस्कृतिको एउटा चाडको मेसो छ। नाचगानको समयमा घरमा छुट्टै खुसी छाएको हुन्छ। त्यतिबेला बहिनी चेच्याको निहुँले सुकरामले झगडा निम्ताउँछ।
आक्रोसको झोंकमा उसले दाजुलाई हातपात गर्छ। घरमा एकाएक अशान्ति छाउँछ। परिवारमा छाएको अशान्ति एकाएक अंशवण्डासम्म पुग्छ। तर, सुकरामका लागि भने यो परिवारसँग छुट्टिने उपयुक्त बहाना हुन्छ।
नाटकभरि यो सबैभन्दा दुःख को क्षण हो। यही पीडाले असह्य भएर आमा बिरामी पर्छिन्। घरको सौन्दर्य एकाएक कुरुप भएर जान्छ।
परिवारसँग छुट्टिएपछि सुकराम आफूले लुकाएर राखेको सुन लिएर सहरमा बेच्न जान्छ। पतिमा देखिएको सुनप्रतिको बढ्दो मोह र यसैले परिवारमा ल्याएको विखण्डनले सोन्यालाई निकै दुःखी तुल्याउँछ।
उता आमा पीडाले बेहोस हुन्छिन्। त्यसपछि कहिल्यै होस् नखुल्ने गरी उनी संसारबाटै बिदा हुन्छिन्।

सुनकै कारण परिवारको बेमेल भएको नाटकमा देखाइएको छ। दाजुसँग सम्बन्ध टुट्नु, आमाको मृत्युपछि अर्को एक घटना सो परिवारमा थपिन्छ, जुन सुकरामले कल्पनासम्म गरेको हुँदैन। अन्ततः सुकरामलाई छाडेर सोन्या घरबाट निस्किन्छे।
सुन बेच्न घरबाट हिँडेको सुकराम घर फर्किंदा यी सब घटना भइसकेका हुन्छन्। उसको सपना क्षणभरमै धुलो भएर उड्छ।
यहाँ एउटा गजबको रहस्य भइदिन्छ। सुनको कारण जुन घटना भयो, त्यो सुन पनि नक्कली हुन्छ।
त्यसपछि बगिरहेको नदीमा सुकरामले सुनसहित आफूलाई त्याग गरेको दृश्य निकै कारुणिक लाग्छ। नाटक यतिमै अन्त्य भने हुँदैन।
त्यसपछि एक माझी दम्पत्तिले माछा मार्दै गरेको दृश्य देखाइन्छ। सुकरामले नदीमा फालेको नक्कली सुन तिनै माझी महिलाले भेट्टाउँछिन्। त्यसपछि सुरु हुन्छ उनको पनि सुनप्रतिको मोह..।
०००
अकस्मात भेटिएको सुनका कारण परिवारमा आएको आँधिबेहरीको चित्रण गरेको छ नाटक ‘करोट’ले।
नाटकमा सुकरामको भूमिकामा इन्द्रबहादुर चौधरी, चेच्या र सोरिहान सन्ह्लीको भूमिकामा भूमिका चौधरी, सोन्याको भूमिकामा सुनिता चौधरी, मौसा र लाहुरेको भूमिकामा निरज बाबु चौधरी, गजमोटीको भूमिकामा शान्ती चौधरी, मङ्गर्याको भूमिकामा दीपक पछल्दङ्या, चैनारी अर्थात् आमाको भूमिकामा उर्मिला गम्वा थारु र फुईको भूमिकामा लक्ष्मी चौधरीले अभिनय गरेका छन्।
नाटकमा अभिनित सम्पूर्ण पात्रहरूको जीवन्त अभिनयले नाटक लोभलाग्दो बनेको छ। भान्सामा खाना पस्किएको दृश्य, इनारबाट पानी तानेको दृश्य, बगिरहेको नदीको दृश्यमा कलाकारले निभाएको कलाकारिता निकै सुन्दर लाग्छ।
नाटकको लेखन तथा निर्देशन प्रवण आकाशले गरेका हुन् भने रविलाल थारु नाटकको निर्माता रहेका छन्। थारु भाषामा २ वर्षअघि नाटक ‘भुरभुर रहर’ मञ्चन गरिएको थियो। यो नाटक फिल्मको रुपमा पर्दामा आउनेछ। जसको ट्रेलर पनि सार्वजनिक भइसकेको छ।
त्यसपछि थारु भाषामा कुनै पनि नाटक मञ्चन नभएकाले ‘करोट’को निर्माण गरेर जोखिम उठाएको निर्माण टिमको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।