काठमाडौं– भारतीय सिने जगतका एक बेजोड हस्ती कादर खानको ८१ वर्षको उमेरमा निधन भएको छ। पछिल्लो १६÷१७ सातादेखि श्वासप्रश्वाससम्बन्धी समस्याका कारण क्यानडाको टोरान्टोस्थित अस्पतालमा भर्ना गरिएका खानको सोमबार साँझ निधन भएको हो।
स्थानीय समयानुसार साँझ ६ बजे उनको निधन भएको छोरा सर्फराज खानले जानकारी दिए। सर्फराजका अनुसार सामान्य भेन्टिलेटरबाट ‘बिआइपिएपी’ भेन्टिलेटरमा सारिएका खान सोमबार अपरान्हदेखि ‘कोमा’मा गएका थिए।
सर्फराजले आफ्ना बुवाको असहज अवस्थामा परिवारलाई साथ र सान्त्वना दिने सबैप्रति आभार प्रकट गरेका छन्।
सन् १९३७ मा अफगानिस्तानमा जन्मिएका खान भारत र क्यानडा दुवै देशका नागरिक थिए। औपचारिक रुपमा इन्जिनियरिङका विद्यार्थी खानले बलिउडमा करिब ३ सय चलचित्रमा अभिनय गरेका थिए भने १ हजार भन्दा बढी चलचित्रको संवाद लेखेका थिए। सलमान खान, अक्षय कुमार र प्रियंका चोपडा अभिनित चलचित्र ‘मुझसे सादी करोगी’मा अभिनय गरेका खान त्यसपछि बलिउडको पर्दामा देखिएका थिएनन्।
चलचित्रको पर्दामा आउनुपूर्व खान भारतको एमएच साबु सिद्धिकी क्याम्पसमा इन्जिनियरिङ विषयको प्रध्यापनसमेत गर्दथे। अध्यापनकै क्रममा खानलाई एक नाटकमा खेल्ने अवसर मिल्यो। अन्ततः सोही नाटकनै अभिनय क्षेत्रका लागि उनको पहिलो खुड्किलो बन्यो।
सो नाटक हेर्न भारतीय सिने जगतका प्रख्यात हस्ती दिलिप कुमार पुगेका थिए। खानको अभिनय क्षमताबाट प्रभावित भएका कुमारले उनलाई सोही नाटकपछि आफ्नो भावी सिनेमामा खेल्न प्रस्ताव गरेका थिए।
यसरी सन् १९७३ मा उनी पहिलो पटक भारतीय सिनेमा ‘दाग’मार्फत बलिउडमा प्रवेश गरेका थिए। उनी अभिनेताका अलावा पटकथा लेखक, संवाद लेखक र निर्देशक पनि रहिसकेका छन्।
भारतीय हास्य कलाकारिता क्षेत्रमा कादर खान र गोविन्दाको जोडीलाई राम्रो ‘केमेस्ट्री’ भएको जोडीका रुपमा लिइन्छ। खानले अन्य अभिनेताहरुसँग पनि बेजोड रुपमा काम गरे पनि डेविड धवनको निर्देशन रहेको तथा उनी र गोविन्दा अभिनित चलचित्र र त्यसको हास्य रसका विषयमा भारतीय सिने जगतमा यद्यपि चर्चा गरिन्छ।
खानकाे अभिनय करियरमा निर्देशकद्वय मनमाेहन देशाई र प्रकाश मेहरासँगकाे गुगलबन्दी निकै सफल मानिन्छ। खान अभिनित चर्चित फिल्महरुमा धरमवीर, गंगा जमुना सरस्वती, कुल्ली, देशप्रमी, सुहाग, पर्वरिश, अमर अकबर एन्थोनी, ज्वालामुखी, सरावी, लावारिश, मुकद्दरका सिकन्दर लगायत छन्।
भारत अवस्थित अस्मानिया विश्वविद्यालयबाट अरेविक भाषामा स्नातक गरेका खानले भारत, क्यानडा, पाकिस्तान, अमेरिकालगायत देशमा अरेविक भाषा कक्षा सञ्चालन गर्ने अभिलाषा राखेको भए पनि त्यसले खासै मूर्तरुप लिन पाएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।