डा अमृत पोखरेललाई चिन्नेले उनलाई क्रिकेटरका रुपमा चिन्छन्। नेपाल सन् २००५ मा दुबईमा भएको यू–१५ एशिया कपमा विजेता बन्दा उनी नेपाली टोलीको मुख्य खेलाडी थिए।
हालका राष्ट्रिय कप्तान पारस खड्काको नेतृत्वमा नेपाल यू–१७ एशिया कपमा सहभागी हुँदा पनि उनी टिममा समावेश थिए। यू–१९ राष्ट्रिय टोलीको कोच बनिसकेका चर्चित क्रिकेटर विनोद दाससँग पनि उनले क्लब क्रिकेट खेल्ने मौका पाएका थिए।
डा. अमृत १४ वर्षको ठिटो हुँदाका घटना हुन्, यी। बारामा जन्मेहुर्केका उनी सानै उमेरमा क्रिकेट खेलाडीका रुपमा चम्किसकेका थिए। त्यसैले उनले खेलेको हेर्नेहरु भन्ने गर्थे–भविष्यमा उनी ठूलो क्रिकेटर बन्ने छन्। तर, उनीहरुका भविष्यवाणी कालान्तरमा फेल भए। किनभने क्रिकेटमा राम्रो भविष्य हुँदाहुँदै उनी डाक्टर बनिसकेका छन्।
उनलाई अझै याद छ, उमेरको वृद्धिसँगै उनमा कसरी क्रिकेटको ज्वरो बढ्यो। राम्रो क्रिकेट खेल्ने कारण नै उनले एसएलसी पछि प्लस टू पढ्न नोबेल एकेडेमीमा छात्रवृत्ति पाएका थिए। बिज्ञान विषयमा कक्षा १२ को पढाइ सकेपछि भने एकाएक उनको जीवनको लक्ष्य नै फेरियो।
उनी सम्झिन्छन्, ‘जब भविष्यका बारेमा सोच्ने बेला आयो, क्रिकेटमा भविष्य देखिनँ।’ त्यति बेला उनले क्रिकेटमा भविष्य नदेख्नुमा तत्कालिन घटनाले पनि प्रभाव पारेको रहेछ। एशिया कप जितेर नेपाल फर्किएलगत्तै उनीलगायत नेपाली टिमको देशभरी वाहवाही थियो। सबैले उनीहरुको मात्र कुरा गर्थे। तर, जब पुरस्कार बापत पाएको पैसा बाँड्ने बेला आयो, उनको हातमा १५ हजार रुपैयाँ मात्र पर्यो। यसपछि उनलाई लागेछ, ‘क्रिकेटले नाम त दिलाउला तर परिवार चलाउने ग्यारेन्टी दिन सक्दैन।’
२००५ मा युएई खेल्न जान लागेकाे नेपाली टिमकाे बिदाई। अघिल्लाे लहरमा अमृत। तस्बिर अमृतकाे फेसबुकबाट। जुन काठमाडाै पाेष्टमा छापिएकाे थियाे।
नाम पनि त खेलुन्जेल सम्म न हो! खेल्दै जाँदा चोट लाग्ने निश्चित छ। त्यसपछिका जीवन झन् विकराल छ। उनलाई यीनै कुराले घोच्न थाल्यो। यसपछि नियमित क्रिकेट मैदान जाने उनको बाटो मोडियो। उनी अब एमबिबिएस इन्ट्रान्स परीक्षाको तयारी गराउने इन्सिच्युटतिर धाउन थाले।
आफ्नो करिअरका लागि प्रिय खेल छोड्नु पर्दा मनमा कता हो कता, उनलाई च्वाँस भने घोचेको थियो। क्रिकेट खेल्दा मेहनत गर्ने बानीले उनलाई पढाइमा खुब सघायो। कुलतबाट टाढा रहन र अनुशासित बन्न पहिले नै खेलले सिकाइसकेको थियो, अब उनले डाक्टर बन्न रातदिन मेहनत गरे। यसपछि उनले शिक्षा मन्त्रालयको छात्रवृत्ति कोटामा नाम निकालेर काठमाडौं मेडिकल कलेजमा एमबिबिएस गरे। एमबिबिएस पढ्ने क्रममा उनले इन्ट्रान्स तयारी कक्षाका लागि किताब समेत लेख्न भ्याए।
हाल उनी नेपाल सरकारको करार सेवामा दुर्गम जिल्ला रसुवामा कार्यरत छन्। दुर्गम क्षेत्रमा काम गर्दा स्थानीयले दर्शाउने आत्मीयता र प्रकट गर्ने आभारले उनलाई पुलकित तुल्याउँछ।
उनलाई आफूले खेल्ने बेलामा भन्दा अहिले क्रिकेट खेलाडीको भविष्य केही सुनिश्चित भएको हो कि जस्तो लाग्छ। तर, सबै खेलाडीले खेलेर जीविकोपार्जन गर्न सक्ने अवस्था बनिनसकेको उनी बताउँछन्। ‘आक्कल झुक्कलमा पुराना साथीहरु सँग भेट हुनेगर्छ। त्यति बेला उनीहरुबाट क्रिकेटको माहोल बुझने गर्छु,’ उनले भने।
डाक्टर बनिसक्दा पनि क्रिकेटको भूतले भने उनलाई छोडेको छैन्। त्यसैले कहिलेकाहिँ फुर्सद मिल्यो कि उनी खेल्न तम्सिहाल्छन् । ‘तर, अब ब्याट बलभन्दा स्टेथेस्काेप र सिरिन्जमै रमाउँछु। यी दुबै क्षेत्र आफैले रोजेको हुँ। मलाई खेल्न छाडेकोमा पछुतो छैन। चिकित्सकीय पेशामा रमाइरहेको छु,’ उनले छुट्टिने बेला नेपाल लाइभसँग भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।