मुम्बई– भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहमाथि बनेको फिल्म ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’को ट्रेलर सार्वजनिक गरिएको छ।
ट्रेलरमा मनमोहन सिंहलाई प्रधानमन्त्री बनाएपछि देशभर उठेका प्रश्नको भारतीय कांग्रेसकी पूर्व अध्यक्ष सोनिया गान्धीले जवाफ दिएको देख्न सकिन्छ। फिल्ममा गान्धीलाई सिंहको विपक्षी भूमिका अर्थात ‘खलनायक’को चरित्रमा देखाइएको छ।

मनमोहन सिंहको भूमिकामा रहेका अनुपम खेरले देश विकासका लागि न्युक्लियर इनर्जीको आवश्यकता पर्ने बताइरहँदा सोनियाले भने उक्त विषय पार्टीका लागि मान्य नभएको बताउँछिन्। फिल्मले भारत र पाकिस्तानबीच विवादको केन्द्रमा रहेको काश्मिर मुद्दामाथि पनि सवाल उठाएको बताइएको छ।
फिल्ममा खेरले सिंहको भूमिका निभाइरहँदा जर्मन अभिनेत्री सुजैन बर्नर्ट सोनिया गान्धीको रुपमा देखिने छिन्। फिल्ममा गान्धीको भूमिकालाई निकै चासोका साथ हेरिएको छ।
मनमोहन सिंहका प्रेस सल्लाहकार सञ्जय बारुको पुस्तक ‘द एक्सिडेन्टल प्राइम मिनिस्टरः द मेकिङ एन्ड अनमेकिङ अफ मनमोहन सिंह’को पुस्तकका आधारित रहेर निर्माण भएको फिल्मको घोषणादेखि नै चर्चा सुरु भएको थियो।

फिल्ममा सिंहको प्रेस सल्लाहकार तथा प्रवक्ताको रुपमा अभिनेता अक्षय खन्ना देखिनेछन्। सिंहसँग निकट मानिएका पूर्वप्रधानमन्त्री अटल बिहारी बाचपेयीको स्थानमा राम अवतार भारद्वाजलाई देख्न सकिन्छ।
यस अलावा सिंहकी पत्नी गुरशरण कौरको भूमिका दिव्या सेठ, हालका कांग्रेस अध्यक्ष राहुल गान्धीको रुपमा अर्जुन माथुर र प्रियंका गान्धीको रुपमा अहाना कुमरा पर्दामा देखिनेछन्।

त्यस्तै अवतार सिन्हाले लालकृष्ण आडवाणी, विमल बर्माले लालुप्रसाद यादव तथा अनिल रस्तोगीले शिवराज पाटिलको रुपमा अभिनय गरेका छन्।

फिल्मको छायाँकन लन्डन तथा भारतका विभिन्न स्थानमा गरिएको हो।
अनुपम खेरको यस फिल्मको निर्देशन विजय रत्नाकर गुट्टेले गरेका हुन्। फिल्म जनवरी ११ मा रिलिज हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।