पोखरा– नेपाली गद्य कवितामा सधैं एउटै आरोप लाग्ने गरेको छ, ‘समकालीन कविहरू भूपी र रिमालभन्दा माथि उठ्न सकिरहेका छैनन्। लामो समय बितिसक्दा पनि पुरानै शैलीमा लेखिरहेका छन्।’
यही सेरोफेरोमा रहेर आइतबार पोखरामा कवि सरस्वती प्रतीक्षाले ३ कविलाई प्रश्न गरिन्।
पोखरामा जारी सातौं नेपाल साहित्य महोत्सवमध्येको एउटा सेसन ‘कविताको कोरियोग्राफी’मा उभिएका ३ कवि थिए – विप्लव ढकाल, विप्लव प्रतीक र रमेश क्षितिज।
प्रतीक्षाको प्रश्नमा वक्ता कविहरू सहमत भएनन्।
उनीहरूले उस्तै देखिएपनि कविता लेखन जगतमा धेरै फरक आइसकेको तर्क राखे। ‘पहिलेको तुलनामा धेरै फरक आइसकेको छ। समसामयिक विचार र सरोकारमाथि लेख्न थालेका छन्,’ कवि विप्लव ढकाल आफ्नो तर्क राख्छन्, ‘अहिलेका कविले किनाराकृत मान्छे र समाजका कथा उनीहरुकै आवाजमा बोल्न थालेका छन्।’ कवि क्षितिज अहिलेका कविताले समयक्रम बोक्न थालेको बताउँछन्।
‘अहिलेका कवितामा सामाजिक राजनीतिक र कविताकै मुद्दा उठ्न थालेका छन्,’ कवि प्रतीक उल्टै प्रश्न गर्छन्, ‘भूपी र रिमालका क्राफ्ट चोरी भयो भन्ने तथ्य के छ?’
उनी पछिल्लो समय राम्रा कवि आइरहेको तर कविताप्रति गम्भीरपना नभएका कारणले त्यस्तो समस्या भएको सुनाउँछन्।
अहिले नेपाली साहित्य क्षेत्रमा पहिचानवादको मुद्दा उठिरहेको छ। साहित्यमा आञ्चलिकता प्रयोग गर्ने व्यापकता आएको छ। रैथाने भाषा र लवज राख्ने परम्पराले अर्कालाई भने बुझ्नै गाह्रो हुने र त्यसलाई अथ्र्याउन कविता मुन्तिर शब्दार्थ राख्ने चलन पनि आएको देखिन्छ।
कवि प्रतीक कवितामा त्यसो गर्न नहुने तर्क राख्छन्। ‘कविताको पुछारमा फुटनोट राख्नु राम्रो हुँदैन। यसले सबैलाई समेट्न सक्दैन,’ उनी भन्छन्।
कविता लेख्ने मात्रै कि वाचन पनि हो? सायद यही वरपर घुमेको छ कविता जगत। सबैको आआफ्नै मान्यता छन्। कवि प्रतीक कवितालाई शब्दले र वाचन दुवैले उत्कृष्ट हुने बताउँछन्। भन्छन्, ‘कुनै पनि कविताको मर्म अनुसार वाचन भयो भने त्यो कविता उत्कृष्ट हुन्छ।’
कविताको कोरियोग्राफीबारे कवि प्रतीक्षाले विप्लव ढकाललाई पहिलो प्रश्न गरेकी थिइन्। किनभने ढकालकै एउटा कविताबाट लिइएको शब्द थियो त्यो। ढकालले कविताको कोरियोग्राफी भन्नाले कविता लेख्नुुभन्दा अघिदेखि तयार पार्दासम्मको नक्सांकनलाई आफूले कोरियोग्राफी नाम दिएको प्रस्ट्याए।
कवि रमेश क्षितिजको सुरुदेखि अन्तिमसम्मको कविताको समष्टिगत रुप नै कविताको कोरियोग्राफी भएको बताए।
कवि ढकालको उत्तरमा भने अर्का कवि प्रतीक सन्तुष्ट भएनन्। भने, ‘कवितामा कुनै नक्सांकन हुँदैन। मैले दिमागमा जे आउँछ त्यही लेख्छु। पहिलो लाइन लेख्दा यसपछि के लेख्छु होला पनि सोच्दिनँ,’ उनी कवितालाई डिजाइन गर्न नसकिने बताउँछन्।
कवि रमेश क्षितिज कवितालाई परिभाषामा बाँध्न खोजे खुम्चिने बताउँछन्। भन्छन्, ‘कविता परिभाषामा बाँध्न खोजियो भने यो खुम्चिन्छ।’ उनी पछिल्लो समय फेसबुके कविले कविता बिगारे भन्ने कुराको खण्डन गर्छन्।
उनलाई फेसबुकले पनि धेरैलाई कवितासँग जोडिरहेको छ भन्ने लाग्छ। उनी भन्छन्,‘फेसबुकमा कविहरूले आफूलाई अव्यक्त गरिरहका हुन्छन्। यो एकदम राम्रो कुरा हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।