काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा पर्सा वीरगंज महानगरपालिका-१६ घर भएका ३० वर्षीय जय प्रकाश चौरसिया, भक्तपुर सूर्यविनायक नगरपालिका-५ घर भएका २७ वर्षीय आकाश दुलाल, गोरखा गण्डकी गाउँपालिका-२ घर भई चितवन भरतपुर महानगरपालिका-१० बस्ने ४३ वर्षीय कुल बहादुर थापा र काठमाडौं नागार्जुन बस्ने ३१ वर्षीय राजन आले रहेका हुन्।
पक्राउ पर्ने मध्ये जय प्रकाशले अजरबैजान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ, आकाशले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दुबै जनालाई बुधबार पक्राउ गरेको हो। साथै कुल बहादुर र राजनले अमेरिका पठाइदिन्छु भन्दै पीडितहरूबाट ५९ लाख २५ हजार रूपैयाँ ठगी फरार रहेकोमा सोही कार्यालयबाट खटिएको प्रहरीले दुबै जनालाई काठमाडौं सिनामंगलबाट मंगलबार पक्राउ गरेको हो।
जय प्रकाश र आकाशलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ भने कुल बहादुर र राजनलाई जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।