एजेन्सी– जापानको औसत तापक्रम सन् २०२४ मा लगातार दोस्रो वर्ष रेकर्ड उच्च हुने सम्भावना रहेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ।
क्योडो न्यूजले जापानको मौसम विज्ञानले जारी गरेको प्रारम्भिक तथ्याङ्कलाई उद्धृत गर्दै नोभेम्बर महिनाको औसत तापक्रम सन् २०२० सम्मको ३० वर्षको अवधिको वार्षिक औसतभन्दा १.६४ डिग्री सेल्सियस बढी रहेको बताएको छ।
देशको मौसम एजेन्सीले सन् १८९८ मा तथ्याङ्क जारी गर्न थालेदेखि रेकर्ड गरिएको औसत तापक्रम यताकै उच्च स्तरमा पुगेको छ।
“तापमान असामान्य रूपमा उच्च थियो भनेर भन्न सकिन्छ,” जापान मौसम विज्ञान एजेन्सी (जेएमए) अधिकारीले बताए।
एजेन्सीका अनुसार, उच्च तापक्रम पश्चिमी वायुले ल्याएको तातो हावाका कारण भएको हो।
प्रतिवेदनले जापानको तापक्रम हालैका वर्षहरूमा बढ्दै गएको र सन् २०१९ तथा सन् २०२३ बीचको पाँच वर्ष शीर्ष पाँच सबैभन्दा तातो वर्ष रहेको बताएको छ।
जापान वरपरका समुद्रहरूको औसत सतहको तापक्रम पनि नोभेम्बरको अन्त्यसम्ममा वार्षिक औसतभन्दा १.४६ डिग्री सेल्सियस बढी थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।