काठमाडौं– दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा १७९ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्।
विमानमा सवार १८१ जनामध्ये महिलाको जीवितै उद्धार गरिएको थियो। उनीहरु एक जना चालक दलका सदस्य र एक जना यात्रु हुन्।
दुर्घटनालगत्तै अग्नि नियन्त्रकसहितका उद्धारकर्ताले उनीहरुको उद्धार गरेका थिए। उनीहरुको उपचार मोकपो अस्पतालमा भइरहेको छ।
उनीहरुबाहेक अरु कोही पनि जीवित फेला नपरेको अधिकारीहरुलाई उद्धृत गर्दै योनहाप समाचार एजेन्सीले जनाएको छ।
थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको थियो। विमानमा चालक दलका ६ सदस्यसहित १८१ जना थिए। उनीहरुमध्ये दुई जना थाइल्याण्डका र अरु सबै दक्षिण कोरियाका थिए।
विमान दुर्घटनाको कारण खुलिसकेको छैन। तर विमान धावनमार्गमा चिप्लिएर बारमा ठोक्किएको थियो। त्यसपछि विमानमा आगो लागेको थियो।
विमान दुर्घटना दक्षिण कोरियाको जेओला प्रान्तको मुआन काउन्टीस्थित मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हो। यो विमानस्थल राजधानी सियोलबाट २८८ किलोमिटर दक्षिण पश्चिममा पर्दछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।