काठमाडौं– जल तथा पूवानुमान महाशाखाले हाल पाँच प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको जनाएको छ।
महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।
सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरूमा लगायत कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहनेछ।
देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहने महाशाखाले जारी गरेको मौसमसम्बन्धी बुलेटिनमा उल्लेख छ।
त्यस्तै आज राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा साधारणतया बदली रही देशका बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू साथै कर्णाली प्रदेश र कोशी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहनेछ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा साथै गण्डकी प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।