जनकपुरधाम– धनुषामा एक महिलाको हत्या भएको छ। धनुषाको मिथिला नगरपालिका ३ हरिपुरका दशैया मुखिया बिनकी श्रीमती ४८ वर्षीया रेशमी देवी बिनको हत्या भएको हो।
गाडेको अवस्थामा उनको शव बुधबार साँझ ७ बजेतिर आफ्नै घरको शौचालय पछाडि गाडेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनु साहले जानकारी दिए।
प्रहरी निरीक्षक साहका अनुसार घरायसी बिबादमा श्रीमान दशैयाले श्रीमतीको हत्या गरेको स्वीकारेका छन्। श्रीमान दशैयाकै बयान अनुसार श्रीमती रेशमीको शव फेला परेको हो।
मृतक रेशमीकी बुहारीले प्रहरीलाई दिएको बयान अनुसार दिउँसो १२ बजेसम्म श्रीमान्-श्रीमतीबीच झगडा भइरहेको थियो। दशैया मदिराले लठ्ठिएका थिए। साँझ दशैयाले बुहारीसँग खाना मागे। त्यसपछि उनले सासु खै ? भनेर सोधिन्। बुहारीको प्रश्नमा दशैयाले शंकास्पद जवाफ दिएका थिए। त्यसपछि परिवारका सदस्यले प्रहरीलाई बोलाएका थिए।
प्रहरीले सोधपुछ गरेपछि हत्या गरेर शव शौचालयको पछाडि गाडेको दशैयाले बताएका थिए। राति नै इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट प्रहरी निरीक्षक साहको नेतृत्वमा पुगेको टोलीले शव उत्खनन गरी मुचुल्का गरेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएको थियो।
दशैयालाई प्रहरीले पक्राउ गरेको छ। राति मदिराको नशामा रहेकाले आज दशैयासँग बयान लिइने इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।