काठमाडौं - मेदान्त आयुर्वेद हस्पिटलको उद्घाटन भएको छ। शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमको बिच वरिष्ठ क्याप्टेन विजय लामा र वरिष्ठ अभिनेत्री गौरी मल्लले हस्पिटलको उद्घाटन गरेका हुन्। सोही क्रममा अभिनेत्री गौरी मल्लले अहिले खाएर अहिले परिणाम आउने औषधीभन्दा आयुर्वेदिक औषधी राम्रो हुने बताइन्।
यस्तै, उनले आयुर्वेदिक औषधी प्रयोग गर्दा धैर्यता राख्नुपर्ने भन्दै यसको परिणाम आउन ढिला भए पनि राम्रो हुने बताइन्। उनले भनिन्, ‘परापूर्व कालमा बन्ने त्यो दबाइहरूबाट हाम्रो घरेलु उपचार गर्दै आउनु भएको थियो भन्ने एउटा प्रसंग आएको छ । यो प्राय हाम्रो उमेर समूहको मान्छेहरू सबैले गर्नु भएको छ जस्तो लाग्छ। हामीले त्यो प्रकारको औषधी खाएका पनि छौ र जानेर नजानेर त्यो उपचार पनि गरेका पनि छौँ। हामीलाई अहिले खाएर अहिले परिणाम आउने औषधी चाहिन्छ तर आयुर्वेदिक औषधीहरूले केही समय लिन्छ। यस्तो औषधीको लागि धैर्य राख्नुपर्छ। त्यस्तै क्याप्टेन लामाले आयुर्वेद निकै पुरानो औषधी भएको र यसलाई विकल्पका रूपमा राख्न नहुने बताए।
नेपाल एयरलाइन्समा ३८ वर्षसम्म जहाज उडाएका क्याप्टेन लामाले ६४ वर्षको उमेरमा पुग्दा मुख्य रूपमा खानपान र व्याममा ध्यान दिनुपर्ने बताए। त्यति गर्दा पनि शरीरमा समस्या देखिए पहिलो प्राथमिकतामा आयुर्वेदलाई नै विश्वास गर्नुपर्ने कुरामा जोड दिए। क्याप्टेन लामाले मेदान्त आयुर्वेद हस्पिटलका वरिष्ठ चिकित्सक तथा अध्यक्ष डाक्टर सुवर्ण पौडेललाई हौस्याउँदै सधैँ डटेर लाग्न भन्दै उत्साह समेत प्रदान गरे।
सो अवसरमा डाक्टर पौडेलले मेदान्त आयुर्वेद हस्पिटलका बारेमा जानकारी दिँदै जम्मा १ सय रुपैयाँमा ओपिडी सुरु गरिएको जानकारी दिए। नयाँ र व्यवस्थित बिल्डिगंमा उचित सेवा सुविधासहित न्यूनतम मूल्यमा सुविधा दिइएको डाक्टर पौडेलले बताए। उनले डाक्टरले बिरामीलाई समय दिएजस्तै बिरामीले पनि खानपान र स्वास्थ्यका बारेमा पनि सचेत हुन जरुरी रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।