काठमाडौं– वेष्टइण्डिजका पूर्व कप्तान एवम् लेजेण्डरी क्रिकेटर ब्रायन लारा नेपाल आउने भएका छन्।
नेपाल प्रिमियर लिग आयोजक समेत रहेको नेपाल क्रिकेट संघ (क्यान)ले लारा यही एनपीएलकै सन्दर्भमा नेपाल आउन लागेको जनाएको हो ।
‘ब्रायन लारा यो हप्ता भित्र आइपुग्ने कुरा छ।उनी अहिले भइरहेको एनपीएल हेर्न आउन लागेका हुन्’ क्यानका प्रवक्ता छुम्बी लामाले भने, ‘विश्वकै लेजेण्ड क्रिकेटर आएर नेपाली क्रिकेट हेर्दा र अबजर्भ गर्दा नेपाली क्रिकेटबारे संसार भर सन्देश जाने अनी क्यान र नेपाली क्रिकेटलाई पनि केही सुझाव दिने लगायत कुराहरु हुन्छ।फाइनलसम्म बस्ने नबस्ने निश्चित छैन।त्यो आएपछि पछि थाहा हुन्छ।’
लाराको आगमनले प्रतियोगिताले थप नयाँ उचाइ लिने क्यानको भनाइ छ।उनी पहिलोपटक नेपाल आउन लागेका हुन् ।
यसअघि उनले गतवर्ष नेपाली क्रिकेट टोली टी-२० विश्वकपमा छनोट हुँदा बधाइ दिँदै उनले आफू नेपाल आउन चाहेको बताएका थिए ।
नेपाल विश्वकपमा छनोट भएको केही समयपछि एक नेपाली क्रिकेट फ्यानसँगको ट्वीट सम्वादमा उनले नेपाली टोलीको प्रशंसा गरेका थिए ।
त्यसपछि उनले ट्वीट गर्दै नेपाली टोलीको खेल चमत्कारिक रहेको भन्दै बर्मुडामा खेल हेर्दा नै आफू प्रभावित भएको बताएका थिए ।
लाराले वेस्टइन्डिजका लागि १३१ टेस्टमा झण्डै १२ हजार रन बनाएका छन् भने २९९ ओडिआई खेल्दा १० हजारभन्दा धेरै रन बनाएका छन् ।
उनले वेस्टइन्डिजका लागि सन् २००४ को च्याम्पियन्स ट्रफी समेत जितेका छन्।उनी क्रिकेट जगतमा ‘द प्रिन्स’ उपनामले परिचित छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।