काठमाडौं –आइतबार बिहान धादिङको कृष्णभीरमा दुर्घटनामा परेको भारतीय ग्यास बुलेटका चालक र सहचालकको खोजी गर्न गोताखोरसहितको सशस्त्र प्रहरी टोली परिचालन भएको छ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायव उपरीक्षक अश्विनकुमार गुरुङको कमाण्डमा गोताखोरसहित सुरक्षा फौज परिचालन भएको डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका हुन्।
चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको एनएल-०२ एल-३९०७ नम्बरको भारतीय ग्यास बुलेट पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा दुर्घटनामा पर्दा चालक र सहचालक बेपत्ता छन्।
सडकबाट तल खसेको ग्यास बुलेटको अगाडिको केही भाग भीरमा अड्किएको छ भने पछाडिको भाग त्रिशूली नदीमा डुबेको अवस्थामा रहेको धादिङ प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक प्रह्लाद सिलवालले जानकारी दिए।
ग्यास बुलेट दुर्घटना क्षेत्र वरपरका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन पनि प्रहरीले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।