काठमाडौं – जल तथा मौसम विज्ञान विभागले आइतबार र सोमबार पश्चिम नेपालमा वर्षा र हिमपात हुने प्रक्षेपण गरेको छ।
विभागले शुक्रबार विशेष बुलेटिन जारी गरी यो जानकारी दिएको हो।बुलेटिनमा लेखिएअनुसार पश्चिमी वायुसँगै पश्चिमी न्यून प्रणाली नेपाल भित्रिदै छ।
यो प्रणाली पश्चिम नेपालबाट प्रवेश गर्ने भएकाले प्रभाव पनि पश्चिम क्षेत्रमै बढी पर्नेछ।
साथै देशभर जाडो बढाउने भएकाले आवश्यक सतर्कता अपनाउन पनि विभागले भनेको छ।
विभागका अनुसार यो प्रणालीको प्रभावले मंसिर २३ गते (आइतबार) साँझदेखि मंसिर २४ गते (सोमबार) रातिसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका धेरै स्थानमा हिमपात हुने छ।
यसैगरी गण्डकी, बागमती र कोशी प्रदेशका उच्चपहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम खालको हिमपात हुनेछ।
साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने प्रक्षेपण छ।
गण्डकी प्रदेशका थोरै स्थानमा तथा बागमती र कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।