काठमाडौं – चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिक (साउन–कात्तिक) अवधिमा २ सय ७१ विदेशीले श्रम स्वीकृति लिएका छन्।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार कात्तिकसम्म गैरनेपाली नागरिकलाई उक्त संख्यामा श्रम स्वीकृति दिइएको हो।
कात्तिक २०८१ मा ५७ जनाले मात्र श्रम स्वीकृति पाएका छन्।
यस अवधिमा ३ सय ३० विदेशीको श्रम स्वीकृति नवीकरण गरिएको समेत विभागले जनाएको छ। त्यस्तै प्रतिष्ठानमा काम गर्ने विदेशी श्रमिकले श्रम स्वीकृति लिए–नलिएको सम्बन्धमा १३ वटा अनुगमन गरिएको थियो। यसै अवधिमा विभागले विदेश जाने नेपालीमध्ये ६६ हजार ६५ जनालाई श्रम स्वीकृति प्रदान गरेको छ।
विभागले अघिल्लो आव २०८०/८१ मा १ हजार २० गैरनेपालीलाई श्रम स्वीकृति दिएको थियो। एक वर्षमा १ हजार ६ सय ६५ गैरनेपाली नागरिकको श्रम स्वीकृति नवीकरण गरिएको विभागको तथ्यांकमा छ।
उक्त वर्ष विभागले विभिन्न ४४ प्रतिष्ठान पुगेर विदेशी नागरिकको श्रम स्वीकृति भए–नभएको अनुगमन गरेको थियो। नेपालमा होटल, व्यापारिक प्रतिष्ठान र निर्माण क्षेत्रमा बढी विदेशी नागरिकले काम गर्ने गर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।