काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारणका लागि भारतीय टिभी च्यानल स्टार स्पोर्ट्ससँग गरेको सम्झौतालाई लिएर विज्ञापन बोर्डले एक्सन लिने भएको छ।
क्लीन फिड सम्बन्धी कानून उल्लंघन गर्दै स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रशारण गराउन लागिएकोमा सरोकारवालाहरूले आपत्ति जनाएका छन्। क्यानले गत शुक्रवार पत्रकार सम्मेलन गर्दै स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारणका लागि सम्झौता भएको जानकारी दिएको थियो।
त्यसलगत्तै सञ्चार र विज्ञापन क्षेत्रका तीन संस्थाहरूले साझा प्रेस विज्ञप्ति जारी गरेर उक्त सम्झौताप्रति आपत्ति जनाएका छन्। सम्झौता अवैधानिक रहेको उनीहरूको ठहर छ। साथै, विज्ञापन क्षेत्रको नियमनकारी निकाय विज्ञापन बोर्डले पनि यसप्रति ध्यानाकर्षण व्यक्त गरेको छ।
क्यानले स्टार स्पोर्ट्ससँग भएको सम्झौता पारदर्शीरुपमा सार्वजनिक गरेको छैन। क्यान सचिव पारस खड्काले स्टार स्पोर्ट्सलाई पैसा तिरेर प्रशारण अधिकार दिइएको स्वीकारोक्ति गरे पनि कति रकम भन्ने खुलाएका छैनन्। सम्झौताका सर्तहरू पनि गोप्य राखिएको छ।
स्रोतका अनुसार स्टार स्पोर्ट्समा नेपाली विज्ञापन बजाउने गरी सम्झौता भएको हो। क्यानले स्टार स्पोर्टसमा विज्ञापन बज्ने आश्वासन दिएर एनपीएलका लागि ठूला प्रायोजकहरू खोजेको थियो। एनपीएलको टाइटल प्रायोजन पाँच वर्षको लागि सिद्धार्थ बैंकले गरेको छ। यो कति रकमको प्रायोजन हो भन्ने क्यानले बताएको छैन। यद्यपि, चर्चामा आएअनुसार सिद्धार्थ बैंकले प्रत्येक वर्ष पाँच करोड रुपैयाँ क्यानलाई दिने सम्झौता छ। यसैगरी, एनसेलसँग पनि महँगो सम्झौता भएको छ।
स्टार स्पोर्ट्समा प्रत्यक्ष प्रशारण हुने भनिएपछि विज्ञापनदाताहरू आकर्षित भएका हुन्। तर, स्मरणीय के छ भने नेपालमा स्टार स्पोर्ट्स विज्ञापनसहित प्रशारण हुन सक्दैन। विदेशी टिभी च्यानलहरू विज्ञापनरहित मात्रै प्रशारण हुनुपर्ने प्रावधानसहित २०७७ देखि क्लीन फिडसम्बन्धी कानून कार्यान्वयनमा आएको थियो। जस अनुसार अहिले नेपालमा विदेशी च्यानलहरू क्लीन फिडमा प्रशारण हुँदै आएका छन्।
तर, यो कानूनविपरित स्टार स्पोर्ट्समा विज्ञापन बजाउने लोभ क्यानले विज्ञापनदाताहरूलाई देखाएको हो। बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले मिडियामा आएका समाचार र तीन संस्थाहरुको विज्ञप्तिप्रति ध्यानाकर्षण भएको बताएका छन्। उनले यस विषयमा सकेसम्म आजै क्यान र प्रशारण विभागलाई पत्र लेख्ने जानकारी पनि गराए।
यसैबीच, मिडिया सोसाइटी र विज्ञापन सम्वन्धी संघसंस्थाहरुले नेपाल खेलकुद परिषद, विज्ञापन बोर्ड, क्यान लगायत निकायमा सम्झौताविरुद्ध उजुरी दिने तयारी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।